१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दीपक मनाङेको दावीः एसियाकै ठुलो भनिएको स्याउ फार्म एग्रो मनाङ अवैध

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे । तस्बिरः उमेश पुन÷नागरिक

एसियाकै ठुलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले गरेका छन्।  मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–१ पिसाङमा सञ्चालित यो फार्म विवादित जग्गामा सञ्चालनमा रहेको र यसले फर्जि कागजात बनाई अनुदान लिएर सञ्चालनमा रहेको दावी मनाङेको छ।  

२०७० साल जेठ २३ गते दर्ता भएर सञ्चालनमा रहेको एग्रो मनाङ मनाङे निर्विरोध निर्वाचित भएको मनाङ (ख) मा पर्दछ। यो फार्म पूर्व सांसद पोल्देन छोपाङको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रवाफ र प्रभावमा सञ्चालित एग्रो मनाङ स्वामित्व नै नखुलेको जग्गामा रहेको मनाङेको दावी छ। एग्रो मनाङले ७ सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गामा कब्जा जमाएको उनको आरोप छ।

मनाङ जिल्लाका पिसाङ, घ्यारु, डावल, भ्राका, टंकी, खाङ्सार सहित सातवटा तत्कालिन गाविस नाममा रहेको सो जग्गाको स्वामित्व हाल कसको नाममा छ भन्नेमा मालपोत कार्यालय नै अनिर्णित रहेको उनले पोखरामा विहीबार पत्रकारसँगको भेटघाटमा बताए।  

‘मनाङ सेवा समितिबाट एग्रो मनाङमा जग्गाको स्वामित्व गएको देखिन्छ,’ पत्रकार सम्मेलनमा सांसद मनाङेले वितरण गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘जसले फार्मलाई जग्गा दियो न त्यो सँग जग्गाको स्वामित्व छ, न त ती आधिकारिक व्यक्ति वा संस्था नै हुन्। यो सरासर गैरकानूनी छ।’ जग्गा दिने भनेर हस्ताक्षर गर्नेहरुले आफूहरुलाई प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर गराएको भनेर भन्ने गरेको सांसद मनाङेको दाबी छ।

उनले एग्रो मनाङको सबै कागजात नक्कली भएको भन्दै त्यसको छानविन गर्न मागसमेत गरेका छन्। सञ्चालन नै अवैध ढंगबाट भएको एग्रो फार्मले अहिले आएर वन फडानी गर्नुका साथै सार्वजनिक जग्गासमेत हडपेको सांसद मनाङेको आरोप छ। फार्मले लुकीछिपी अवैध रुपमा रुख काटिरहेको उनको दाबी छ। ‘अनुमति र अख्तियारी नलिई रुख काटेको पाइएको छ,’ उनले भने, ‘रुख काट्ने र वन जंगल फडानी गर्ने अधिकारी एग्रो फार्मलाई कसले र किन दियो? आफुखुशी काटिरहेको पाईन्छ।’  

उनले अवैध रुपमा वन फडानी र रुख कटानी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बस्नु लज्जाको विषय भएको टिप्पणी गरे। उनका अनुसार अहिलेसम्म फार्मले विद्यालयको १० रोपनीसहित ८० रोपनी जग्गामा रहेको वन फडानी गरिसकेको छ।

सांसद मनाङेले अवैध रुपमा सञ्चालित एग्रो मनाङले पटक पटक गरेर करोडौं अनुदान लिएर सरकारी रकमको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्। एसियाकै ठूलो फार्म भनेर प्रचार र कागजात बनाएकै भरमा अनुदान दिनु अनुचित हुने उनले बताए। ‘संस्था कसरी दर्ता भयो, ठीक रुपले सञ्चालनमा छ कि छैन, कागजपत्र ठिक छन् कि छैनन् भन्ने हेक्का नराखी अनुदान बाँडिनु उचित होईन,’ उनले भने, ‘पहुँचको दुरुपयोग गरेर अनुदान लिइएको छ। यसले गम्भीर प्रश्न खडा गरेको छ।’

उनका अनुसार एग्रो मनाङले हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल बिस्तार लगायत दर्जनौं शीर्षकमा केन्द्रदेखि स्थानीय तहसम्मको करोडौं बजेट अनुदान लिइसकेको छ। सो फार्मले बैंकबाट पनि करोडौं रुपैयाँ सहुलियत ऋण लिएको उनको दाबी छ।

सांसद मनाङेले मनाङको पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना समेत खोलिएको दाबी गरेका छन्। विद्यालयको जग्गामा विना अनुमति मदिरा कारखाना खोलेर रजगज गर्दा पनि रोकतोक नहुनु लज्जाको विषय भएको उनले बताए। 

सांसद मनाङेले स्रोत दुरुपयोग गरेको भन्दै अख्तियारमा समेत उजुरी गरेको बताए। आफूसँग प्राप्त तथ्य र प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको उनले बताए। त्यसको बोधार्थ सम्बन्धित सरोकारवाला निकायमा बुझाएको उनको भनाई छ।

प्रकाशित: २८ मंसिर २०८० ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App