३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे चार महिनामा १३ अर्ब २३ करोडको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

प्राधिकरणले यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रूपैयाँ ९६ पैसा छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालु आवको साढे चार महिनाको अवधिमा सावा १३ अर्ब रूपैयाँको बिजुली निर्यात गरेको बताए।

सुक्खा याम सुरु भएसँग खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट उत्पादन घट्न सुरु भएको छ। तर जाडोसँगै आन्तरिक माग  बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए।

‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत्गृहहरूमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ घिसिङले भने, ‘पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनामा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ।’

उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए।

‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ, यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रूपैयाँको विद्युत् निर्यात हुनेछ,’ घिसिङले भने, ‘दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरूको निर्माण भइरहेको छ, त्यसैले आगामी पाँच वर्षभित्र वार्षिक रूपमा करिब १ खर्ब रूपैयाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ।’

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र  भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

यसैगरी, असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रूपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आइएक्सको  डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनीलाई बिक्री गरिरहेको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।  

प्रकाशित: २४ मंसिर २०८० ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App