३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

आठौ संस्करणको रियल इस्टेट एक्स्पो भोलि देखि

आठौ संस्करणको रियल इस्टेट एक्स्पो भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भोलि देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले एउटै मञ्चमा घरजग्गा र हाउजिङ क्षेत्रको जानकारी पाउनका लागि एक्स्पो महत्वपूर्ण हुने बताए। ‘यस मेलाबाट एकातर्फ योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्,’ उनले भने ‘अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो ब्यवसायमा आवद्ध ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवद्र्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ।’ अध्यक्ष धमलाले एउटै थलोमा घरजग्गा सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने दावी गरे।

 ‘एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सेरामिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन्। यस एक्स्पोमा इच्छुक उद्यमीहरूको चाहना बमोजिमका सेवाहरू पनि उपलब्ध गराइनेछ,’, उनले भने ,‘मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनःनिर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरूका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायीहरू र अन्य सेवा प्रदायकहरूका लागि साझा मञ्च प्रदान गर्र्ने आयोजकको दाबी छ। एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरूका साथै रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।  

त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन यो एक्स्पो निकै उपयोगी उनले बताए।

संघले यस अघि पनि सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ। एक्स्पोमा करिब ६५ हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तैः व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बिमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरू समेतको सहभागिता हुनेछ। ६० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ।

प्रकाशित: ११ पुस २०८० १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App