२४ जेष्ठ २०७७ शनिबार
अर्थ

के गर्दैछ गुणस्तर तथा नापतौल विभाग ?

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये  आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक  कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।

उपनिर्देशक रावलका अनुसार एचडिइपी पाइप पाँच, बिस्कुट एक, टिएमटी आठ, तोरीको र नुडल्स १–१, पावर ट्रान्सफर्मर एक, पिपिसी सिमेन्ट १२, पिएससी सिमेन्ट तीन र ओपिसी सिमेन्ट सात, सूर्यमुखी र भटमासको खाद्य तेल २–२, मैदा र वनस्पति घिउ १–१ गरी ४५ पटक कार्बाही गरिएको हो । उद्योग तथा बजारबाट ती वस्तुको नमूना संकलन र निरीक्षण गर्दा गुणस्तरमा कैफियत देखिएकोले कार्बाही गरिएको हो । यस वर्षको वार्षिक कार्ययोजना अनुसार आधाभन्दा बढी कम्पनी र उत्पादनको अनुगमन भइसकेको रावलले जानकारी दिइन् ।

‘वर्षमा कम्तीमा एकपटक गुणस्तर चिह्न लिएका उद्योगको निरीक्षण गरी उत्पादनको नमूना संकलन गरिन्छ र बजारबाट पनि नमूना संकलन गरी परीक्षण गरिन्छ,’ उनले भनिन् ।
२९६ गुणस्तर इजाजत जारी
विभागले हालसम्म विभिन्न दुई सय २१ वटा उद्योगलाई ६० प्रकारका वस्तुका लागि तीन सय पाँचवटा नेपाल गुणस्तर इजाजत प्रदान गरेको छ । २०४० साल चैत २९ गते नेपाल प्लास्टिक कम्पनीले एचडिइपी पाइपका लागि पहिलो नेपाल गुणस्तर चिह्न प्राप्त गरेको थियो । गुणस्तरका लागि पहिलो मापदण्ड एन एस : १ इँँटको लागि बनाइएको थियो, जुन हालसम्म कुनै कम्पनीले लिएका छैनन्।
विभागकी उपमहानिर्देशक रावलका अनुसार नेपाल गुणस्तर चिह्न प्राप्त गर्नेमा सबैभन्दा बढी ओपिसी सिमेन्ट छन्।
कसरी दिइन्छ नेपाल गुणस्तर चिह्न ?
नेपाल गुणस्तर प्रमाण चिह्न माग गरेका कम्पनी र उत्पादनको सर्वप्रथम दुई चरणमा स्थलगत निरीक्षण गरिन्छ । उनीहरुको उत्पादन क्षमता, परीक्षण क्षमता, गुण नियन्त्रण प्रणाली र प्राविधिक जनशक्तिको दक्षता हेरिन्छ । उद्योगमै गई स्थलगत परीक्षण र नमूना संकलन गरिन्छ । विभागमा नमूना ल्याई प्रयोगशालामा परीक्षण गरी प्रतिवेदन तयार  गरिन्छ । विभागका महानिर्देशकको संयोजकत्वमा रहेको नेपाल गुणस्तर प्रमाण चिह्न प्रदान समितिले प्रतिवेदन हेरेर योग्यलाई गुणस्तर चिह्न प्रदान गर्दछ।

नेपाल गुणस्तर चिह्न दिइसकेपछि प्रत्येक वर्ष कम्तीमा एकपटक स्थलगत निरीक्षण गरिन्छ । साथै, बजारबाट उत्पादनको नमूना ल्याई परीक्षण पनि गरिन्छ । नेपाल गुणस्तर चिह्न प्राप्त गरेका उत्पादनको मात्र विभागले निरीक्षण गरी गुणस्तरमा कैफियत देखिएमा आवश्यक कार्बाही गर्ने गरेको छ।

गुणस्तर चिह्न प्रदान गर्न विभागले २०१४ जुनमा नेसनल एक्रिडिटेसन बोर्ड फर सर्टिफिकेसन बडिज (एनएबिसीबी), भारतबाट पनि  एक्रिडिटेसन लिएको छ । एक्रिडिटेसन लिएपछि विश्व बजारमा नेपाल गुणस्तर चिह्नले मान्यता पाएको छ । ‘एनएबिसिबीसँग मान्यता लिन हामीलाई कानुनी बाध्यता त थिएन तर नेपालमा उत्पादित वस्तु तथा सेवाको विश्वबजारमा विश्वसनीयता बढाउन हामीले मान्यता लिएका हौं,’ उपमहानिर्देशक रावलले भनिन्।
गुणस्तर  निर्धारण
विभागले हालसम्म नौ सयभन्दा बढी वस्तु, सेवा, प्रक्रिया तथा प्रणालीको नेपाल गुणस्तर निर्धारण गरेको छ । गुणस्तर तर्जुमा गरी नेपाल गुणस्तर परिषद्मा स्वीकृतिका लागि विभागले पेस गर्छ । परिषद्बाट निर्णय भएपछि ती गुणस्तर मापदण्डको प्रचारप्रसार गर्ने काम पनि विभागले गरिरहेको छ।
प्रणाली प्रमाणीकरण
विभागले आइएसओ ९००१ : म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन, आइएसओ २२०००ः फुड सेफ्टी म्यानेजमेन्ट सिस्टम जस्ता विषयमा प्रणाली प्रमाणीकरण सेवा प्रदान गर्दै आएको छ । आइएसओ : १४००१ वातावरण व्यवस्थापन प्रणालीमा पनि प्रमाणीकरण गर्ने सेवा सुरु गरेको छ।
प्रयोगशाला प्रमाणीकरण
विभागको वैज्ञानिक नापतौल महाशाखा अन्तर्गत रहेको प्रयोगशाला प्रमाणीकरण शाखाले १५ वर्षदेखि नेपालमा रहेका विभिन्न प्रयोगशालाको परीक्षण विधि तथा क्षेत्रमा प्रमाणीकरण गर्दै आएको छ।
खेप प्रमाणीकरण
निश्चित मापदण्डका आधारमा विभागले दुई पक्षबीचको सम्झौता बमोजिम तेस्रो पक्षको खेप प्रमाणीकरण गरिरहेको छ।
परीक्षण तथा विश्लेषण
निजी र सरकारी क्षेत्रबाट भई आउने अनुरोध अनुसार विभिन्न पदार्थको परीक्षण पनि विभागले गर्ने गर्छ । विभागमा रासायनिक, खाद्य, इलेक्ट्रिकल, पाइप, पेन्ट, मेकानिकल, माइक्रोबायोलोजी, टेक्सटाइल, लेदर, पेपर, निर्माण सामग्री परीक्षण प्रयोगशाला छन् । खाद्य र रासायनिक प्रयोगशालाले भारतको एनएबिएलबाट एक्रिडिटेसन  प्राप्त गरेका छन्।
क्यालिब्रेसन सेवा
विभागमा अवस्थित पिण्ड, आयतन, तापक्रम तथा आर्द्रता, डाइमेन्सन, चाप, बल प्रयोगशालाबाट विभिन्न उपकरणको क्यालिब्रेसन सेवा प्रदान गरिन्छ।
सूचना केन्द्र
विश्व व्यापार संगठन अन्तर्गत व्यापारमा प्राविधिक अवरोधको सूचना केन्द्रका रुपमा विभागले काम गरिरहेको छ।
एनएस क्वालिटी अवार्ड
नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट एक उद्योगलाई एनएस क्वालिटी अवार्ड र दुईवटा उद्योगलाई प्रशंसा पत्र प्रदान गरिन्छ । गत वर्ष जगदम्बा स्टिलले टिएमटी छडका लागि अवार्ड पाएको थियो।
तालिम
गुणस्तर तथा नापतौलसँग सम्बन्धित विभिन्न विषयका तालिम यसले सञ्चालन गरिरहेको छ।
सम्झौता
विभागले साउथ एसियन रिजनल स्ट्यान्डर्ड अर्गनाइजेसन,बाइल्याटरल कोअपरेसन एग्रिमेन्ट बिट्विन नेपाल एन्ड इन्डिया, लगायत विभिन्न क्षेत्रीय र द्विपक्षीय सम्झौता गरेको छ । भारत र बंगलादेशसँग गुणस्तर सम्बन्धी द्विपक्षीय सहयोगका लागि सम्झौता भएको सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले बताए।

 

 

प्रकाशित: २८ माघ २०७४ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App