१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

उपभोक्तालाई वितरण गर्नुपर्ने काठ मिलमा बिक्री

फर्निचर उद्याेगबाट बरामद गरिएकाे सालकाे चिरान काठ। तस्वीर: नागरिक

सुर्खेतको एक सामुदायिक वनले उपभोक्ताका लागि वितरण गर्ने सालको काठ फर्निचर उद्योगलाई बिक्री गरेको पाइएको छ।

वीरेन्द्रनगरको भेरी सामुदायिक वनले उपभोक्तालाई वितरण गर्नुपर्ने एक सय ३९ वर्गफिट सालको चिरान काठ वीरेन्द्रनगर–१० को डिके एण्ड फर्निचर उद्योगलाई बिक्री गरेको हो।

डिभिजन वन कार्यालय वीरेन्द्रनगरले फर्निचर उद्योगबाट ३८३ थान सालको चिरान काठ बरामद गरिएको जानकारी दिएको छ। वनका सुचना अधिकारी प्रशान्त श्रेष्ठले उपभोक्तालाई वितरण गर्नुपर्ने काठ फर्निचर उद्योगमा फेला परेको बारेमा अनुसन्धान भइरहेको बताए।

‘भेरी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूका लागि वितरण गर्न स्वीकृत दिएको सालको चिरान काठ फर्निचर उद्योगमा रहेको सुचनाका आधारमा छापा मार्दा तीन सय ८३ थान चिरान काठको १३८.९२ क्युफिट काठ बरामद गर्न सफल भएका छौं,’ उनले भने, ‘अदालतबाट फर्निचर उद्योग सञ्चालक डिलबहादुर विसीका नाममा पक्राउ पूर्जी पनि जारी भइसकेको छ।’

वन कार्यालयका अनुसार उपभोक्ता समितिका पदाधिकारीको मिलेमत्तोमा काठ बिक्री भएको देखिन्छ। चालू आर्थिक वर्षका लागि उपभोक्ता समूहलाई वितरण गर्नका लागि सामुदायिक वनभित्र छ हजार सात सय ६ क्युफिट काठ उत्पादन भएको थियो।

उक्त काठप्रति उपभोक्ता दुई क्युफिट दिने गरेर सामुदायिक वनले निर्णय गरेको थियो। तर, सामुदायिक वनका पदाधिकारीले झण्डै आठ लाख मूल्य बराबरको काठ उपभोक्तालाई जानकारीनै नदिएर फर्निचर उद्योगलाई बिक्री गरेको देखिन्छ।

वन कार्यालयले उपभोक्तलाई वितरण हुनुपर्ने चिरान काठ कसरी फर्निचर उद्योगमा पुग्यो भन्ने विषयमा अनुसन्धान गर्नका लागि रेन्जर विकास जिसीलाई अनुसन्धान अधिकृत तोकेको छ।

‘उपभोक्तालाई वितरण गर्नुपर्ने काठ कसरी फर्निचर उद्योगमा फेला प¥यो, यसमा ककसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान गर्नका लागि सबडिभिजन कार्यालय वीरेन्द्रनगरका रेन्जर विकास जिसीलाई अनुसन्धान अधिकृत तोकेका छौं,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अनुसन्धानका क्रममा जजसको संलग्नता देखिन्छ, उनीहरूमाथि कारबाही प्रक्रिया सुरु हुन्छ।’

भेरी सामुदायिक वनका अध्यक्ष शेरबहादुर सिंहले बरामद भएको काठ एक जना उपभोक्तालाई विक्री गरिएको दावी गरे।

‘सबै उपभोक्ताले लगिसकेपछि बचेको काठ स्थानीय गंगाराम चौधरीलाई विक्री–वितरण गरेका हौं,’ उनले भने, ‘त्यो काठ कसरी फर्निचर उद्योगमा पुग्यो भन्ने विषयमा जानकारी छैन।’

उनले ३८३ थान चिरान काठ जम्मा एक लाख २० हजारमा बिक्री गरिएको बताए। ‘हामीले रसिद काटेरै विक्री गरेका हौं,’ उनले भने, ‘उपभोक्ताहरूले नलिएपछि घाटगद्दी स्थलमा हराउने भएकाले सस्तोमा दिनु परेको हो।’ 

प्रकाशित: २३ पुस २०८० ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App