२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगाको राजश्व ४ महिनामा १० प्रतिशत

त्रियुगा नगरपालिका । तस्विरः महेश्वर

सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको राजश्व संकलन साह्रै धीमा गतिमा भईरहेको छ।जिल्लामा सबैभन्दा धेरै जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले पनि ठूलो नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा राजश्व संकलन टिठलाग्दो छ।

चालु वर्षको चौमासिकमा त्रियुगाको राजश्व जम्माजम्मी २ करोड १३ लाख १० हजार २ सय ७८ रुपैयाँ ६० पैसा मात्र संकलन भईरहेको छ।जबकि चालु वर्षको प्रक्षेपण २० करोड रुपैयाँ हो र यो अवधिमा कम्तीमा १ तिहाई हिस्सा उठिसक्नुपर्ने हो।गत असारमा सम्पन्न नगर सभाले चालु वर्ष आन्तरिक आयतर्फ २० करोड राजश्व संकलन गर्ने प्रक्षेपण गरेको थियो।जस अनुसार बितेको ४ महिना भनेको एक तिहाई समय हो।यो अवधि गुज्रिँदासम्म जम्मा २ करोड १३ लाख संकलन हुनुले नगर सभाको लक्ष्य चुम्ने सम्भावना नभएको सङ्केत मिलेको छ।सोझो हिसावले ४ महिनामा ३३ प्रतिशत अर्थात ६ करोड ६६ लाख हाराहारी आम्दानी हुनुपर्ने राजश्व हालसम्म १०.६५ प्रतिशतमा सीमित छ।

त्रियुगाले हालसम्म  सबैभन्दा बढी राजश्व व्यवसाय रजिस्ट्रेसन दस्तुर बापत ५७ लाख ५५ हजार ७ सय १३ रुपैयाँ उठाएको राजश्व शाखा प्रमुख सूचना प्राविधिक अधिकृत रुपक तिम्सिनाले बताए।उनका अनुसार दोस्रो ठूलो हिस्सा सम्पत्ति कर बापत ४३ लाख ४ हजार ८ सय २६ उठाएको नगरपालिकाले तेस्रो घर बहाल कर बापत २९ लाख ८७ हजार ८ सय ८९ रुपैयाँ संकलन गरेको छ।

त्यसैगरी घर नक्सा पास दस्तुर बापत २८ लाख १२ हजार ३ सय ४९ रुपैया, सिफारिस दस्तुर २५ लाख ४८ हजार ५ सय ९,अन्य दस्तुर ९ लाख ५९ हजार ६ सय ८० र अन्य सेवा शुल्कबापत राजश्व ५ लाख ५६ हजार ८ सय ९२ रुपैयाँ उठाएको अधिकृत तिम्सिनाले बताए।

नगरपालिकाले प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्क ३ लाख ९ हजार ८ सय ६१, प्रदूषण नियन्त्रण शुल्क २ लाख २ हजार ४ सय ६७ रुपैयाँ र अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने रोयल्टीबापत १ लाख २० हजार ६ सय ९२ उठाएको छ । विभिन्न २३ वटा शीर्षकमा  राजश्व उठाउने अधिकार पाएको नगरले १२ शीर्षकमा भने लाखभन्दा कम र त्यसभित्रका ४  शिर्षकमा  हजारभन्दा पनि कम राजश्व उठेको छ।लाखभन्दा कम उठेका शीर्षकहरू अन्य विक्रीबाट प्राप्त ७७ हजार ८ सय ६०, प्रशासनिक दण्ड जरिवाना र जफत ७३ हजार ५ सय, अन्य राजश्व ६१ हजार ९ सय ६५, बेरुजु ६० हजार ३५ उठेको छ । त्यस्तै सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६० हजार, नाता प्रमाणित दस्तुर ३६ हजार २५ र बाँडफाँडबाट प्राप्त विज्ञापन कर ३० हजार ६ सय उठेको तिम्सिनाले बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले राजश्व संकलन निराशाजनक भईरहेको बताए । गतवर्ष पनि राजश्व संकलन प्रक्षेपण अनुसार नहुँदा घाटा बजेट चलाउनु परेको भन्दै उनले चालु वर्षको पहिलो चौमासिकले पनि राम्रो सङ्केत नगरेको उनले बताए।आन्तरिक आय प्रक्षेपण अनुसार नहुँदा प्रशासनिक खर्च तथा कतिपय साझेदारीमा सञ्चालित विकास योजनाहरू प्रभावित हुने गरेको सिग्देल बताउँछन्।विगत २-३ वर्षयता नगरपालिकाको आन्तरिक आय घट्दै आएको बताउँदै अधिकृत सिग्देलले यसो हुनुको प्रमुख कारण सबै कोभिड कहर भएको बताए। 

‘गतवर्ष पनि राजश्व घाटा भयो, चालु वर्ष पनि लक्ष्य नचुम्ने लगभग निश्चित छ’ प्रमुख सिग्देलले भने ‘यस्तो अवस्था आएपछि नगरपालिकाको विकास योजनाहरू प्रभावित हुन्छन् ।’  सिग्देलले तर, बाँकी ८ महिनाको समय र राजश्व सङ्कलनको ‘पिक सिजन’ बाँकी रहेकाले लक्ष्य छुन पनि सक्ने आसा गरे।  

प्रकाशित: २२ पुस २०८० ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App