१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा स्ट्रबेरी खेती विस्तार

दाङको घोराही उपमहानगरपालिका १४ स्थित झिङौरामा व्यावसायिक रूपमा गरिएको खेतीमा स्ट्रबेरी टिप्दै युवती। दाङमा स्ट्रबेरी प्रतिकिलो करिब आठ सय रूपैयाँको दरले बिक्री हुने गरेको छ। तस्बिर: रासस

चितवनमा तीन वर्षअघिसम्म स्ट्रबेरी खेती व्यावसायिक तवरले भएको थिएन। त्यसबेलासम्म सप्तरीका ससन देवकाटालाई चितवनमा स्ट्रबेरी हुने नहुने भन्ने अन्योल थियो।

अमेरिकामा स्ट्रबेरी खेतीबारे पढेर आएका ससनले चितवनमा खेती गर्ने आँट गरे। अनुसन्धानसहित उत्पादन गर्न थालेका देवकाटा अहिले सफल भएका छन्। ‘चितवनमा राम्रो उत्पादन भएको छ,’ उनले भने ‘थोरै क्षेत्रफलबाट सुरु गरेको खेती अहिले एक बिघा क्षेत्रफलमा बिस्तार गरिएको छ।’

उनले अझै छुट्टै आठ कठ्ठामा अनुसन्धान भइरहेको समेत बताए।

देवकोटाको टिमले भरतपुर महानगरपालिका–५ समिचोकमा गरेको स्ट्रबेरीको परीक्षण खेती सफल भएपछि खेती बिस्तार गरिएको हो। ससनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान समेत गरिरहेको छ।

उनको टिममा रहेका आठ जनामध्ये पाँच जनाले कृषि नै पढेका हुन्। नेपाल एग्रोभाइन प्रालि मार्फत अमेरिकामा विकसित जातहरू इजिप्टबाट ल्याएर यहाँ लगाइएको छ।

पीएचडीसम्म अध्ययन गरेका देवकोटा खेतीबाट बचेको समय कृषिका विद्यार्थीहरूलाई ज्ञान बाँढ्न व्यस्त रहेको बताउँछन्।

‘तराईमा स्ट्रबेरी खेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रबेरी खेती सुरु गरेका हौं, उनले भने, राम्रो फलेको छ। हाम्रो टिम सन्तुष्ट छ।’  

पाँचदेखि ६ टनसम्म उत्पादन हुने अपेक्षा गरिएको स्ट्रबेरी भाटभाटेनी, बिगमार्ट, चौबीसकोठीका पसल, हाकिमचोकको एग्रो मार्टमा व्यापार हुँदै आएको उनले जानकारी दिए।

उनका अनुसार बारीमा १८–२० हजार बिरुवा लगाउँदा १५ देखि २० लाख रूपैयाँको आसपास खर्च हुन्छ।

भदौमा लगाइएको स्ट्रबेरी अहिले फुल्दै गरेको र पुसदेखि चैतसम्ममा फल टिपिने बताउँदै उनले भने, ‘हाम्रो स्ट्रबेरी फार्ममा जिल्लाका स्थानीय आफैं आएर स्ट्रबेरी टिप्न सक्ने फार्म रूपमा परिचित छ।

यस वर्ष २५ देखि ३० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए। गतवर्ष यो फर्म टिकटक लगायतका सामाजिक सञ्जालका कारण प्रख्यात बन्यो र टिप्न जाने हरूको भीड नै लाग्ने गरेको थियो। यसवर्ष पनि सामाजिक सञ्जाल मार्फत बजारीकरण गरिने उनले बताए।

देवकोटाका अनुसार चितवनमा स्ट्रबेरी खेती आफूहरूको मात्रै भएकोले अहिलेसम्म बजार व्यवस्थापनमा कुनै समस्या नभएको र यस वर्षको स्ट्रबेरी बजारको अवस्था हेर्न आफूहरू आतुर रहेको बताए।

दैनिक आफैं काम गर्ने गरेको बताउँदै उनले भने, ‘म आफूले पनि कृषि क्षेत्रमा विद्यावारिधि गर्दै नेपाल पोल्टेक्निक इन्स्टिच्युटमा स्नातकमा कृषिका विद्यार्थीलाई पढाउने गर्छु।’

हरेक वर्ष वातावरणमा नयाँ नयाँ चुनौती आउने भएकाले पढेका व्यक्तिले कृषि गर्दा धेरै सहज हुने बताए। पढेका व्यक्तिले व्यावसायिकरूपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उनको भनाइ छ। अब पढेका व्यक्तिले कृषि नगर्ने हो भने कृषि उत्पादन बढाउन नसकिने उनले बताए।

स्ट्रबेरी माटोको ड्याङ बनाएर रोप्ने गरिन्छ। ड्याङको चौडाइ ७० देखि ९० सेन्टिमिटरसम्मको हुन्छ। बिरुवालाई ड्याङमा ३० देखि ३५ सेन्टिमिटरको अन्तर बनाएर रोप्नुपर्ने उनी बताउँछन्।

दुई ड्याङबीचको दूरी कम्तिमा ४५ सेन्टिमिटर कायम गर्नुपर्छ। ‘दोमट माटोमा स्ट्रबेरीको खेती राम्रो हुन्छ’, उनी भन्छन्, ‘बिरुवा रोपेपछि नियमित रूपमा गोडमेल गर्नुपर्छ, बिरुवामा प्लाष्टिकको मल्च बनाएर सिँचाइ गरिन्छ।’

उनका अनुसार जाडो याममा माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ।

खेती सुरु गरेको चार वर्षपछि मात्र नाफा हुने उनले बताए। उनको टिमले १७ कठ्ठामा ‘फिटलेस वाटर मेलन’समेत लगाएको छ।

प्रकाशित: १० पुस २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App