एनसेलको सेयर खरिदबिक्री अपारदर्शी भएको भन्दै विभिन्न प्रश्न उठिरहेका बेला आजिएटाले किनेको एनसेलको सेयर मूल्य सात वर्षमा करिब ९० अर्ब रूपैयाँ घटेको छ। एनसेल आजिएटाले सन् २०१६ मा स्विडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको स्वामित्वमा रहेको रेनल्ड्स होल्डिङ लिमिटेडको ८० प्रतिशत सेयर एक खर्ब ४३ अर्ब रूपैयाँ अर्थात् एक अर्ब ३६ करोड ५१ लाख डलरमा किनेको थियो। एनसेलका अनुसार अहिले उक्त सेयरको मूल्य घटेर ५३ अर्ब २० करोड रुपैयाँ अर्थात् ४० करोड डलर कायम भएको छ।
एनसेलको वार्षिक प्रगति प्रतिवेदनअनुसार सन् २०२२ मा करिब ३९ अर्ब आम्दानी छ। वार्षिक ३९ अर्ब आम्दानी भएको कम्पनीको सेयर मूल्य ७ वर्षमै ९० अर्ब रूपैयाँ घटेको तथ्य एनसेलले नै सार्वजनिक गरेपछि थप आशंका जन्मिएको छ। यो एनसेलको ८० प्रतिशत सेयरको मूल्य हो। एनसेलको बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ।
बिक्री भएको ८० प्रतिशत सेयरको ‘इन्टरप्राइज भ्यालु’ ४० करोड अमेरिकी डलर रहेको एनसेलको दाबी छ। यसको अर्थ आजिएटाले बिक्री गरेको एनसेलको ८० प्रतिशत सेयरको मूल्य ५३ अर्ब २० करोड रूपैयाँ हो। उक्त सेयर आजिएटाले स्पेक्ट्रलाइट युकेलाई ‘बेस पेमेन्ट’बापत ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँ र सन् २०२९ सम्म थप लाभांश लैजाने गरी बिक्री गरेको हो। आजिएटाले ६ अर्ब ६५ करोड रुपैयाँसहित २०२९ सम्म निश्चित प्रतिशत नाफा पाउनेछ।
एससेलको सेयर बिक्री मूल्यका विषयमा प्रश्न उब्जिरहेको अवस्थामा उसले ७ वर्षमै ९० अर्ब रुपैयाँ सेयर मूल्य घटाएको देखाएकाले थप आशंका जन्मिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। ‘एनसेल पब्लिक कम्पनी भए पनि सेयर मूल्य र खरिदबिक्री पारदर्शी देखिएन,’ ती अधिकारीले भने, ‘वार्षिक ३९ अर्ब आम्दानी भएको कम्पनीको सेयर मूल्य ७ वर्षमै कसरी ९० अर्ब घट्यो ? एनसेलकै दाबीअनुसार पनि अहिले ५३ अर्ब २० करोड रूपैयाँ सेयर मूल्य भए पनि न्यून मूल्यमा बिक्री भएको छ।'
सेयर खरिदकर्ता स्पेक्ट्रलाइट युकेका सञ्चालक नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्यले भने प्रतिस्पर्धाबाट आफूले सेयर किनेको जनाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिईकन सेयर किनबेच सम्झौता गरेको एनसेल आजिएटाले अब स्वीकृति लिने जनाएको छ।
आजिएटा र स्पेक्ट्रलाइट युकेबीचको सेयर खरिदबिक्री सम्झौताको विषयमा विभिन्न प्रश्न उठाउँदै सरकारले छानबिन समितिसमेत गठन गरेको छ। आजिएटाले सन् २०१६ मा सेयर खरिद गर्दाको पुँजीगत लाभकर विवाद अदालत पुगेको थियो। अदालतको आदेशपछि एनसेलले लाभकर, जरिवाना र ब्याजसहित करिब ६२ अर्ब रूपैयाँ तिरेको थियो।
तत्कालीन समयमा पुँजीगत लाभकर नतिरेपछि ठुला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ प्रयोग गरी कर तोकेको थियो। सर्वोच्च अदालत र आइसिएसआइडीको ‘ट्राइबुनल’सम्म पुगेर पुँजीगत लाभकरको विवाद टुंगिएको भए पनि ऐनको दफा ५७ बमोजिमको विवाद अदालतमा विचाराधीन छ।
दफा ५७ अनुसार थप कर तिनुपर्ने अवस्था आएकोमा सेयर खरिद गर्नेमाथि थप ५५ अर्ब रूपैयाँको भार पर्ने भएकाले सस्तोमा किनेको जिकिर गरिँदै आएको छ। यो ५५ अर्ब रूपैयाँ तिर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने जोखिम नयाँ लगानीकर्ताले लिएकाले सस्तोमा बिक्री भएको र कम मूल्यांकन भएको एनसेलका एक उच्च अधिकारीको तर्क छ।
पछिल्ला आठ वर्षमा एनसेलको व्यापार कारोबार करिब ३४ प्रतिशतले खुम्चिएको, खुद नाफामा गिरावट आएको, सन् २०२९ मा लाइसेन्स नवीकरण गर्न पनि थप २० अर्ब रूपैयाँ तिनुपर्नेलगायत व्ययभार रहेकाले पनि सेयर मूल्य घटेको र न्यून मूल्यमा किनबेच भएको ती अधिकारीले बताए। कम्पनीमा ५० प्रतिशतभन्दा माथि नेपाली लगानीकर्ता नभए स्वतः नेपाल सरकारको स्वामित्वमा जाने भएकाले पनि थप जोखिम रहेको लगानीकर्ताको दाबी छ।
प्रकाशित: २२ मंसिर २०८० ००:३० शुक्रबार