१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ढल्केबर-मुजफरपुर लाइनको क्षमता बढाउन अध्ययन गरिने

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले ४०० केभी क्षमताको ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्न अध्ययन गर्ने सहमति भएको छ।

चितवनको मेघौलीमा भएको समिति बैठकले अन्तर्देशीय ढल्केबर–मुजफरपुर ४०० केभी प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यातको परिमाण ८०० मेगावाटबाट १००० मेगावाट पु‍र्‍याउने सम्बन्धमा संयक्त प्राविधिक समूह (जेटिटी) मार्फत अध्ययन गराउने सहमति भएको छ।

बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतको ऊर्जा सचिव पंकज अग्रवालको उपस्थितिमा सो बैठक भएको थियो।

 ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले दुवै मुलुकको ऊर्जासचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले आठ बुँदे सहमति गरेको बताए।

उनले बैठकले ढल्केबर मुजफरपुर र एसजेभिएन अरूण तेस्रो डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको ढल्केवर–सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट आदानप्रदान गर्न सकिने विद्युत्को क्षमता निर्धारण सम्बन्धमा जेटिटीमार्फत् अध्ययन गराउने निर्णय भएको बताए।

त्यसैगरी बैठकमा टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्मको विद्युत् निर्यात गर्न सम्भाव्य विकल्पहरूबारे जेटिटीमार्फत अध्ययन गराउने निर्णय भएको छ।

बैठकले १३२ किलोभोल्ट तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षा याममा नेपालबाट भारतको छिमेकी राज्यहरूको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत् आयात–निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण र भारतका अन्य निकायहरूको समन्वयमा तयार गरेको विद्युत् आयात–निर्यात गर्ने सम्बन्धी विधि प्रक्रिया स्वीकृत गरेको छ।

बैठकले नेपाल–भारत बीच इनरुवा–पुर्णिया र न्युलुम्की–दोदोधरा बरेली ४०० किलोभोल्ट क्षमताका थप दुई वटा अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माण कार्य क्रमशः सन् २०२७/२८ र २०२८/२९ सम्ममा सम्पन्न गर्ने लगानीको मोडालिटी टुंग्याउन जेडब्लुजीलाई निर्देशन दिएको छ।

बैठकमा भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न भारतको विद्युत् आयात–निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम (एनटिपिसी) र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षहरूमा छलफल भएको थियो।

त्यसैगरी बैठकमा नेपाल र भारतबीच विद्युत् आयात–निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनहरूको अध्ययन गर्न जेटिटीलाई निर्देशन दिएको छ।

बैठकले नेपालबाट भारतको डे अहेड मार्केटमा विद्युत् निर्यात भइरहेकोमा आगामी दिनमा टर्म अहेड मार्केट तथा ग्रिन डे अहेड मार्केटमा विद्युत् निर्यात गर्न क्रमशः स्वीकृति दिने निर्णय भएको छ।

यसअघि नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव  नवीनराज सिंह तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सहसचिव डी साई बाबाको सहअध्यक्षतामा बसेको नेपाल–भारत ऊर्जा संयुक्त कार्यदलको ११ औं बैठकले मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरू, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरू तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात–निर्यात लगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णयका लागि ऊर्जा सचिवस्तरीय समिति (जेएससी) लाई सिफारिस गरेको थियो।

प्रकाशित: २३ पुस २०८० ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App