२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

किसानको खेतमा सिक्टाको पानी

सिँचाइका लागि सिक्टा सिँचाइ आयोजनाले हालै छाडेको पानी। तस्बिर: नागरिक

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी दिन थालेको छ।

आर्थिक वर्ष २०६२/६३ बाट जिल्लाको अगैयामा ब्यारेज निर्माणको काम सुरु गरेको आयोजनामार्फत हाल पूर्वी र पश्चिम मूल नहरमार्फत २१ हजार हेक्टर क्षेत्रफलमा पानी पुर्‍याइएको निर्देशक देवराज निरौलाले जानकारी दिए। उनका अनुसार पश्चिम मूल नहरमार्फत १७ हजार हेक्टर र पूर्वी मूलनहर मार्फत चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ।

आयोजनाले ४५.२५ किमी पश्चिम मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी मूल नहरमार्फत राप्तीपारिको नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य राखेको छ। आयोजनामार्फत बाँकेको कुल ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।

‘पश्चिम मूल नहरमार्फत अहिले १७ हजार हेक्टरमा र पूर्वी मूल नहरबाट चार हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइ पाएका छन्,’ निरौलाले नागरिकसँग भने ‘अहिले विशेषगरी गहुँ लगायतका हिउँदे बालीमा किसानले सिक्टाको पानी प्रयोग गरिरहेका छन्।’

अन्य ठाउँका किसानबाट पनि पानी माग भइरहेको उनले सुनाए। कतिपय ठाउँमा शाखा, प्रशाखा नहर बन्न बाँकी रहेकाले किसानको मागअनुसार पानी पुर्‍याउन नसकिएको निर्देशक निरौलाले प्रष्ट्याए।

सिँचाइका लागि ५० क्युमेक्स क्षमताको पश्चिम मूल नहरमा अहिले आठ क्युमेक्स पानी छाडिएको छ। यस्तै १५ क्युमेक्स क्षमताको पूर्वी मूलनहरबाट दुई क्युमेक्स पानी छाडिएको छ।

‘किसानले पानी माग्नु स्वभाविक कुरा हो, हामी क्रमिक रूपमा किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने प्रयत्नमा छौं,’ उनले थपे।

आयोजनाले पूर्वी मूल नहरमा छाडेको पानीलाई राजकुलो र फत्तेपुर सिँचाइ प्रणालीमार्फत किसानको खेतबारीमा पुगेको निर्देशक निरौलाले सुनाए।  

राप्ती सोनारी ६ फत्तेपुरका किसान मदन बुढाले सिक्टाको पानीले आवश्यकता अनुसार खेतबारीमा सिँचाइ गर्न पाएको बताए।

‘सिक्टाको पानीबाट भर्खरै गहुँ बालीमा सिँचाइ गरेका छौं, सबै ठाउँमा पानी पुग्न नसक्दा कतिपय किसान बञ्चित पनि छन्,’ उनले भने ‘पानी पुग्न नसकेको ठाउँमा सिँचाइ नहर बनाउन आवश्यक देखिएको छ।’

पश्चिम मूल नहरबाट चार वटा शाखा नहरमा सिँचाइका लागि पानी छाडिएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाको शाखा, उपशाखा, प्रशाखा, कुलो, कुलेसो बन्न बाँकी रहेको कार्यालयले जनाएको छ।

पश्चिम मूल नहरको जेठी नालासम्म ४५.२५ किमी निर्माण सम्पन्न भए पनि टिटिहिरिया शाखा नहर निर्माणका लागि अहिले सर्वे डिजाइन गर्ने तयारी भइरहेको र गुरुवागाउँ शाखा निर्माण गर्न टेन्डर गरिएको निरौलाले बताए।

कार्यालयका अनुसार पश्चिम मूलनहरअन्तर्गत रहेका सिधनिया, डुडुवा, अकलघरुवा, गोहवा, पर्सेनीपुर, पेडारी लगायतका शाखा नहरमा आंशिक रूपमा काम भएका छन्।

पूर्वी मूल नहरको ३७.६२५ किमीसम्म संरचना निर्माण भए पनि त्यसभन्दा माथि ४४.९०० किमीसम्म मूल नहरको रेखांकन मात्र भएको र ४४.९०० देखी बाँकी क्षेत्रको सर्भेक्षण तथा डिजाइन गर्ने काम भइरहेको बताइएको छ।

पछिल्लो समयमा संशोधित गुरुयोजना आयोजनाको सम्पूर्ण कार्यहरू २०८९/९० मा सम्पन्न गरिने र कुल लागत अनुमान ५२ अर्ब ६४ करोड पुग्ने सरकारको अनुमान छ।

आयोजनाले बाँके जिल्लाको १७ हजार घरधुरीका चार लाख कृषकले फाइदा लिने अपेक्षा गरेको छ। आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहेको र बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशतमा पुर्‍याउने लक्ष्य रहेको छ।

प्रकाशित: २२ पुस २०८० ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App