१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एपिएफ र आर्मी सेमिफाइनलमा

साबिक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब एक खेलअगावै सेमिफाइनल पुग्न सफल भएका छन्। ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत सोमबार आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दा एपिएफले नेपाल पुलिस क्लबलाई हरायो।

एपिएफले पुलिसलाई ३–१ सेटमा हरायो। पहिलो सेटमा एपिएफले २५–१७ को सहज जित निकालेको थियो। दोस्रो सेटमा पनि एपिएफ २५–१५ ले विजयी बन्यो। तेस्रो सेट रोमाञ्चक र विवादित बन्यो।

२५–२२ ले जित्दै पुलिसले खेललाई कायमै राख्यो। प्रतिस्पर्धात्मक बनेको सेटमा पुलिस १८–१६ ले अघि रहेको थियो। यो अवस्थामा रेफ्रीको निर्णयप्रति पुलिसले असन्तुष्टि जनाउँदा खेल केहीबेर रोकिन पुग्यो। त्यसपछि पनि खेल विवादित बनिरह्यो।

पुलिस २३–२२ ले अघि रहँदा रेफ्रीको निर्णयमा एपिएफले असन्तुष्टि जनायो। फेरि केहीबेर खेल रोकियो। लगातार विवाद गरिरहेपछि रेफ्रीले एपिएफलाई सुरुवातमा पहेँलो कार्ड र त्यसपछि रातो कार्ड देखाएका थिए। चौथो सेटमा भने एपिएफले अन्तिम समयतिर अग्रता लिँदै २५–२० को जित निकाल्यो।

समूह ‘ए’ मा रहेको एपिएफले एक खेल खेल्न बाँकी छ। एपिएफले ३ खेलबाट ९ अंक जोडेको छ। पहिलो हार व्यहोरेको पुलिसको ३ खेलबाट ६ अंक छ। मंगलबार हुने खेलमा एपिएफले बाग्मती प्रदेशको सामना गर्नेछ। बाग्मतीलाई पराजित गरेमा एपिएफ समूहविजेता बन्नेछ।

यस्तै आर्मीले पनि लगातार तीन खेल जितेको छ। अब आर्मीले मंगलबार मधेस प्रदेशलाई पराजित गरेमा समूहविजेता बन्नेछ।

सोमबार भएको खेलमा आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी हुन सफल भयो।

दोस्रो सेटमा गण्डकीका खेलाडी किरण गुरुङ घाइते भएपछि टोलीले सोचेअनुसार प्रदर्शन गर्न सकेन। दोस्रो सेटमा २५–२१ को जित दर्ता गरेको आर्मीले तेस्रो सेट २५–२१ ले जित्यो। यो जितसँगै अपराजित रहेको आर्मीले तीन खेलबाट ९ अंक जोडेको छ। पहिलो हार बेहोरेको गण्डकीको ३ खेलबाट ६ अंक छ।

घरेलु टोली कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। सुदूरपश्चिमले सान्त्वना जित निकाल्दा कर्णाली सेमिफाइनलको होडबाट बाहिरियो। सुदूरपश्चिमले कर्णालीलाई ३–१ को सेटमा पराजित गर्‍यो।

प्रतियोगितामा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५–२१, २१–२५, २५–१८ र २५–२३ ले हराएको थियो। एक खेल जितेको कर्णालीले मंगलबार आफ्नो अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्दै छ।

सोमबार नै समूह ‘ए’ अन्तर्गत लुम्बिनी र कोसीबीचको खेलमा लुम्बिनी विजयी भएको छ। लुम्बिनीले कोसीलाई ३–१ ले हराउँदा २५–१५, २१–२५, २५–१३ र २५–२१ को नतिजा निकालेको थियो। यो लुम्बिनीको दोस्रो जित हो।

समूह ‘ए’ मा पुलिस, एपिएफ, लुम्बिनी, बाग्मती र कोसी छन्। समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। 

प्रकाशित: २४ पुस २०८० ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App