२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

जिम्मेवार व्यवसायी सम्मेलन हुने

राष्ट्रिय व्यावसायिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन’ आयोजना गर्ने भएको छ। आइतवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर २१ र २२ गते काठमाडौंको हायात होटलमा आयोजना गर्न लागेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पहलका अध्यक्ष कुशकुमार जोशीले नेपालसहित अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरूको उपस्थिति रहने बताए।

उनले सम्मेलनमा नेपालका उद्योग व्यवसायीहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण र अर्थतन्त्र गरी तीन विधाको ११ वटा विषयहरूमा प्रस्तुतिहरू मार्फत छलफल गरिने बताए।

उनले समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहने उल्लेख गरे।

अध्यक्ष जोशीले वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहने पनि बताए।

जोशीले अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहने उल्लेख गरे। उनले कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताए।

व्यावसायिक पहलले सम्मेलनमा ३० भन्दा बढी वक्ताहरू रहने कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने बताए।

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानवअधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको  ठहर छ।

प्रकाशित: ११ मंसिर २०८० ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App