१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पदयात्रामा एक्लै गएका स्वीडेनका नागरिक मर्दी पदयात्राबाट सम्पर्कविहीन

मर्दी हिमाल पदयात्रा। फाइल तस्बिरः नागरिक

मर्दी हिमालको पदयात्रामा रहेका एकजना विदेशी नागरिक गत शनिबारदेखि सम्पर्कविहीन भएका छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै एक्लै होटलबाट निस्केका उनी त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन। होटलमा आफ्ना सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ।  

सम्पर्कविहीन पर्यटकको खोजीमा प्रहरी, स्थानीय होटल व्यावसायी र गाउँपालिकाका पदाधिकारी जुटेका छन्। एक्लै पदयात्रामा गएकोले उनी समस्यामा परेको हुनसक्ने व्यावसायीको चिन्ता छ। कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार स्वीडेनका २० वर्षिय मिचेल लीउ ब्लमबर्ग पदयात्राको क्रममा सम्पर्कविहीन भएका हुन्। मर्दी हाईक्याम्पबाट आधारशिविरतर्फ उक्लेका उनी त्यसपछि होटल नफर्केको विकले बताए। ‘होटलमा बास बसेका मिचेल आधारशिविर जाने भनेर बिहानै निस्केका रहेछन्। तर, फर्केका छैनन, अहिलेसम्म अत्तोपत्ता छैन,’ डिएसपी बिकले भने, ‘खोजीका लागि प्रहरी सहित स्थानीय जुटेका छन्।

मर्दीको हाईक्याम्पस्थित होटल म्याजिक माउन्टेनमा डिसेम्बर २९ (गत शुक्रबार) का दिन बिहान ११ बजेतिर पुगेका मिचेल दिनभर होटलमै थिए। भोलिपल्ट शनिबार बिहानै ४ बजे बेसक्याम्प जाने भनेर उनी होटलबाट एक्लै निस्केका थिए। होटलमा झोला राखेर निस्केका उनी त्यहीदिन हाइक्याम्प ओर्लेर पोखरा फर्किने तयारीमा थिए। तर, माथि उक्लेका ती पर्यटक त्यसपछि नफर्केको होटलका संचालक बुद्धि तामाङले बताए।

‘अन्नपूर्ण क्षेत्रको पोथाना, लान्द्रुक, फरेस्टक्याम्प हुँदै उनी मर्दी पदयात्रामा आएका रहेछन। तर, बेसक्याम्प गएपछि फर्केर आएनन,’ तामाङले भने, ‘दिनभर नफर्केपछि उनको खोजीमा प्रहरी र होटल व्यावसायी तथा स्थानीय जुटेका छन्। तर, अहिलेसम्म फेला परेका छैनन।’ उनका अनुसार बास बसेको होटलबाट बेसक्याम्प उक्लिन झन्डै ४ घन्टा लाग्छ। बेसक्याम्प पुगेर फर्केर होटलमै आउने भनेपनि नआएपछि खोजी सुरु गरिएको उनले बताए। ‘बेसक्याम्प जाने बाटो केही अप्ठेरो पनि छ। कतै समस्यामा पो परे की भनेर खोजी रहेका छौं,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रवी कडरियाका अनुसार मर्दी जानुअघि ती पर्यटक मनास्लु क्षेत्रको पदयात्रा पुरा गरेर मनाङको धारापानी निस्केका थिए। डिसेम्बर १९ मा मनाङको धारापानी ओर्लेका उनी थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै डिसेम्बर २६ मा म्याग्दीको घारखोला निस्केका थिए। घारखोलाबाट उनी पुनहिलतिर लागेका थिए। पुनहिलतर्फ सोझिएका ती पर्यटक सिधैं मर्दीतिर लागेका थिए।  

‘एक्यापको रेकर्डमा डिसेम्बर २६ पछि उनको सम्पर्क छैन। कुनैपनि चेकपोष्टमा उनको रेकर्ड छैन,’ कडरियाले भने, ‘तर, एकैपटक डिसेम्बर २९ मा मर्दी गएको थाहा भएको छ । मर्दी गएको भोलिपल्ट बेसक्याम्प जाने क्रममा सम्पर्कविहीन भएको जानकारी पाएका छौं।’ एक्यापले विभिन्न चेकपोष्टमार्फत पाहुना भित्रिएको र बाहिरिएको रेकर्ड राख्ने गर्छ। तर, ती पर्यटक बाहिरिएको रेकर्ड अहिलेसम्म कतै फेला नपरेको उनले बताए।  

उनका अनुसार ती पर्यटक मनास्लु क्षेत्रमा एक्लै पदयात्रामा गएका थिए। तर, धारापानी झरेपछि आफैले लगेको गाइडलाई फिर्ता पठाएर अर्का एकजना विदेशीसँग थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लेका थिए। ‘म्याग्दीको घारखोलाबाट भने एक्लै पदयात्रामा गएको पुष्टि भएको छ। उनीसँग मुस्ताङ ओर्लेका विदेशी पनि साथमा थिएनन। मर्दी पनि एक्लै पुगेका रहेछन,’ उनले भने, ‘मर्दीबाट बेसक्याम्पका लागि पनि एक्लै जाँदा समस्यामा परेको सम्भावना छ। डिसेम्बर ३० को बिहानसम्म सम्म उनी सुरक्षित रहेपनि त्यसपछिको अवस्था पत्ता लागेको छैन।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष धर्मराज पन्थीले एक्लै पदयात्रामा जान नपाइने नियममा कडाई नहुँदा पदयात्रामा गएका पर्यटक समस्यामा परेको बताए। ‘एक्लै पदयात्रामा जान पाइदैन भनेर नियममा कडाई त गरियो तर ठाउँठाउँमा चेकपोष्ट बनाएर कडाई गर्नुपर्नेमा त्यो हुन सकेन,’ पन्थीले भने, ‘टान र पर्यटन बोर्ड मिलेर चेकपोष्ट बनाउनुपर्ने भएपनि त्यो काम हुन सकेन। बोर्डले अझै सहजीकरण गर्न सकेन। जसले गर्दा कडाई हुन नसक्दा पदयात्रामा एक्लै जाने क्रम रोकिएन।’  

एक्यापले आफ्नो संरक्षित क्षेत्रभित्र जाँदा प्रवेश अनुमति लिएको छ वा छैन भनेर मात्र हेर्ने भएपनि साथमा गाइड भए नभएको नर्हेने उनले बताए। ‘सम्पर्कविहीन भएका पर्यटकको खोजीका लागि हामी पनि सक्रिय छौं,’ पन्थीले भने।  

प्रकाशित: १६ पुस २०८० ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App