११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सर्लाहीमा सुरु भयो तीन दिवसीय कृषि प्रदर्शनी

सर्लाहीमा तीन दिवसीय कृषि प्रदर्शनी शुक्रवार देखी सुरु भएको छ। सर्लाहीको हरिवनमा डोरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको हो।

हरिवन नगरपालिका ११ सुर्ती विकास खेल मैदानमा मधेस प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान भन्ने मूल नारासहित सुरु भएको प्रदर्शनीमा ६० ओटा स्टल रहेका छन्।

प्रदर्शनीमा कृषि उपज तथा पशुपालन र माछा पालनको क्षेत्रमा उपयोग हुने आधुनिक प्रविधि, विभिन्न औजार र उपकरणहरू राखिएका छन्। यसै गरी कृषिका विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीमा मानव स्वास्थ्य शिविर, माटो परीक्षण शिविर, पशु स्वास्थ्य शिविर, दूध तथा दाना परीक्षण शिविरहरू पनि सञ्चालन गरिएका छन्।

प्रदर्शनीमा कम्तीमा दुई लाख किसान सहभागी हुने अपेक्षा गरिएको छ।आधुनिक कृषि औजारसित कृषकहरू परिचित हुन पाउने अवसरको रुपमा पनि किसानहरूले लिने प्रदर्शनीको अपेक्षा रहेको आयोजकले जनाएको हो।

शुक्रवार नै एक समारोहका बिच कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रदर्शनीको उद्घाटन गर्दै प्रदर्शनीबाट कृषकहरू तथा कृषिसँग सम्बन्धित उद्योग र व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने, प्रदेश सांसद जवाहर कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, हरिवनका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा सहित वडाध्यक्षहरु, कार्यपालिका सदस्य र अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रदर्शनीमा प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय परवानीपुर, कृषि ज्ञान केन्द्र, हेल्भेटास नेपाल, इन्दुशंकर चिनी उद्योग, हेफर इन्टरनेशनल लगायत विभिन्न संघ संस्थाहरुको सहयोग तथा समन्वय रहेको प्रदर्शनीको प्रचार प्रसार समितिका संयोजक प्रज्वल ढुङ्गानाले जानकारी गराएका छन्। 

प्रकाशित: ५ माघ २०८० १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App