१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी सुरु

नेपालगन्जमा मंगलबारबाट सञ्चालनमा आएको लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी।

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।

नेपालगन्ज उपमहानगरपालिकासहित विभिन्न सरकारी तथा निजी क्षेत्रको सहयोगमा महिला उद्यमी संघ नेपाल बाँकेले उक्त प्रदर्शनी सञ्चालनमा ल्याएको हो।

प्रदर्शनीको मंगलबार महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक समारोहकाबिच उद्घाटन गरे।

उक्त प्रर्दशनीलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई आर्थिक सशक्तीकरण गर्न महासंघ अहोरात्र लागिरहेको बताइन्। महिला उद्यमीलाई आर्थिक सशक्तीकरणको पाटोमा अगाडी बढाउने क्रममा चार वटा उद्देश्यलाई अंगालेर महासंघ अगाडी बढेको उनकाे भनाइ थियाे। महिला उद्यमीले अन्तर्राष्ट्रिय स्तरका सामान उत्पादन गरेपनि बजारीकरणमा समस्या भएको उनले सुनाइन्। 

‘सामानहरु गुणस्तर र अन्तर्राष्ट्रिय स्तरका बनिसके, यसको लागि अब हामीलाई औद्योगिकग्राम र बिक्री कक्ष चाहिएको छ,’ ज्ञवालीले भनिन् ‘हाम्रो घर–घरमा व्यवसायी हुनुहुन्छ, घर–घरमा उद्यमी हुनुहुन्छ।’

महिला उद्यमी महासंघले औद्योगिकग्राम स्थापना गर्नुपर्ने विषयमा लामो समयदेखी वकालत गर्दै आएको स्मरण गराउँदै उनले नेपाल सरकारले अहिले औद्योगिकग्राम बनाउने नीतिलाई अगाडी सारेको बताइन्। ‘औद्योगिकग्राम महिला उद्यमीलाई चाहिएको छ, किनभने सामान उत्पादन एउटाले गर्छ, लेभलिङ अर्कोले गर्छ, प्याकेजिङ अर्कोले गर्छ, ब्राण्डिङ अर्कोले गर्छ,’ उनले भनिन् ‘हामी विभिन्न उत्पादन गर्न सक्छौं, जुन हामीलाई औद्योगिक ग्रामको एकदमै आवश्यकता थियो, हाम्रो वकालतबाट अहिले नेपाल सरकारले औद्योगिकग्रामको लागि ठाउँ दिइरहेको छ।’

नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले महिलालाई राजनीति भन्दा पनि आधुनिक रुपले सम्मुनत गराउनका निम्ति आर्थिक रुपले सशक्तीकरण गर्न नसकिएको बताए।

‘महिलालाई राजनीतिक रुपले संसद् भवनमा मात्र पुर्‍याउने होइन, महिलालाई व्यवसायमा प्रवर्द्धन गर्नका लागि उहाँहरुलाई सहुलियत ऋणदेखी लिएर उत्प्रेरणा दिने र बजारीकरणमा यदि सहयोग गर्न सक्यौं भने आर्थिक सशक्तीकरण गर्न सक्यौं भने महिलाहरु प्रति सम्मान हुन्छ,’ उनले भने। 

प्रदर्शनीले महिलाको उत्पादन मात्र नभएर बजारीकरण गर्नमा सहयोग गर्ने मेयर विष्टको अपेक्षा छ। प्रदर्शनी सञ्चालन गर्नका लागि उपमहानगरपालिकाले विगतदेखी गर्दै आएको सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष सावित्रा बस्नेतले प्रर्दशनीमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका महिला उद्यमीद्वारा उत्पादित बस्तुलाई प्रवर्द्धन गर्ने प्रयास गरिएको बताइन्। 

‘पहिला बाँके जिल्लाबाट सुरुवात गरे पनि २०७५ सालबाट लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गरिरहेका छौं,’ उनले भनिन् ‘हामीले लुम्बिनी प्रदेशलाई मात्र नभएर अन्य जिल्लाका उद्यमी महिलालाई पनि यसमा समेट्नुपर्छ।’

प्रदर्शनीमा महिला उद्यमीलाई मात्र नभएर घरभित्र रहेर चुलो चौकाबाट आफ्नो सिप र क्षमतालाई बाहिर निकाल्ने प्रयास गरेको बताइन्। ‘हामीले ७० वर्षको आमादेखी लिएर २० वर्षका युवा उद्यमीलाई समेट्ने प्रयास गरेका छौं, कलेज स्तरका विद्यार्थीलाई व्यवसाय के हो ? कसरी हामी उद्यमी बन्नु पर्छ भनेर सिक्नको लागि स्थल दिएका छौं,’ अध्यक्ष बस्नेतले भनिन्।  

संघ बाँकेका प्रथम उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक रेवती सिंहले स्थानीय उत्पादन र महिला उद्यमीले उत्पादन गरेका सामानहरुको प्रचारप्रसार तथा प्रवर्द्धन र नयाँ पहिचान दिलाउने प्रयासका लागि प्रदर्शनी आयोजना गरिएको बताइन्। 

‘हाम्रो उद्देश्य भनेकै महिला उद्यमीलाई आर्थिक विकास अभियानमा लगाउनु हो, महिला आर्थिक रुपमा सक्षम, सबल भए मात्र देशको आर्थिक अवस्था सुदृढ हुन्छ, त्यसैले देशको आर्थिक विकासमा साना–साना उद्यम र व्यवसायको महत्त्व छ,’ उनले भनिन्।

सो क्रममा महासंघ केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमी संघ बाँकेलाई प्रदर्शनी सञ्चालनका लागि आफ्नो व्यक्तिगत तर्फबाट नगद ५० हजार सहयोग हस्तान्तरण गरेकी थिइन्। उक्त प्रदर्शनीका लागि महिला उद्यमी महासंघ केन्द्रीय समितिले पनि संस्थागत रुपमा सहयोग गरेको छ।

प्रदर्शनी उद्घाटन समारोहमा संघ बाँकेले महिला उद्यमीका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकी महासंघ केन्द्रीय अध्यक्ष ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान, महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतलाई सम्मान गरेको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको पार्कमा सञ्चालित प्रदर्शनी यही पुस २८ गतेसम्म चल्नेछ। 

प्रदर्शनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका ६५ भन्दा बढी स्टल राखिएको छ।प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य बस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट गर–गहना, कम्पोष्ट मल, होमस्टे प्रवर्द्धन लगायतका स्टल राखिएको छ।

हेरौं तस्बिरहरु : 

प्रकाशित: २४ पुस २०८० १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App