१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

होमस्टे अवलोकन गर्दै राजापुरका नगर प्रमुख दिपेश थारू, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष वसन्ती प्रधान र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीलगायत। तस्बिर : नागरिक

राजापुर नगरपालिका- १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

हिउँद होस् वा बर्खामास नयाँ-नयाँ मानिसको आवागमनले मुर्गहवामा आठवटा होमस्टेमा चहलपहल बढ्दै छ। नयाँ मानिसको आवागमन र चहलपहल बढ्दा होमस्टे सञ्चालक खुसी छन्। एक दशकअघि सुनसान रहेन गाउँमा एकाएक भएको परिवर्तनले सबै मक्ख छन्।  

यूएसआईडीको साझेदारी संस्था तयारी नेपालले सहयोग गरिरहेको होमस्टेमा आइतबार दिउँसो राजापुरका नगर प्रमुख दिपेश थारू, महिला उद्यम महासंघकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष वसन्ती प्रधान र प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाही होमस्टे अवलोकन गर्न पुगेका थिए।

 होमस्टे सञ्चालक फूर्तिला र व्यस्त देखिँदा राजापुरका नगर प्रमुख थारूले प्रशंसा गरे। तालिमका निम्ति लिने परम्परा रहेको उल्लेख गर्दै आर्थिक रूपले सबल हुन होमस्टे सञ्चालन गरिएकोे विषयलाई नगर प्रमुख थारूले खुलेर प्रशंसा गरे। 

‘महिलालाई सक्षम बनाउन महिला उद्यमी महासंघको साझेदारीमा नगरपालिकाले काम गर्छ’, उनले भने, ‘कर्णाली नदीको तटीय क्षेत्र र पश्चिमको पर्यटकीय गन्तव्यसँग जोडिएको यो गाउँमा थारू र सोनाहाले गरेको होमस्टे कार्य सह्रानीय छ।’

सरसर्ति हेर्दा राजापुरको मुर्गहवा गाउँ प्रसिद्धि दिनदिनै चुलिँदै गएको छ। पश्चिम तराईमा होमस्टे डल्ला भन्ने शब्द सायद कसैलाई नौलो लाग्दैन, तर यस्तैगरी राजापुरको मुर्गहवामा सञ्चालित होमस्टेले गति लिने महासंघकी अध्यक्ष ज्ञवालीले विश्वास व्यक्त गरिन्। ‘महिला उद्यममा लागेर आर्थिक पक्ष सबल बनाउनुपर्छ’, ज्ञवालीले भनिन्, ‘महिलालाई उद्यमतर्फ आकर्षण गरेर स्थानीय सरकारसँग जोड्ने संघको उद्देश्य हो।’

देशका विभिन्न कुनाबाट मानिस आएर पाहुनाका रूपमा बस्ने थलोका रूपमा होमस्टेले पहिचान बनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको ठीक पश्चिममा रहेको मुर्गहवाको थारू गाउँमा आठवटा घर होमस्टे सञ्चालन गर्नलायकका छन्। आठवटा होमस्टेको घरमा नम्बरिङ गरिएको छ।

गाउँमा बनेका घर थारू परम्परागत शैलीमा बनेका छन्। कैलाली जिल्लाको टिकापुर पार्क वारिपट्टि होमस्टे सञ्चालन गरिएको घर उस्तैउस्तै देखिन्छन्। थारू गाउँमा बनेका घर लोभलाग्दा बनाउने प्रयास स्थानीयको छ।

थारू गाउँमा रहेका ती घर आफ्नो परिवार मात्र बस्दैनन्, चिटिक्क परेका घरमा पाहुनाका लागि होमस्टे सञ्चालन गरिएको छ। मुर्गहवा गाउँमा रहेको होमस्टेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिचित थारू गाउँ बनाउन सञ्चालकले मेहनत गरिरहेका छन्।

विदेशी र स्वदेशी पाहुना होमस्टेमा आएर बस्ने सञ्चालक इन्द्रादेवी चौधरीले बताइन्। उनका अनुसार पाहुनाको आगमनले समुदायको जीवनस्तर उकासिएको छ।‘

एक छाक खान र छोराछोरी पढाउन नसक्ने गाउँमा कोही छैनन्’, उनले भनिन्, ‘सबै आआफ्नो जीवन निर्वाह गर्न सक्षम भइसकेका छन्।’ थप पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्नुपर्ने उनले बताइन्। होमस्टे सञ्चालनसँगै समुदायमा बढेको आयआर्जनले जीवनस्तर उकास्न सहज माध्यम बनेको उनले सुनाइन्।

वन, वातावरण र वन्यजन्तु संरक्षणसँगै कला र संस्कृतिको जगेर्ना गर्दै जीविकोपार्जन कार्यमा मुर्गहवाका सोनाहा र थारू समुदाय सक्रिय छन्। नजिकको कर्णालीमा डल्फिन मुभमेन्ट देखेर पाहुनाले आनन्द लिने गरेको सञ्चालकको भनाइ छ। होमस्टे सञ्चालन गरेर आयआर्जनमूलक कार्यक्रम सुरु गरेका स्थानीय आर्थिक रूपमा सम्पन्न हुन थालेका छन्।

आफ्नै घरमा सञ्चालन भएका होमस्टेका कारण न्यूनतम शुल्कमा पाहुनालाई बसाल्ने गरिएको इन्द्रादेवीले दाबी गरिन्। होमस्टेले थारू परिकारलाई प्राथामिकता दिएर पाहुनालाई खुवाउने गर्छ। अनदीको चामलबाट बनेका परिकार, लोकल कुखुरा र पिरो चटनीले स्वागत गरेर पाहुनालाई खुवाउने गरेको उनले बताइन्।

राजापुरको अर्को आकर्षण थारू संग्रहालय

अन्न भण्डारका रूपमा प्रसिद्धि कमाएको राजापुर नगरपालिकाले करोडौं लागतमा थारू संग्रहालय बनाउन डिपिआर तयार गरिसकेको छ। राजापुर २ ग्वारीमा बन्न थालेको थारू संग्रहालयमा जग्गाको छनोट गरी पर्खाल निर्माण कार्य भइरहेको छ। नगर प्रमुख दिपेश थारूको पहलमा बन्न थालेको थारू संग्रहालयमा थारू समुदायको अपनत्व जोडिएको छ।

थारू संग्रहालय बन्ने भएपछि स्थानीय खुसी छन्। भवराटप्पामा ८२ प्रतिशत थारू जातिको बसोवास रहेको नगर प्रमुख थारूले बताए। ‘बहुसंख्यक थारू जातिको बसोवास रहेको राजापुर थारू संग्रहालय जरुरी थियो’, उनले भने, ‘बजेट अभावमा निर्माणमा ढिलाइ भए पनि थारू संग्रहालयले पूर्णता पाउँछ।’

थारू संग्रहालय बन्ने भएपछि राजापुर नगरपालिकामा विकास भएको अनुभूति भएको स्थानीयले बताए। थारू संग्रहालय बन्ने भएपछि स्थानीयले होमस्टे बनाउने तयारी गरिरहेका छन्।

पाहुना भित्रिने देखेका स्थानीय होमस्टे सञ्चालन गर्न उत्साहित देखिएका हुन्। ग्वारी गाउँमा पाँचवटा होमस्टे सञ्चालन गर्न तालिम लिएका महिला उद्यमीले निर्माण कार्य सुरु गरिसकेका छन्।  

पाहुनाको स्वागत र बिदाइ

होमस्टेमा आउने पाहुनालाई होमस्टे सञ्चालकले स्वागतदेखि बिदाइ कार्यक्रम गर्छन्। होमस्टेमा आउने पाहुनालाई थारू युवती र पुरुषले फूलका गुच्छा र रातो अबिर लगाएर स्वागत गर्छन्। स्वागत कार्यक्रमपछि होमस्टे आकर्षणका बारेमा पाहुनालाई जानकारी दिइन्छ।

थारू समुदाय र संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिन्छ। जसले गर्दा होमस्टे सञ्चालनदेखि हालसम्मका बारेमा समुदायले पाएको अवसर र चुनौतीका बारेमा पाहुनालाई अवगत हुन्छ। बिदाइ कार्यक्रममा पाहुनालाई थारू रीतिरिवाजअनुसार फूलका गुच्छा दिएर बिदाइ गरिन्छ।

प्रकाशित: २३ पुस २०८० ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App