६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।

सो क्रममा नेपालगन्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच केही बेरसम्म तनाव उत्पन्न भएको थियो। ठुलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरेपनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पुराएका हुन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राजस्व ‘चुहावट’ गरेको आशङ्कामा ट्रकलाई नियन्त्रणमा लिइएको बताए। ‘हाम्रो कारबाही सफल भएको छ, राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई ट्रक बुझाइएको छ,’ उनले भने। राजश्व चुहावट भए÷भएको विषयमा नतिजा सार्वजनिक गरिने प्रजिअ पोखरेलले बताएका छन्। ‘कम्तीमा राम्रोलाई  राम्रो भन्ने सोचको विकास गरौँ,’ उनले थपे।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले भन्सार जाँच पास भएर आएको ट्रकलाई आशंका लागेमा पुनः भन्सारमै लगेर चेकजाँच गर्नुपर्नेमा राजश्व अनुसन्धानमा पुर्‍याउनु राज्य आतंक भएको बताएका छन्। ‘कैफियत भएमा व्यवसायी मात्र नभएर जाँचकी, पास गर्ने कर्मचारी पनि दोषी हुने भएकाले पुनः भन्सारमा लगेर जाँच गर्नुपर्ने हो, तर व्यवसायीलाई आतङ्कित पार्ने काम गरियो,’ उनले भने। उक्त ट्रकमा ठुलो परिमाणको लत्ताकपडा रहेको बुझिएको छ।

प्रकाशित: ३० मंसिर २०८० ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App