२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जलविद्युत्सँगै ग्रामीण बस्तीमा विकास गति

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेट वे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ। ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीव्रता दिइएको हो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले गति लिएको छ।

सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ।

सरकारी तबरबाट राहुघाट निर्माण सुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए। निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो।

९० प्रतिशत सुरुङ निर्माण

राहुघाट जलविद्युत् आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङमध्ये अब पाँच किलोमिटर ६ सय ३३ मिटर सुरुङ निर्माण सकिएको छ। जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ। अब पाँच सय ६७ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी रहेको राहुघाट जलविद्युत् आयोजनाको आयोजना व्यवस्थापक राज विष्टले बताए।

‘अबको दुई महिनाभित्र सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्यसहित काम भइरहेको छ’, उनले भने, ‘बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरका चारवटा अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिएका छौं।’

सुरुङबाट आउने पानीलाई रघुगंगागाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो। अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ।

बाँध र विद्युत्गृहको प्रगति आधाभन्दा बढी

बाँध, विद्युत्गृह निर्माणको काम पचास प्रतिशत भन्दा बढी सकिएको छ। रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधीन बाँधमा यसै महिनाभित्र खोला फर्काउने तयारी गरिएको छ।

१७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजना व्यवस्थापक विष्टले बताए। विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ। विद्युत्गृहदेखि पानी बाहिर फाल्ने नहर बनाउन लागिएको छ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत् गृहका उपकरण आयात गर्न थालेको छ। भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ।

६५ प्रतिशत भौतिक प्रगति

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजना सहित काम भइरहेको जानकारी गराए। ‘अबको १५ महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणलाई तिब्रता दिएका छौं’, उनले भने।

यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खाका चार महिना बाँध निर्माण कार्य रोकिएको थियो। यस बर्खामा पनि बाँध, सुरुङ र विद्युत्गृह निर्माणले निरन्तरता पाउँदा प्रगति सन्तोषजनक रहेको उनँको भनाइ छ।’ घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ।

उतारचढाव व्यहोरेको आयोजना

चौध वर्षअघि निर्माण प्रक्रीया थालिएको राहुघाट जलविद्युत् आयोजनाले विभिन्न आरोह-अवरोह र उतारचढाव बेहोरेको छ। भारतीय आयातनिर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण सुरु भएको थियो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो।

पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो तर २०७४ मंसिरमा ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एसोसियट् (जेपी) ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन। ४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो।

कोरोना महामारी र विपद्का कारण सिभिल ठेकेदारले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ। पुरानो ठेकेदारले आइभिआरसिएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो। सिभिल ठेकेदार २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

नदीजन्य निर्माण सामग्रीको अभाव

विपद् र कोरोना (भाइरस) को महामारीका कारण निर्माणमा ढिलाइ भएको राहुघाट जलविद्युत् आयोजनालाई कार्ययोजनाअनुसार निर्माण सम्पन्न गराउन नदीजन्य निर्माण सामग्रीको अभाव प्रमुख चुनौती देखिएको छ।

सर्वोच्च अदालतको २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा गण्डकी प्रदेशका कालीगण्डकी नदी आसपासका जिल्लामा नदीजन्य निर्माण सामग्री अभावका कारण विकास आयोजना प्रभावित भएका छन्।

कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा निर्माण प्रभावित बनेको जयप्रकाश एसोसियट्सको राहुघाट जलविद्युत् आयोजना व्यवस्थापक हरिस अग्रवालले बताए।  ‘ठेक्का सम्झौताका क्रममा कालीगण्डकी नदीको सामग्री प्रयोग गर्ने उल्लेख छ।

तर अदालतको आदेशका कारण तीन वर्षदेखि कालीगण्डकी नदीबाट सामग्री निकाल्न पाएका छैनौं’, उनले भने, ‘यस वर्ष हामीलाई पचास हजार घनमिटर नदीजन्य कच्चा पदार्थ आवश्यक छ। गिटी, बालुवा र ढुङ्गा नपाउँदा सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम प्रभावित हुन थालेको छ।’

बेनी नगरपालिका क्षेत्रमा कालीगण्डकीबाहेकको बगरबाट १० हजार घनमिटर मात्र व्यवस्थापन गरिएको छ। म्याग्दी, राहुघाट र अन्य बगरबाट नदीजन्य बस्तुको आपूर्ति गराउन पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताए।  

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले हालै आयोजना निरीक्षण गरेर नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज बनाउन स्थानीय तह र प्रशासनसँग सहजीकरण गरेका छन्।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत्् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चार टावर तयार भएको छ।

विकटमा विकास गतिविधि बढ्यो

जलविद्युत् आयोजना भित्रिएसँगै म्याग्दीको राहुघाट नदी आसपासका ६ वटा वडामा विकास गतिविधि बढेको छ। ऊर्जा खोलामा परिणत हुन थालेको राहुघाटको पानीले विकट गाउँमा सम्भावना र अवसरको ढोका खोलिदिएको रघुगङ्गागाउँपालिका ७ का बासिन्दा धु्रवकुमार पाइजाले बताए।

‘राहुघाट नदीआसपासका पिप्ले, दग्नाम, दर्मीजा, पाखापानी र कुइनेमंगलेका ६ वटा वडाका करिब एघार हजार नागरिकको दैनिकी र जीवनयापनमा जलविद्युत् आयोजनाले नसोचेको परिवर्तन ल्याएको छ,‘ उनले भने, ‘राहुघाटमा निर्माणाधीन जलविद्युत् आयोजना, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अक्करे अजिङ्गरको भीरमा मार्ग खोलेर मौवाफाँटदेखि कुइनेको छहरीसम्म करिब २० किलोमिटर सडक निर्माण गरेपछि पूरै दिनको यात्रा चार घन्टामा छोटिनुका साथै ढुवानीमा सहज भएको छ।’

जलविद्युत् आयोजनाहरुले पहुँचमार्गमा बनाएको चारवटा बेलिब्रिजबाट स्थानीयवासीले पनि लाभ लिएका छन्। प्रसारण लाइन, सबस्टेसन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तर्राष्ट्रिय बजार खोजी हुन थालेपछि जलविद्युत् आयोजनाले गति लिन थालेका हुन्।

जलविद्युत् आयोजना भित्रिएसँगै राहुघाट कोरिडोरका आसपासका बस्तीमा अन्य विकास गतिविधिले तीव्रता, आयआर्जन र रोजगारीका अवसर सिर्जना भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

जलविद्युत् आयोजनासँगै भित्रिएको सम्भावनालाई अवसरमा रूपान्तरण गरी स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न जोड दिएको उनको भनाइ छ।

एघार आयोजना निर्माणाधीन

राहुघाट आयोजनासँगै म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। निर्माण सुरु भएपछि भित्रिएका तीनवटा आयोजना सञ्चालनमा आइसकेका छन्। थप ६ वटा निर्माणको अन्तिम चरणमा छन्।

विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्।

कुल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माण तयारी र प्रक्रियामा छन्। त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणका क्रममा छन्।

–रासस

प्रकाशित: २२ पुस २०८० ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App