भूकम्पले जसरी विनाश गर्छ त्यसरी नयाँ पुनः निर्माणको पनि अवसर दिन्छ। नेपालमा करिब एक दशकअघि आएको भूकम्पले ठुलो मानवीय तथा धनजनको क्षति गर्यो। यसबाट सरकारीदेखि निजी भवनसम्म व्यापक मात्रामा नोक्सान भयो। नेपाल राष्ट्र बैंकको भवन, धरहरा, ऐतिहासिक पुरातात्त्विक सम्पदा तथा विभिन्न स्थानका नागरिकको घर तथा भवनमा पूर्ण रूपमा क्षति गर्यो।
कतिपय ऐतिहासिक सम्पदा पुनः निर्माणकै चरणमा छन्। केही संरचना निर्माण भइसकेका छन्।
हजारौँ सम्पदा तथा भवनहरू मध्ये ठुलो असर नेपाल राष्ट्र बैंकको केन्द्रीय भवनलाई पनि भयो। जसले गर्दा पुरानो क्षतिग्रस्त भवन प्रयोग गर्न असुरक्षित भयो। प्राकृतिक प्रकोपले समस्यासँगै अवसर ल्याउँछ भनेको सायद यहीँ पनि होला।
राष्ट्र बैंकको नयाँ बनेको भवन हस्तान्तरणको अन्तिम चरणमा पुगिसकेको छ। २०७२ को विनाशकारी भूकम्पले बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवन क्षतिग्रस्त भएको थियो।
पुरानो भवन काम नलाग्ने गरी क्षति भएपछि सरकारले नयाँ भवनको थालनी गर्यो। भवन निर्माण सँगसँगै यसका पुरातात्त्विक महत्त्वलाई जोगाउन पनि उत्तिकै चुनौती बनेको थियो।
तर, सरकार र निर्माण पक्षको सम्झौताले पुरानो शैलीको साखलाई जोगाउन सहयोग पुगेको छ।
भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल राष्ट्र बैंकको भवन वि.सं. १९८८ मा भीम शमशेरको पालामा बनेको थियो। त्यो बेलाको अर्थतन्त्रलाई व्यवस्थापन गर्न र दीर्घकालीन विकासलाई लक्षित गरी भवन बनाइएको थियो। सोही बैंकको भवन वि.सं. २०१३ वैशाख १४ गते उद्घाटन राजा महेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए।
आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित केन्द्रीय बैंकको स्थापना भएको थियो। बैङ्किङ ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो। राष्ट्र बैंक स्थापनाको उद्देश्य अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नुपर्ने हुन्छ। आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले मूल्य र शोधनान्तर स्थिरता कायम गर्न मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन गर्न सहयोग गरेको छ। बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न, बैंकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्न र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्न नेपाल राष्ट्र बैंकका मुख्य भूमिका रहेको छ।
यतिका अर्थ व्यवस्थालाई टेवा पुर्याउने भवन निर्माणको प्रक्रिया त्यत्तिकै सजिलो भएको भने होइन। पुनः निर्माण प्राधिकरणका अनुसार नयाँ भवन निर्माण गर्न विभिन्न १४ वटा कम्पनीले प्रस्ताव राखेका थिए। जसमध्ये १२ वटा कम्पनीलाई प्राविधिक रूपमा छनोट भएका थिए।
प्राधिकरणले आह्वान गरेको टेन्डरमा कम रकम कबुल गरी पप्पु कन्स्ट्रक्सनले उक्त टेन्डर हात पार्न सफल भएको थियो। भवनको लागत करिब तीन अर्ब रुपैयाँ राखिएकोमा पप्पु कन्स्ट्रक्सनले बालुवाटारको भवन निर्माण गर्न दुई अर्ब ६ करोडको प्रस्ताव गरेको थियो।
कागजअनुसार सोही कम्पनीलाई निर्माणका लागि छनोट गरिएको थियो। उक्त भवन निर्माण गर्न पप्पुले चिनियाँ कम्पनी एसआरबीसी कम्पनीलाई मुख्य साझेदार राखेर प्रस्ताव गरेको थियो।
गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण गरेका पप्पुसँग प्रशस्त उदाहरण छन्। सडक र पुल (कालिमाटी–टेकु जोड्ने ६२ मिटरको यो पुल, तीनकुनेको वाग्मती पुल आदिको) निर्माण कार्यमा पप्पुले गरेको अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको थियो।
सोही विवादित कम्पनीलाई ठेक्का दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो। पप्पुविरुद्ध अख्तियारमा मुद्दा दायर भएको र सार्वजनिक खरिद ऐनको कार्यालयले पनि कालोसूचीमा राख्ने सूचना जारी गरेकाले मूल्याङ्कनको लागि प्राधिकरणले प्रधानमन्त्री कार्यालयमा स्वीकृतिका निम्ति पठाएको थियो।
भवन निर्माण ठेक्काका लागि ६ महिना पश्चात् प्रधानमन्त्री कार्यालयबाट अन्तिम समयमा टुङ्गो लगाई इकाइले फागुन १६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी सिको–समानान्तर जे.भी.लाई ठेक्का पाएको थियो।
समानान्तर निर्माण सेवा प्रा.लि.ले चिनियाँ कम्पनी छोङक्वीङ अन्तर्राष्ट्रिय कम्पनीलाई (सीआसीओ) कम्पनीलाई मुख्य साझेदार राखेर प्रस्ताव राखेको थियो। त्यसपश्चात् केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले २०७५ चैत १ गते पत्राचार गर्दै ३० महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्यादेश दिएको थियो।
समानान्तरले पुरानो संरचना हटाउने र नयाँ भवन निर्माणको लागि धमाधम तयारी सुरु गर्यो। नयाँ भवनको शिलान्यास तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ असार २३ गते गरेकी थिइन्।
हाल भवनको निर्माण समयमै सम्पन्न गरी निर्माणकर्ता कम्पनीले हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। कुल ६१ रोपनी ७ आना निर्माणका लागि छुट्टाइएकोमा ४५ रोपनी भवनको लागि र बाँकी १६ रोपनीमा ४०० मिटर सडक, पार्क, वाटर फाउन्डेसन, वृक्ष रोपण र बगैँचा जस्ता संरचना निर्माण भएका छन्। पुरानै शैलीमा भवनको निर्माण गरिएको छ। बुट्टाद्वारा निर्माण गरिएकाले हेर्दा एकदमै आकर्षक देखिन्छन्।
भवनको सुरक्षालाई मध्ये नजर गरी तल्लो तहदेखि माथिल्लो तहसम्म बलियो र उच्च गुणस्तरका सामग्री निर्माण गरिएको छ। बेसमेन्टमा ३ हजार ८७४ दशमलव ८४ स्क्वायर (३ कोठा) को क्यास भल्ट र ४ सय ९३ दशमलव ९२ स्क्वायरको गोल्ड सिल्भरको कोठा (१ कोठा) छ।
भवनको छतमा नौ सय एमएमको ढलान गरिएको छ। जमिनको सतहबाट माथिल्लो तल्लासम्म ४/४ सय एमएमदेखि ९/७ सयसम्मको २ सय ४ वोटा पिलरकाे निर्माण गरिएको छ।
विस्फोट प्रुफ र सुरुङ खन्नेबाट ढुकुटी बचाउनलाई गोदरेजको ट्याङ बारको प्रयोग गरिएको छ। नयाँ भवन जमिनबाट १६ मिटर आग्लो छ। बेसमेन्ट २ तल्ला र भवन ४ तल्ला गरी ६ तल्लाको भवन निर्माण भएको छ। भवनमा आवतजावतका निम्ति सहजीकारण गर्न निम्ति पाँच वटा लिफ्ट राखिएको छ। भवनमा ७३८ वटा राणाकालीन झ्यालहरू निर्माण गरिएका छन्।
नयाँ निर्माण गरिएको भवन भूकम्प प्रतिरोधात्मक,अपाङ्गमैत्री र वातावरणमैत्री पनि छ। बेसमेन्ट पार्किङको समेत व्यवस्था छ। दुई वटा बेसमेन्ट छन्। जसको पहिलो तल्लामा बैङ्कको ढुकुटी राखिएको छ। माथिल्लो बेसमेन्टमा पार्किङका लागि प्रयोग गरिएको छ।
सुविधा सम्पन्न भवनको बेसमेन्टमा चार पाङ्ग्रे सवारी साधन १ सय १३ वटा र २ पाङ्ग्रे सवारी साधन ८१ वटासम्मको पार्किङ क्षमता रहेको छ। भवनमा आधुनिक साथै सुविधा सम्पन्न कार्य प्रकृति अनुसारको ४ सय २८ वटा कोठा भएको कार्यालय छन्।
दुई वटा सुरक्षाकर्मी बस्ने ब्यारेक छन्। २ सय जना क्षमता भएको बहुपयोगी मिटिङ हल, सय जना क्षमता भएको मेस र ४१ सुविधासम्पन्न बाथरुम तथा साधारण प्रकृतिका शौचालय छन्।
भवनमा आपत्कालीन अवस्थाका लागि भवनको तीन वटा भागमा इमर्जेन्सी भर्याङ राखिएको छ। फायर फाइटिङ समेत जडान गरिएको छ। सबै तल्लाको हरेक कक्षमा गरी ३ सय ५० वटा फायर अर्लामको व्यवस्था गरिएको छ।
भवनको सुरक्षाका निम्ति भवनको चारैतिर पिटिजेड क्यामेरा जडान गरिएको छ। साथै पाँच सयभन्दा बढी क्यामेरा राखिएको छ। भवनमा बत्तीको आपूर्ति गर्न १ हजार २५० केभी र ६ सय ३० केभीका दुई वटा ट्रान्सफर्मरहरू राखिएका छन्। बत्तीका ऊर्जा सञ्चितिका लागि दुई वटा जेनरेटरको पनि व्यवस्था छ।
भवनमा पानी आपूर्ति पूरा गर्न ८० हजार लिटरको ओवरहेड पानी ट्यांकीको निर्माण गरिएको छ। भवनमा जम्मा दश वटा ब्लक छन्।
यो भवन नेपालकै बैंकिङ्ग भवनहरू मध्येको ठुलो र सुविधासम्पन्न भवन रहेको मान्न सकिन्छ। हालसम्म पनि यति धेरै लगानीमा बैंकिङ्ग क्षेत्रका लागि पूर्वाधार निर्माण गरिएको छैन। जसरी बैङ्कको पूर्वाधार निर्माणमा लगानी गरिएको छ। वित्तीय जोखिम र राष्ट्रको अर्थतन्त्र उकास्न राष्ट्र बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने छ भनेर आशा गर्न सकिन्छ।
प्रकाशित: २८ मंसिर २०८० ०३:१६ बिहीबार