९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँचतारे होटलको अभाव खेपेको पोखरा

क्वालिटीका पाहुना गुमेका छन्ः व्यावासायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिरः नागरिक

पर्यटकीय सहर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भन्दै गण्डकी प्रदेश सरकारले अध्ययन गर्यो। प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो सातासम्म पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सुझाव पनि दियो।

पोखरालाई पर्यटनको राजधानी तय गर्ने सरकारी तयारी हुँदै गर्दा यहाँ ठूला आकार र लगानीका होटल भने लामो समयदेखि थपिन सकेका छैनन। यतिसम्मकी यहाँका दुईवटा पाँचतारे मध्ये एउटा होटलले मात्र नवीकरण गरेको छ। पर्यटन विभागले हालै प्रकाशन गरेको पाँचतारे होटलको सूँचीमा पोखराको फूलबारी होटल छैन। फूलबारीले नवीकरण समेत गरेको छैन।  

पोखरा ग्राण्ड मात्र पोखराको पाँचतारे होटलको रुपमा विभागमा सूँचीकृत छ। नवीकरण नगरेको फूलबारी लामो समयदेखि संचालनमा  छैन। फूलबारीका ठूला पूर्वाधार अलपत्र अवस्थामा छन् । विभागको सूँचीमा झापाका दुई (पाँचतारे डिलक्स र पाँचतारे) छन्। त्यस्तै पाँचतारेमा काठमाडौंका १०, बाराको १, बाँकेका २ र रुपन्देहीको एउटा मात्र समेटिएको छ। विभागमा पाँचतारे डिलक्स र पाँचतारे गरि १७ वटा होटलले मात्र नवीकरण गराएका छन। होटलले हरेक पाँचवर्षमा नवीकरण गराउनुपर्छ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पोखरा जस्तो पर्यटकीय सहरमा पाँचतारे होटलको संख्या कम हुनु पर्यटन हिसाबले कमजोर मानिने बताउँछन्। पाँचतारे होटल पर्यटकीय सहरका लागि महत्वपूर्ण सम्पत्ति र चिनारी हुने पराजुलीले बताए। पाँचतारे होटल कुनैपनि पर्यकीय सहरको पहिचान हुने उनले बताए।

 ‘पोखरामा दुइवटा पाँचतारे (फूलबारी र पोखरा ग्राण्ड) होटल हुन्। तर, फूलबारी बन्द भएको लामो समय बितिसक्यो, अहिले पाँचतारेमा गनिएको पोखरा ग्राण्ड मात्र हो,’ पराजुलीले भने, ‘चारतारे र तीनतारे अरु होटल पनि छन्। तर, पाँचतारे होटल थपिएका छैनन, पाँचतारे सरहको सुविधा दिने होटल भने छन्।’  

उनका अनुसार अहिले पोखरामा निर्माणाधि बाराही सेदी पाँचतारे होटल हो। तर, निर्माणाधिन अवस्थामा रहेकोले बाराही सेदी संचालनमा आउन अझै केही समय लाग्नेछ। पोखरालाई पर्यटकीय राजधानी बनाउने तयारी भईरहँदा पाँचतारे होटलको संख्या नबढ्नु कमजोर पक्ष रहेको उनले बताए। ‘पर्यटनका लागि पूर्वाधार अति आवश्यक हो। त्यसमा पनि पाँचतारे होटल कुनैपनि पर्यटकीय सहरको पहिचान हो। पोखरा जत्तिको पर्यटकीय सहरमा पाँचतारे होटलको संख्या एउटामा मात्र सीमित हुन नहुने हो,’ उनले भने, ‘चारतारे र तीनतारे होटल त धेरै छन्। पाँचतारेको अभाव खड्किएकै छ।’ गुणस्तरीय पर्यटनका लागि पाँचतारे होटल आवश्यक रहेको उनले बताए।  

पर्यटन क्षेत्र सन् २०२० कै गतीमा जान पाएको भए अहिलेसम्म पाँचतारे होटल थपिने सम्भावना रहेपनि कोभिड संक्रमणले गर्दा त्यो अवस्था कमजोर बनेको पराजुलीले बताए। ‘कोरोनाका कारण लगानी असुरक्षा देखियो। होटलमा चाँसो देखाएका व्यावसायी पनि हच्किए। कोभिड अघि धेरै होटल आउने प्रयासमा थिए। तर, कोभिडले लगानीको सुरक्षाप्रति आशंका बढाएकोले संख्या थपिएनन,’ उनले भने।  

उनका अनुसार पर्यटकीय सहरमा पाँचतारे भित्र पनि चेन होटल हुनुपर्छ। पाँचतारे होटल हुनु भनेको त्यो ठाउँ पर्यटकीय सहरको रुपमा विकास भएको मानिन्छ। त्यसमा पनि चेन होटल हुनुपर्छ। ‘पाँचतारे होटलले पाहुनालाई कन्फिडेन्स बढाउँछ। विदेशीले पत्याउने सहरको रुपमा पाँचतारे होटल त्यहाँका पूर्वाधार हुन्। क्वालिटी पर्यटक भित्र्याउने एउटा आधार पनि पाँचतारे होटल हो,’ उनले भने, ‘होटलमा लगानी नभएको होईन, तर, पाँचतारेका लागि लगानी भएन । मध्यमस्तरका होटलमा भने लगानी थपिएकै छ।’

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा करिब ५ खर्ब रुपैयाँ बढी लगानी छ। हरेक वर्ष लगानी बढिरहेको उनले बताए। सापकोटा कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रको अध्ययन गर्न गण्डकी प्रदेश सरकारले बनाएको कार्यदलका एक सदस्य पनि हुन्। उनका अनुसार सन् २०२० सम्मको अध्ययनका आधारमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ५ खर्ब रुपैयाँ लगानी अनुमान छ। गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार ६ सय व्यावसाय संलग्न छन्। सापकोटाका अनुसार नीजि क्षेत्रबाट अधिक लगानी छ। करिब सातसय पर्यटकीय स्तरका होटल गण्डकी प्रदेशमा छन्। ती होटलमा झन्डै ४० हजार बेडसंख्या रहेको पनि उनले बताए।

‘पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि पोखराले पाँचतारे होटलको संख्या भने थप्न सकेन। पाँचतारे होटल गुणात्मक पर्यटक भित्र्याउने आधार पनि हो,’ सापकोटाले भने, ‘तर, पूर्वाधार नहुँदा पोखराले ठूलो आकारमा गुणात्मक पर्यटक गुमाईरहेको छ।’ 

उनका अनुसार सभा, सम्मेलन, मिटिङ (माइस)का लागि पनि ठूला आकारका होटलको खाँचो पर्छ। ‘क्वालिटी र माइस टुरिजमका लागि पोखरासँग कम्तिमा पाँचवटा पाँचतारे होटल हुनुपर्ने हो, तर, अहिले एउटा मात्र छ । केहीवर्ष अघिसम्म चल्तीमा रहेको होटल फूलबारी बन्द छ,’ उनले भने।  

सापकोटाका अनुसार पाँचतारे होटलले त्यहाँ आउजाउ गर्ने पाहुनाको गुणस्तर देखाँउछ। पाँचतारे होटलमा बस्ने पाहुना हुनु भनेको उनीहरुको आर्थिक हैसियत बलियो भन्ने देखाउने पनि उनले बताए। ‘पछिल्लो समय पर्यटनमा गुणस्तर बढ्दै गएको छ। विभिन्न किसिमका कन्फेरेन्स, मिटिङ पनि हुन थालेका छन्। त्यसैले पनि पोखराजत्तिको सहरका लागि पाँचतारे होटल आवश्यक पर्छ। क्वालिटी र माइस पर्यटकका लागि नभई नहुने पूर्वाधार पाँचतारे होटल हो,’ उनले भने।

सरकारको नीति नियम निजी क्षेत्रमैत्री नहुँदा पाँचतारे होटलका लागि लगानी नभित्रिएको हुनसक्ने उनको बुझाई छ। ‘लगानीमा उत्साही बनाउने नीति बनाउनुपर्ने हो, तर, सरकारले त्यो गर्न सकेन,’ उनले भने, ‘पोखरामा पाँचतारे होटल नहुँदा ठूला कार्यक्रम आउन सकेका छैनन। क्वालिटीका पर्यटक आउन सक्दैनन। जति धेरै पाँचतारे भयो, त्यत्ति त्यो सहरको पर्यटकीय पहिचान फराकिलो बन्दै जान्छ।’ पर्यटनको सम्भावना भएको सहरमा पाँचतारे होटल अनिवार्य सर्त रहेको उनले बताए। ‘सरकारले लगानी आकर्षिक गर्न नसकेको हो। सरकारी नीति देखेर लगानीकर्ता डराएका पनि छन। पोखरामा कम्तिमा पाँचवटा पाँचतारे होटल हुनुपर्ने हो,’ उनले भने।  

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले पोखरालाई पर्यटकीय सहर बनाउने बारे अध्ययन गर्ने क्रममा २० वटा इन्डिकेटर पहिचान गरेको र त्यसमध्ये भौतिक पूर्वाधार पनि एउटा रहेको बताए। भौतिक पूर्वाधारभित्र पाँचतारे होटल पनि पर्ने उनले बताए।

‘अहिलेसम्म एउटा मात्र पाँचतारे होटल संचालनमा छ। यस्ता पूर्वाधार अरु पनि आवश्यक पर्छ। लक्जरी खोज्ने पाहुनाका लागि पाँचतारे होटल नै आवश्यक पर्छ,’ देवकोटाले भने, ‘पाँचतारे नै नभएपनि त्यो सरहको सुविधा दिने पूर्वाधार त छन। तर, पाँचतारे नै भन्नेका लागि भने संख्या कम हो।’  

अब पाँचतारे उन्मुख अरु होटललाई पाँचतारेको मान्यता लिनका लागि सहजीकरण गर्नुपर्ने उनले बताए। पाँचतारेको मान्यता नलिएको तर, त्यो सहरको सुविधा दिएका होटललाई पाँचतारेमा बदल्नुपर्ने र त्यसमा सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए। ‘कुनैपनि पर्यटकीय सहरमा पाँचतारे होटल हूँदा त्यो सहरको ब्राण्डिङ भने हुन्छ,’ उनले भने, ‘पाँचतारे नै भनेर आउने पाहुनाका लागि ती पूर्वाधार महत्वपूर्ण हुन्छन। पाँचतारे होटल नहुँदैमा पाहुना नै नआउने भन्ने होईन। तर, अहिले पोखराको एकमात्र पाँचतारे होटल पर्याप्त होईन।’ दोश्रो पञ्चवर्षिय योजना बनाउँदै गर्दा गण्डकी प्रदेश सरकारले पाँचतारे होटल संख्या बढाउनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएको उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ अबको केही समयमा पाँचतारे होटल थपिने बताउँछन्। ‘पोखरा पर्यटकीय सहर भएकोले लगानी भित्रिन सक्ने देखिन्छ। अहिलेसम्म पाँचतारे होटल एउटा मात्र छ,’ श्रेष्ठले भने, ‘ब्राण्डिङ गर्ने माध्यम भने पाँचतारे हो। तर, अहिले पाँचतारे सरहको सुविधा पोखराका होटलले दिन सक्छन्। त्यसैले पाहुनाले सुविधा नपाउने भन्ने होइन। तर संख्यात्मक रुपमा भने कमै हो।’

प्रकाशित: २८ पुस २०८० १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App