२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहट – रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु चैत लाग्दासम्म भुक्तानी नदिँदा दोस्रो ठूलो चाडको रुपमा रहेको होली खल्लो हुने निश्चित भएपछि किसानहरु उद्योग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्। २० लाख क्वीन्टल लक्ष्य लिएर गत पुसको दोस्रो हप्तादेखि सञ्चालनमा आएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले हालसम्म करिब साढेसात लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ। किसानले उखुमाथि विश्वास गरेर उखु बेचिरहेको भए पनि किसानले अझै भुक्तानी पाउन सकेको छैन। 

मिललाई उखु बेचेको विगत चार आर्थिक बर्ष ०७१÷०७२ कै करिब १७ करोड र चालु आर्थिकको करिब ३० करोड गरी झण्डै ४७ करोड बराबरको उखुको बक्यौता रकम चिनिमिलले नदिएपछि किसानको होलि खल्लो हुने किसानहरुले बताएका छन्। राज्यले “उखु नगदे बालीको रुपमा रहेको घोषणा गरेपनि चिनि उद्योगसित बिक्री गरेको उखुको बक्यौता रकम बर्षौ सम्म नपाएपछि” उखु उत्पादक संघ रौतहटको अगुवाइमा किसानहरुले उद्योगी माथि ठगि ऐन अन्तर्गतको मुद्दा चलाउन माग गरेका छन्। 

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय गौरमा मंगलवार प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापालाई भेटेर आफनो समस्या समाधान गर्न र बक्यौता रकम दिलाउन आग्रह समेत गरेका छन्। यदि स्थानीय प्रशासनले उद्योग कहाँ बक्यौता रहेको रकम दिलाउन नसके आफुहरु उद्योग विरुद्ध कडा आन्दोलन गर्ने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताएका छन्।

साहु महाजन सँग ऋण काढेर उखु खेती गरेका किसानहरु ब्याजको प्रवाह नगरेर उद्योगलाई उद्यारोमा उखु बिक्री गरेको उखुको भुक्तानी हालसम्म नपाँउदा यसपालीको होली खल्लो हुने संग्रामपुरका किसान कपल साहले बताए। आफुले गरुडास्थित उद्योग सित तिन लाख भन्दा बढीको उखु बिक्री गरेपनि एक रुपैया समेत भुक्तानी नपाउदा साह होली मनाउने साहुसित थप ऋण खोज्दै हिँडेका छन्। आफ्नो उत्पादन उधारोमा बेचेर चर्को व्याजमा ऋण लिनु किसानको बाध्यता भएको किसानहरु बताउँछन्।  गढीमाइ नगरपालिकाका ४ रामदेव राउतले आफ्नो छोरीको बिहेको लागि दुइ लाख रुपैया ऋण लिएकाले साहुले थप ऋण दिन नमान्दा होली साह्रै खल्लो भएको बताएका छन्। चिनी मिलसित करिब तिन लाख भन्दा बढीरुपैया लिन बाँकी रहँदा होलीजस्तो खुसी र उत्साहको पर्वमा राउतको परिवारलाई होली मनाउन समस्या भएको बताउछन्।

राउतजस्तै रौतहटका बारह हजार उखु किसान उखुखेतीमा आश्रित छन्। “बिहे व्रतबन्ध र चाडपर्वमा समेत मिलले उखुको मूल्य उपलब्ध नगराएपछि रौतहटका उखु किसान निराश भएका छन्” उखु उत्पादक  संघका सदस्य सफिन्द्र यादवले बताएका छन्।

विगत आर्थिक बर्ष २०७१/०७२ को पुरानो १७ करोड र चालु आर्थिक बर्षको झण्डै ३० करोड रकम किसानहरु बक्यौता भएपनि मिल्स पक्षले वाचा गरे अनुरुप भुक्तानीको उचित व्यवस्थापन नगर्दा उखु उत्पादक संघ रौतहटको पहलमा होली पर्व लगतै चरणबद्ध आन्दोलनको साथै मिल्स प्रबन्धन पक्ष विरुद्ध ठगि मुद्दा दिने तयारीमा जुटेको उखु उत्पादक संघको जिल्ला अध्यक्ष यादवले चेतावनी दिए।

हाल सम्म किरव साढे सात लाख क्यून्टल उखु श्रीराम सुगर मिल्समा क्रसिंग भईसकेको छ तर किसानहरु भुक्तानी पाउन नसक्दा उनीहरु निकै विचल्लिमा परेको उनले बताए। नगदे वालीको रुपमा रहेका उखु रोपाई तथा उखु कटान गरी मिल्स सम्म पुर्याउन किसानहरु गाँउघरका साहुँ संग ब्याजमा ऋण काढेर लगानी लगाएपनि मिल्स व्यवस्थापन पक्षको चरम लापरवाहीका कारण किसानहरु मर्कामा पर्दै गएको आरोप अध्यक्ष यादवले लगाए।

किसानहरुको भुक्तानीको समस्या लिएर प्रजिअ उद्धबबहादुर थापाले मिल्सका उद्योगी हितेष गोल्छासंग कुरा गरेर किसानको समस्या चाँडो भन्दा चाडो समाधान गर्न निर्देशन दिएका छन्। फागु जस्तो पर्वमा किसानहरुलाई भुक्तानी नपाउदा उनीहरु मर्कामा परेकोमा दुःख व्यक्त गर्दै प्रजिअ थापाले किसानहरुको समस्या समाधान गर्न आफू निकै नै चिन्तित रहेको बताए। 

प्रकाशित: १५ फाल्गुन २०७४ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App