धादिङ–गत वर्षको तुलनामा धादिङमा धान उत्पादनमा वृद्धि भएको छ । मौसम अनुकूल र रोग किराको प्रभाव कम भएका कारण धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन वृद्धि भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए । ‘उन्नत बीउ र सिंचाइका कारण धान उत्पादन बढेको हो,’ देवकोटाले भने, ‘धानबालीमा लागेको रोग समयमै नियन्त्रण भएको छ, मौसम पनि प्रतिकूल भएका कारण धान उत्पादन बढेको हो ।’
अघिल्लो वर्ष २८ हजार एक सय ६८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ३० हजार दुई सय ८९ मेट्रिक टन धान उत्पादन भएको छ ।
जिल्लामा यस वर्ष ३० हजार दुई सय ८९ मेट्रिक टन धान उत्पादन भएको छ । ११ हजार ६ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । अघिल्लो वर्ष ११ हजार पाँच सय ८२ हेक्टर जमिनमा धानखेती गरिएकामा २८ हजार एक सय ६८ मेट्रिक टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा दुई हजार एक सय २१ मेट्रिक टनले बढी हो ।
किसानले आधुनिक खेतीतर्फ आकर्षण बढाएसँगै परम्परागत खेती छाडेर व्यावसायिक रूपमा हाइब्रिड धानखेती सुरु गरेका छन् । कार्यालयले पनि किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै उन्नत जातका बीउ वितरण तथा प्रोत्साहनका कार्य गर्दै आइरहेको छ । हाइब्रिड धान उत्पादन दोब्बर वृद्धि भएको पाइएको छ ।
जिल्लाको सेमजोङ, कटुञ्जे र नीलकण्ठमा कात्तिकमा आएको असिनाले बाली नष्ट गरेपनि अन्य ठाउँमा भने सोचेभन्दा बढी धान फलेको जिल्ला कृषि विकास कार्यालय धादिङका प्राविधिक सहायक थलबहादुर बस्नेतले बताए । असिनाले त्यस क्षेत्रको ९० प्रतिशत बाली नष्ट गरेको छ । किसानले उन्नत जातको बीउलाई प्राथमिकता दिनु तथा मौसम पनि अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको बस्नेतले बताए ।
वृहत्तर चैते धान उत्पादन लागू गरिएको क्षेत्रमा उत्पादन बढी भएको कार्यालयले जानकारी दिएको छ । नीलकण्ठको ढोडेनी, सुनौलाबजार, मुलपानी लगायत क्षेत्रमा धान उत्पादन बढी भएको छ । कार्यालयले विभिन्न किसिमका बीउ तथा कृषि सामग्री पनि प्रदान गरिएको थियो । धादिङमा मकवानपुरे, हाइब्रिड, सावित्री, शंकर, युएस जातका धानको बीउ लगाइने गरेका छन् ।
यस वर्ष दुई हजार पाँच सय १७ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा त्यसबाट नौ हजार पाँच सय ३५ मेट्रिक टन धान उत्पादन भएको छ भने नौ हजार एक सय दुई हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान २२ हजार १३ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिएको कार्यालयले जानकारी दिएको छ ।
किसानले लगाएको बालीलाई कार्यालयले बिमाको पनि व्यवस्था गरेको छ । बिमाबाट लागतको नभई उत्पादनको आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । कार्यालयले जिल्लालाई धानखेतीमा आत्मनिर्भर बनाउनका लागि अभियान पनि सञ्चालन गरेको छ । गत वर्ष रोग किराबाट धानीबाली उत्पादन नभएपछि किसानलाई धानबालीको क्षतिपूर्ति पनि प्रदान गरिएको थियो ।
प्रकाशित: २ पुस २०७४ ०२:२८ आइतबार