२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुध्रिने संकेत

अर्थमन्त्री डा. प्रकाशशरण महत मन्त्रालयमा आयाेजित पत्रकारसँगकाे अन्तर्क्रियामा। तस्वीर: रासस

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला त्यसका केही सूचकमा भने सुधार देखिएको छ। यसबाट खराब अवस्थामा रहेको अर्थतन्त्रमा आशाका संकेत देखिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थतन्त्रमा दबाब कायम रहे पनि केही सूचक भने सकारात्मक देखिएका छन्। बैंकको ब्याजदर क्रमशः घटेसँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सुधार आएको छ।

 आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा चालु आव २०८०/८१ को यस अवधिमा १३० अर्ब रूपैयाँ पुगेको छ। त्यसैगरी निक्षेपतर्फ पनि व्यापक सुधार आएको छ।

गत आवको पहिलो चार महिनामा ४६.७४ अर्ब रूपैयाँ निक्षेप रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब रूपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नभए पनि अहिले क्रमशः सुधारोन्मुख भएको डा. प्रकाशशरण महतले दाबी गरे।

‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्,’ उनले भने, ‘राजस्व परिचालनमा पनि क्रमशः सुधार आएको छ।’

कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएको उनले बताए।

मौद्रिक नीतिमा गरिएको परिवर्तनले केही सुधारका संकेत देखिएका छन्। बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभावबाट आर्थिक क्रियाकलापका सूचक पनि सकारात्मक देखिएका छन्। घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको छ।

राजस्व परिचालनमा क्रमशः सुधार भएको अर्थमन्त्री महतको दाबी छ। ‘बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रणका लागि गरिएका प्रयासले परिणाम देखिन थालेको छ,’ उनले भने।

अर्थमन्त्री महतले नागरिकमा आशा जगाउन पत्रकार भेटघाट गरेर बुधबार अर्थतन्त्रको तथ्यांक सार्वजनिक गरेका हुन्।

पुँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर, भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको अर्थमन्त्री महतले बताए।

वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको छ।

हाल अन्तरबैंक दर २.५ प्रतिशतको हाराहारीमा छ। २०७९ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.९४ प्रतिशत रहेको छ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लगिएको र महत्त्वपूर्ण परिवर्तन भएको मन्त्रालयले जनाएको छ।

 चालु आवको असोज मसान्तसम्म चालु खाता ५९ अर्बले बचतमा, ९९ अर्बले शोधनान्तर बचतमा र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको अर्थमन्त्री महतले बताए। उनले विप्रेषणको आप्रवाह २०८० असोजसम्म ३० प्रतिशतले बढेकाले बाह्य क्षेत्रको सन्तुलन अवस्था राम्रो रहेको बताए।

‘यो वर्ष ९ लाख ५४ हजार पर्यटक आएका छन्,’ महतले भने, ‘समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्नेछ।’

समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। सुधारका प्रयासले नतिजा दिन केही समय लाग्नेछ। - डा. प्रकाशशरण महत, अर्थमन्त्री

अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरूको यथार्थ सूचना प्रवाह भए अर्थतन्त्रमा थप आत्मविश्वास कायम हुने उनले दाबी गरे। तथ्यांकमा केही सुधार देखिए पनि उपभोक्ता र निजी क्षेत्रले भने अनुभूति गर्न सकेका छैनन्। सरकारको राजस्व संकलनले चालु खर्च धान्न सकेको छैन। पुँजीगत खर्च न्यून छ। साना तथा ठुला व्यवसायी धमाधम कालोसूचीमा परिरहेका छन्। बजारमा माग बढ्न सकेको छैन।

बजार चक्र प्रभावित भएको छ। युवा पलायन रोकिएको छैन। आयात तथा निर्यात दुवै घटेका छन्। वैदेशिक लगानीको आगमन घटेको छ। सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने अर्थमन्त्री महतको प्रतिबद्धता छ।

‘अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिविम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै अघि बढ्ने योजना छ,’ महतले भने, ‘युवाहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिइनेछ।’

आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषय अहिले कार्यान्वयनका क्रममा रहेको जानकारी दिँदै महतले भने, ‘सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको छ।’

लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरूको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न लागिएको महतले बताए।

प्रकाशित: २८ मंसिर २०८० ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App