४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धितोपत्र बोर्डका अध्यक्ष हमालको २२ महिने कार्यकाल २३ काम सम्पादन,सात अधुरै

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो २२ महिने कार्यकालमा २३ वटा मुख्य काम गरेको र ७ वटा काम कार्य योजना अनुसार हुन नसकेको दावी गरेका छन्।अध्यक्ष हमालको शुक्रवारदेखि २२ महिने कार्यकाल सकिएको छ। अध्यक्ष हमालले आफ्नो २२ महिने कार्यकालमा २३ काम भए पनि सात काम भने अधुरै रहेको बताएका छन्।

हमालले २०७८ साल फागुन ५ गते बोर्डको नेतृत्व सम्हालेका थिए। ‘यस यात्राको क्रममा नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुने कयौँ सकारात्मक सुधारका प्रयास सुरु भएका छन्,’हमालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्टार्ट अप तथा उद्यमशीलता विकास र पुँजी निर्माणको सबलीकरण एवम् एसएमइको माध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ। सुशासन, प्रतिस्पर्धा र गुणवत्ताको वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जबाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हित संरक्षणमा निरन्तरता दिएका थियौं।’

अध्यक्ष हमालले विशेषगरी “स्तुतिको संस्कारबाट “कार्यसम्पादन संस्कारको रूपान्तरणमा एक दियो बालेर शुक्रवारदेखि यो यात्रा समाप्त भएको बताएका छन्। अध्यक्ष हमालले आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैँ नै प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। बोर्डले शुक्रवार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा सुधारमा २०७८ फागुन देखि २०८० पुस २० गतेसम्म बोर्डबाट सम्पादन गरिएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ।

 सो अवधिमा विशिष्टीकृत लगानी कोषको सुरुवात भएको थियो। त्यसैगरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था पनि गरिएको बताइएको छ। अध्यक्ष हमालका कार्यकालमा देशमा लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन अनुमति प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। सोही अवधिमा नयाँ स्टक एक्सचेन्जका लागि प्रक्रिया र सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरणको का पनि भएको थियो। बोर्डका अध्यक्ष हमालले आफ्नो कार्यकालमा समयसीमा तोकी गरिएका सुधार कार्यहरू भएको पनि प्रगति विवरणमा उल्लेख गरिएको छ। 

‘ओपन इन्ट्रि एण्ड एक्जिट’ मार्फत धितोपत्र दलाल व्यवसायलाई अनुमति: बोर्डबाट तोकिएको मापदण्ड पुराएका सबै आवेदकलाई ‘ओपन इन्ट्रि एण्ड एक्जिट’ मार्फत तोकिएको समयसीमा भित्र पारदर्शी रुपमा अनुमति पत्र प्रदान गरिएको जनाएको छ। त्यसैगरी बुक बिल्डिंग प्रणाली मार्फत अनुमति प्रदान, मर्जर तथा एक्विजिशनमा छरितो काम गर्ने वातावरण तयार पारिएको बताएको छ। उनैको कार्यकालमा धितोपत्र बजार सेवालाई देशव्यापी बनाउने क्रममा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बनाई बोर्डमा निवेदन पेश गरेको पन्ध्र दिनभित्र स्वीकृति दिने व्यवस्था गरिएको थियो।

 लगानीकर्ता हित संरक्षणमा जोड दिई सम्पादित कार्य ५ वटा रहेका छन्। जसमा लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा पाँच सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ। जसबाट आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको लागत कमी हुन भई बजारमा लगानी गर्न प्रोत्साहन हुने अवस्था भएको प्रगति विवरणमा उल्लेख छ। हमालको कार्यकालमा पहिलो पटक धितोपत्र दर्ता गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भई कारोबार भई रहेका कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम बुझाउनुपर्ने त्रैमासिक विवरण नबुझाउने र ढिला गरी विवरण बुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढेको थियो। 

त्यसैगरी बोर्डबाट लगानीकर्ताहरूको हक हित संरक्षणका लागि कानुन प्रबलीकरणलाई सुदृढ गर्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारबाही गरिएको छ। उक्त क्रममा धितोपत्र सम्बन्धी कसुरहरूमा कारबाही, धितो पत्रको भित्री कारोबारको अनुसन्धान, धितोपत्र व्यवसायीहरुलाई कारबाही गरिएको प्रगति विवरणमा उल्लेख छ। 

हमालको कार्यकालमा बजार विकास तथा सुधारका अन्य कार्यहरू पनि भएको बताइएको छ। जसमा डेडिकेटेड टिएमएस का लागि व्यवस्था गरिएको थियो। त्यसैगरी धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्थाको प्रबन्ध मिलाइएको पनि प्रगति विवरणमा उल्लेख छ। अर्कोतर्फ जलविद्युत समूहको कम्पनीहरूका लागि विशेष व्यवस्था र एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई) सम्बन्धी व्यवस्था पनि गरिएको बताइएको छ। यी सात योजना अधुरै रहे अध्यक्ष हमालले बोर्ड अध्यक्षको नियुक्तिको क्रममा पेश गरिएको ७ कार्य योजना अनुरूप सम्पन्न हुन नसकेको ७ योजना रहेको जनाएका छन्। हमालले आफ्नो कार्यकालमा साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयमा २०८० जेठ ७ गते पेश गरिएकोमा सो नियमावली नेपाल सरकारबाट स्वीकृत भई नसकेकाले कार्यान्वयनमा ल्याउन नसकेको जनाएका छन्।

 धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्त्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने कार्य गर्न नसकिएकोले डिजिटल प्लेटफर्म÷पेपरलेस एडमिनिस्ट्रेसन सिस्टम लागू गर्न नसकिएको उल्लेख छ। त्यसैगरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणालीको विकास तथा कार्यान्वयन ल्याउन नसकिएको प्रगति विवरणमा उल्लेख छ। 

अध्यक्ष हमालले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ताहरू तथा अन्य सरोकारवाला पक्षहरूबाट बोर्डमा प्राप्त हुने गुनासो र उजुरीहरूको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एप सहितको केन्द्रीकृत गुनासो सुनुवाइ प्रणालीको व्यवस्था गर्न नसकिएको जनाएका छन्। त्यसैगरी बोर्डको जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण गर्ने कार्य गर्न नसकिएको बताइएको छ।

 ‘नयाँ धितोपत्र औजारहरूको सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने क्रममा मार्जिन लेन्डिगं सम्बन्ध अध्ययन भइसकेको भएता पनि पूर्ण कार्यान्वयनमा मार्जिन कारोबारको व्यवस्था गर्न सकिएन,’ प्रगति विवरणमा भनिएको छ‘ सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकिएको।

उपुर्यक्तानुसारका अध्ययन भई सम्पन्न हुन नसकेका कार्यहरू बोर्डको आगामी नेतृत्वले अगाडि बढाएमा नेपालको पुँजी बजारमा दिगो विकास भई बजार नयाँ उचाइमा पुग्ने देखिन्छ।’

प्रकाशित: २० पुस २०८० १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App