१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मर्मत नसिकँदै भत्कियो मेची राजमार्गको नाली

मेची राजमार्गको रोङ गाउँपालिकास्थित कोल्बुङमा भर्खरै मर्मत गरे पनि भत्किएको नाली।तस्बिर : नागरिक

झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।

इलामस्थित डिभिजन सडक कार्यालयले मर्मत ठेक्का लगाएको राजमार्गको नालीमा कमसल सामग्री प्रयोग गरिएको र ‘क्युरिङ’ नगर्दा मर्मत गरेजति सबै भत्किएको छ। निर्माण कार्य गुणस्तरहीन भएको भन्दै पटक–पटक डिभिजनको ध्यानाकर्षण गराउँदा पनि डिभिजनले चासो नदिएको स्थानीय उपभोक्ताको गुनासो छ।

राजमार्ग मर्मतमा चरम लापरबाही भएको भन्दै स्थानीयले रोङ गाउँपालिका अध्यक्षको समेत ध्यानाकर्षण गरेका छन्। उनीहरूले गाउँपालिका कार्यालयमै पुगेर अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) लाई राजमार्ग मर्मतमा लापरबाही भएको गुनासो पोखेका छन्।

स्थानीयले सडकको निर्माणमा निगरानी गर्न रोङ नागरिक सरोकार समितिसमेत गठन गरेका छन्। रोङ उद्योग वाणिज्य संघ अध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा सरोकार समिति गठन भएको हो।

संयोजक राईले रोङ गाउँपालिकाभित्र पर्ने करिब १५ किलोमिटर मेची राजमार्ग ठाउँ–ठाउँ भत्किएको छ। ‘राजमार्गको यो खण्ड निकै साँघुरो छ, त्यसमा पनि भत्किएर दयनीय भएको छ’, राईले भने, ‘मर्मत गरेको ठाउँमा पनि नाम मात्रैको मर्मत भएको छ, भर्खरै मर्मत गरेको नाली भत्किइसकेको छ।’

झापाबाट कन्याम, अन्तु, फिक्कल, हर्कटे, पाथीभरा, पशुपतिनगर र सिंगो इलाम प्रवेश गर्ने खण्डको मेची राजमार्गमा सवारी साधन चाप अत्यधिक हुने गरेको छ। र, राजमार्ग साँघुरो भएका कारण यो खण्डमा पटक–पटक दुर्घटना भइ मानवीय क्षतिसमेत भइरहेको छ।

‘राजमार्ग मर्मतमा खेलाँची भइरह्यो भने हामी डिभिजन सडक कार्यालयमै डेलिगेसन जान्छौं’, संयोजक राईले भने, ‘हामीले सम्पर्क गर्दा डिभिजनले बेवास्ता गरिरहेको छ।’

स्थानीय नन्दकुमार गुरुङले राजमार्गमा आउ–जाउ गर्न उपभोक्तालाई कठिन भएको बताए। ‘यो क्षेत्रमा पर्यटकको घुइँचो सधैं हुन्छ तर राजमार्ग साँघुरो र जीर्ण बन्दैगएकाले जोखिमपूर्ण भएको छ’, उनले भने, ‘मर्मत पनि देखाउनका लागि मात्रै गरेको देखिन्छ।’

उनले आफूहरूले सोझै, वडा र गाउँपालिकामार्फत् डिभिजनमा मर्मतको अनुगमनका लागि अनुरोध गर्दा पनि आफूहरूको कुरा कसैले नसुनेको बताए। ‘मर्मत गुणस्तरहीन भएकाले अनुुगमन गर्न पटक–पटक हामीले गरेको अनुरोध डिभिजनले लत्याएको छ’, उनले भने, ‘केही नलागेपछि गाउँपालिकामा डेलिगेसन आएका हौं।’

गाउँपालिका अध्यक्ष स्याङ्बोले राजमार्गको जिम्मा संघीय सरकारको भएपनि त्यसको अनुगमन र गुणस्तरमा स्थानीय सरकार पनि जबाफदेही रहनुपर्ने बताए। ‘पालिकाभित्र जसले निर्माणको काम गरेपनि पालिकाको चासो रहने र सम्बन्धित कार्यालयले स्थानीय सरकारसँग समन्वय नै नगर्ने समस्या छ’, उनले भने, ‘राज्यका नागरिकले तिरेको करबाट आँखैअघि गुुणस्तरहीन काम भइरहेको स्थानीय सरकारले पनि टुलुटुलु हेरिरहन मिल्दैन।’

उनले राजमर्ग मर्मतमा खेलाँची गरिएको बताए। ‘मेची राजमार्गको नाली मर्मत गरेको महिनादिन पनि नपुग्दै भत्किएर गइसकेको छ’, उनले भने, ‘यसमा पालिकालाई मात्रै होइन, खबरदारी गर्ने अधिकार प्रत्येक नागरिकलाई छ।’

डिभिजनले राजमार्गको एकैठाउँमा पटक–पटक मर्मत गरिरहेको तर गुणस्तरयुक्त नभएको प्रत्यक्ष देखिएको निर्माण व्यवसायमा समेत अनुभव भएका अध्यक्ष स्याङ्बोले बताए।

जोरकलशदेखि माइखोलासम्मको राजमार्ग मर्मत गर्न २७ लाख रुपैयाँमा ठेक्का लागेको डिभिजनले जनाएको छ। मर्मतको काम भर्खरैमात्र सुरु भएको डिभिजनकी इन्जिनियर मनिषा कट्टेलले बताइन्। गत कात्तिकमा लागेको ठेक्काको म्याद माघसम्म छ। ‘अहिले यो खण्डको नाली मर्मत भइरहेको छ’, उनले भनिन्, ‘मौसम चिसो भएकाले कालोपत्रे मर्मत सुरु भएको छैन।’

उनले भर्खरै मर्मत भएको नाली नभत्किएको दाबी गरिन्। र, नाली मर्मत गरेपछि लगातार १० दिन क्युरिङसमेत गरिएको दाबी गरिन्। ‘अहिले नै त नभत्किनुपर्ने हो तर के रहेछ, अनुगमन गरी बिग्रिएको रहेछ भने तत्काल सुधार्न लगाउँछौं’, उनले भनिन्।

प्रकाशित: ८ माघ २०८० ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App