१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई वर्षमा बढ्यो धनकुबेरको सम्पत्ति

संसारका पाँच अति धनी व्यक्ति क्रमशः एलन मस्क, बर्नार्ड अर्नोट, जेफ बेजोस, ल्यारी एलिसन र वारेन बफेट।

संसारका पाँचजना धनकुवेरको सम्पत्ति सन् २०२२ यता दोब्बर बढेको छ। पाँच जनाको कुल सम्पत्ति ८६९ बिलियन डलर पुगेको छ। जबकि सोही अवधिमा संसारका ६० प्रतिशतले आफ्नो कुल सम्पत्ति गुमाउन पुगेका छन्। यस हिसाबले ५ अर्ब सर्वसाधारणको सम्पत्ति घटेको हो।

स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुँदै गरेको वल्र्ड इकोनोमिक फोरमको बैठकमा संसारका अति धनीहरूसँगै राजनीतिक नेता तथा ठुला उद्योगका प्रमुख कार्यकारीको भेलामा उनीहरूको चुलिँदो सम्पत्तिको चर्चा पनि बढेको हो।

उदेकलाग्दो यो छ कि, सम्पत्तिको फरकले एक दशकमै ट्रिलियनेरको संख्या बढ्नु चिन्ताजनक रहेको बेलायतस्थित एक संस्था अक्सफामले जनाएको छ। यही प्रवृत्ति जारी रहने हो भने आउँदो २२९ वर्षसम्म पनि पृथ्वीबाट गरिबी निवारण गर्न नसकिने चेतावनी अक्सफामले दिएको छ।

सन् २०२० को महामारीयता संसारभरका कामदारहरूको दैनिक गुजारा नै संकटमा पर्न थाले पनि केही सीमित कर्पोरेसनका प्रमुख कार्यकारी र मुख्य सेयरधनीहरूको सम्पत्ति भने अचाक्ली बढेको भन्दै ‘इनइक्वालिटी इन्क’ नामक संस्थाले रिपोर्ट सार्वजनिक गरेको छ।

‘वेल्द एक्स’ नामक शोध कम्पनीका अनुसार संसारका पाँच अति धनी व्यक्तिहरूमा एलन मस्क, बर्नार्ड अर्नोट, जेफ बेजोस, ल्यारी एलिसन र वारेन बफेटको संयुक्त सम्पत्ति ११४ प्रतिशतले बढेर ४६४ खर्ब डलर पुगेको छ। यही अवधिमा संसारका ६० प्रतिशत जनसंख्या रहेको ४ अर्ब ७७ करोड सर्वसाधारणको सम्पत्ति घटेर ०.२ प्रतिशतमा झरेको छ।

‘संसारभर नै गुजाराका लागि पहिलेको भन्दा बढी समय खट्नु परिरहेको छ र भएको जागिर पनि अस्थिर बन्न पुगेको छ,’ रिपोर्टमा भनिएको छ, ‘संसारका ५२ वटा मुलुकमा रहेका ८०० मिलियन कामदारको औसत वास्तविक तलब घटेको छ। ती सबै कामदारले महामारीको दुई वर्षे अवधिमा गुमाएको संयुक्त रकम १.५ ट्रिलियन डलर पुगेको छ।

गरिबको घरको बजेट कटौती भइरहेका बेला अति धनीहरूको सम्पत्ति बढ्नु उचित अवस्था नभएको वेल्थ एक्सले आफ्नो रिपोर्टमा लेखेको छ। सन् २०२३ को जुन महिनासम्म संसारका १४८ ठूला कम्पनीले व्यापार नाफा अघिल्ला वर्षहरू सन् २०१८–२०२१ को तुलनामा ५२ प्रतिशतले बढाएको देखिएको छ।

यो फरक घटाउन अति धनीहरूलाई सम्पत्ति कर बढाउनुपर्ने आवाज उठिरहेको छ। खासगरी एउटा सामान्य मजदुरको तुलनामा अति धनी मालिक तथा कम्पनीका सञ्चालकले कर तिर्नुनपर्ने भएकाले आम्दानी कर बढाइनुपर्ने आवाज बेलायतमा केही वर्षयता उठिरहेको छ।

अति धनीहरूबाट उठाइने लेभीका कारण वार्षिक २२ अर्ब पाउन्ड उठ्ने बताइएको छ। १ करोड पाउन्डभन्दा माथिको सम्पत्तिलाई एकदेखि दुई प्रतिशत कर लगाउँदा मात्र २२ अर्ब पाउन्ड उठ्छ भने कर किन लगाउने भन्ने आवाज उठिरहेको हो।

पेट्रिओटिक मिलेनियर्स युके नामक संस्थाकी संस्थापक तथा लगानीकर्ता जुलिया डेभिस भन्छिन्, ‘धनीहरूलाई एक वा दुई प्रतिशत कर लगाउँदा मात्र पनि २२ अर्ब पाउन्ड जम्मा हुने रहेछ। त्यो रकम सार्वजनिक सेवामा खर्च गर्ने हो भने गरिब बेलायतीहरूको दैनिकीमा निकै फरक पार्ने देखिन्छ। वृद्धवृद्धाले सुखको जीवन बाँच्न पाउँछन्। यस्तै संकटमा रहेका युवाहरूले उनीहरूले पाउनुपर्ने सहयोगबाट वञ्चित हुने छैनन्।’

धनीमानी र गरिबबीचको आम्दानीको यत्रो फरक उपयुक्त नभएको भन्दै उनले धनको फरक दक्षिण अफ्रिकाको जस्तो हुनु पक्कै पनि राम्रो संकेत नभएको डेभिस बताउँछिन्।

 संसारको सबैभन्दा धेरै सम्पत्तिको फरक दक्षिण अफ्रिकाका धनी र गरिबबीच रहेको एक अध्ययनले देखाएको छ। संसारका १ प्रतिशतसँग संसारको ५९ प्रतिशत सम्पत्ति नियन्त्रित छ।

चाहे त्यो सेयर बजार होस्, निजी रूपमा नियन्त्रित व्यापार वा अन्य व्यवसाय होस्। बेलायतमा पनि एक प्रतिशत धनीमानीले ३६ प्रतिशत धन नियन्त्रण गर्ने गर्छन्। त्यो भनेको १.८ ट्रिलियन पाउन्ड हो।

अक्सफामकी अन्तरिम प्रमुख कार्यकारी अलिमा शिवाजी भन्छिन्, ‘अहिलेको संसारमा सीमित व्यक्तिको हातमा यति अभूतपूर्व सम्पत्ति जम्मा हुनु स्वीकारयोग्य पक्ष होइन। यो संसारले अर्को दशक पनि यति धेरै गरिबी थेग्न सक्दैन।

अबको १० वर्षमा अति धनीमध्ये को पहिलो ट्रिलियनेर हुने भन्ने प्रतिस्पर्धा हुनु भनेको पक्कै पनि सुन्दर पक्ष हुनेछैन किनभने संसारका पिँधियाहरूसँग भने दैनिक गुजाराकै लागि अझ चर्को समस्या झेलिरहेका हुनेछन्।’

प्रकाशित: २ माघ २०८० ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App