६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

लयमा पर्यटन: लक्ष्य भन्दा १५ हजार बढी भित्रिए पर्यटक

कोभिड महामारीले थला परेको मुलुकको पर्यटन व्यवसाय लयमा फर्किएको छ। गत वर्ष सरकारी लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भित्रिएपछि पुरानै अवस्थामा आएको हो।

सन् २०२३ मा १० लाख विदेशी पर्यटक मुलुक भिœयाउने सरकारी लक्ष्य रहेकोमा सोभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन्। सरकारी तथ्यांक अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन्। जुन सरकारी लक्ष्यभन्दा १४ हजार आठ सय ८२ जनाले बढी हो।

सरकारी लक्ष्यभन्दा बढी पर्यटक नेपाल भित्रिँदै गर्दा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आएका छन्। भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन नेपाल भित्रिएका कुल पर्यटकको ३१.५२ प्रतिशत हो।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को लक्ष्यभन्दा २६ प्रतिशतले भारतीय पर्यटकको आगमन बढेको हो। भारतबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धि पर्यटन क्षेत्रको लागि उत्साहजनक भएको बताए।

निर्देशक लामिछानेले भारतीयहरूका लागि नेपाल सहज र सरल गन्तव्य भएको बताउँदै भने, ‘भारतीय पर्यटकका लागि नेपाल नजिकको गन्तव्य हो। भारतको भन्दा यहाँको मौसम राम्रो छ। यस्तै भारतसँगको हवाई कनेक्टिभिटी पनि एकदमै राम्रो अवस्थामा छ। यसले भारतीय पर्यटकलाई नेपाल आउन थप सहजता प्रदान गरेको छ।’ उनले थपे, ‘भारतीयहरूलाई नेपाल आउन केही पेपर वर्क गरिहनु पर्दैन, बिना पासपोर्ट र भिसा सजिलै नेपाल आउन सक्छन्।’

हाल नेपालबाट भारतका विभिन्न सहरमा प्रत्यक्ष हवाई सेवा छ। नेपालबाट हप्तामा २१ भन्दा बढी उडानहरू भारतका विभिन्न सहरमा हुँदै आएका छन्। भारतको दिल्ली, बनारस, बम्बई, कलकत्तालायतका प्रमुख सहरहरूमा नेपालबाट सिधा हवाई सेवा रहेका कारण पनि भारतीय पर्यटकहरू नेपालमा बढी आएका हुन्।

यस्तै विभिन्न सयमयमा आएका भारतीय सेलिब्रेटीहरूका कारण पनि थप भारतीय पर्यटकहरू नेपाल घुम्न आकर्षित भएको निर्देशक लामिछानेले बताए। गत डिसेम्बरमा भारतीय चर्चित गायक अरिजित सिंह, अभिनेता विवेक ओवरोयलगायतका कलाकारहरू नेपाल आए।

भ्रमणका लागि होस् वा कार्यक्रमको लागि पछिल्लो समय भारतीय सेलिब्रेटी, राजनीतिज्ञहरू नेपाल आउनुले पनि कुनै न कुनै रूपमा नेपालमा पर्यटक आउन सकारात्मक भूमिका निर्वाह गरेको छ।

यसै क्रममा नेपाल मौसमका दृष्टिले भारतभन्दा निकै सहज मुलुक हो। भारतमा अत्यधिक गर्मी भएको समयमा नेपालमा भारतीय पर्यटकहरूको संख्या बढेको देखिन्छ।

भारतको गर्मी छल्न पनि उनीहरू नेपाल घुम्न आउने अर्को कारण भएको निर्देशक लामिछानेको तर्क छ। उनले गर्मीको समयमा पर्यटक आकर्षित गर्न बोर्डले लामो समयदेखि ‘गर्मीले बेहाल, चलो नेपाल’ भन्ने अभियान चलाइरहेको बताउँदै भने, ‘गर्मी छल्न भारतीयहरू घुम्न जान्छन्। त्यसरी घुम्न आउनेहरूलाई लक्षित गरी यो अभियान चलाइएको हो।’

नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता र रितिरिवाज मिल्छ। जीवनशैली पनि मिल्छ। यसले गर्दा नेपाल घुम्न आउन थप प्रेरित गर्छ। यसका अलावा भारतीय पर्यटकलाई विशेष जोड दिई विभिन्न समयमा गरिएका पर्यटन प्रवर्धन सम्बन्धी प्रचारप्रसार, मेला तथा महोत्सवमा गरिने रणनीतिमूलक भेटघाट भारतीय पर्यटक बढ्नुको अर्को कारण भएको निर्देशक लामिछानेले बताए।

पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को बाहै्र महिना भारतीय पर्यटकको आगमन पहिलो स्थानमा छ। जनवरीदेखि डिसेम्बरसम्म नै भारतीय पर्यटकहरू सबैभन्दा धेरै आएका हुन्। भारतपछि अमेरिका दोस्रो स्थानमा रहेको छ। यस्तै चीन, बेलायत र अष्ट्रेलिया क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

अमेरिकाबाट सन् २०२३मा एक लाख तीन सय ५७ जना अमेरिकन पर्यटक नेपाल भित्रिएका हुन्। जुन नेपालमा आएका कुल पर्यटकको झन्डै १० प्रतिशत हो। यो सन् २०१९ को तुलनामा आठ प्रतिशतले बढी हो। बेलायतबाट ५२ हजार आठ सय ६६ जना, अष्ट्रेलियाबाट ३८ हजार सात सय ५८ जना पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्लो समय अमेरिका, बेलायत लगायतका राष्ट्रहरूबाट नेपाल आउने पर्यटक उल्लेख्य वृद्धि भएको छ। अमेरिका र बेलायत समेतका मुलुकहरूबाट पर्यटक वृद्धि हुनुको कारण निजी क्षेत्रको प्रयास महत्वपूर्ण भएको निर्देशक लामिछानेले बताए।

‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटलहरू धेरै खुलिरहेका छन्, यसले अमेरिका, बेलायत, युरोपियन मुलुकका पर्यटकहरूलाई नेपाल आउन प्रेरित गरेको छ। अन्तर्राष्ट्रिय पर्यटकलाई यस्ता सेवा सुविधाले आकर्षित गर्छ।’ उनले भने, ‘बोर्डले आफैं सहभागी हुन नसक्दा अफलाइन माध्यमबाट भए पनि नेपालको प्रचारप्रसार गरेकाले पनि यो परिणाम प्राप्त भएको हो।’

चीनको सवालमा भने २०२३को मार्चदेखि मात्र चीन सरकारले आफ्ना नागरिकलाई नेपाल घुम्न जाने सूचीमा राखेकाले गर्दा गत वर्ष चिनियाँ नागरिकको संख्या कम भएको हो। चिनियाँ पर्यटन मन्त्रालयको विवरणमा नेपाल स्वीकृत गन्तव्यको रूपमा मार्चको दोस्रो सातादेखि मात्र नेपाल समावेश भएको थियो।

 यति हुँदा पनि चीनबाट ६० हजार आठ सय ७६ जना पर्यटक नेपाल भित्रिएका छन् । जुन संख्याको हिसाबले सन् २०२३ मा सबैभन्दा धेरै पर्यटक आउने मुलुकको तेस्रो स्थान हो।

विदेशी पर्यटकले नेपालमा प्राकृतिक तथा संस्कृतिक अनुभव बटुल्नुका साथै पछिल्लो समय पर्यटकीय गन्तव्य र गतिविधि पनि वृद्धि हुँदै गएका छन्।

 कोभिडपछि साहसिक पर्यटन, इको टुरिजम, बर्ड टुरिजम, स्पोर्टस टुरिजम, बटरफ्लाई टुरिजम, फ्लावार टुरिजम, मसरुम टुरिजम, हनि हन्टिङ पर्यटन लगायतका क्षेत्रहरूको विकास भएको छ। यसले मुलुकको पर्यटनको आयतन फराकिलो बनाउँदै लगेको छ। यसले पनि पर्यटन क्षेत्रको सम्भावना व्यापक भएको छ।

सरकारले सभासम्मेलन र प्रदर्शनीहरू लगातार गर्ने, हवाई सम्पर्कहरू बढाउने तथा निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढेको खण्डमा पर्यटनक्षेत्र मुलुकको सबैभन्दा प्रभावकारी क्षेत्र बन्ने पक्का छ। साथै, समयसापेक्ष रूपमा व्यवस्थित र उदार पर्यटन नीति भएको खण्डमा बर्सेनि १० लाख मात्र होइन ५० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता पर्यटन क्षेत्रको छ।  

प्रकाशित: १९ पुस २०८० ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App