२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।

वडा कार्यालय जोड्ने सडकलाई कालोपत्र गर्न लागिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन्। नगर प्रमुख बानियाँले दुबै सडक कालोपत्र गर्ने कार्यको शिलान्यास गरेका छन्।

बजेटका लागि संघ र प्रदेश सरकारकै मुख ताक्ने र उनीहरूकै भरपर्दा कालोपत्र गर्ने काम अनिश्चित हुने देखिएको निष्कर्षमा नगरपालिका पुगेको छ।

पालिकामा आउने बजेट हाललाई संघीय अनुदान नै भए पनि पूर्वाधार विकासअन्तर्गत पालिका जोड्ने सडकलाई सहज बनाउन कालोपत्र गर्न लागिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन्।

कालोपत्रका लागि विनियोजित बजेटमध्ये केही स्रोत नगरपालिकाको आन्तरिक पनि रहने बताइएको छ। तीन वटा रणनीतिक सडक कालोपत्र गर्ने निर्णय गरिए पनि पहिलो चरणमा बेतालमाडौंदेखि त्रिशक्ति मावि हुँदै जुवापानीसम्म कालोपत्र गरिने तय गरिएको छ।

यसअन्तर्गत पालिकाको वडा नम्बर ७, ८, ९ र १० को केही भाग समेटिने छ भने दोस्रो ताँप्रीसेरादेखि नगाडसम्मको बाटो कालोपत्रे गरिने छ। यो सडकले २ र ३ नम्बर वडालाई छुनेछ। दुबै सडकमा ५/५ किलोमिटर कालोपत्र गर्ने तय गरिएको छ।

दुबै सडक निर्माणको जिम्मा बङ्लामुखी जेवी निर्माण सेवाले लिएको छ। दुवै सडक पिच गर्न बुढीगंगाले २० करोड रूपैयाँ खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रनाथले जानकारी दिएका छन्।

यस वर्षभित्र दुई वटै ग्रामीण सडक करिब ५/५ किलोमिटर पक्की बनाउने गरी काम अगाडि बढाइएको नगरपालिकाका इन्जिनियर उपेन्द्र साउदले बताएका छन्। कामको प्रत्यक्ष निगरानी पनि पालिकाकै तर्फबाट राखिने बताइएको छ।

नगरप्रमुख बानियाँले निर्वाचनपश्चात् साविकका बाह्रविस, कुल्देवमाडौं र ब्रह्मतोला गाविसको केन्द्रसम्म पुग्ने गरी पक्की सडक निर्माण गर्ने निर्णय गरेका थिए। सोही अनुसार पहिलो चरणमा साविकको बाह्रविस र ब्रह्मतोला गाविस जोड्ने सडक पिच गर्न लागिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १६ पुस २०८० ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App