१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फ्यानका अध्यक्ष तामाङ भन्छन्ः ८० प्रतिशत माग नेपाली सयपत्रीले धान्छ

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्यो। विशेषगरी तिहारलाई लक्षित गरेर फ्यानले पुष्प मेलाको आयोजना गर्ने गरेको छ। नेपालमा पुष्प खेतीलाई थप व्यावसायीक र फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्यका साथ फ्यानले पुष्प मेलाको आयोजना गर्ने गरेको छ।

नेपालमा फूल खेतीका लागि अनुकूल हावापानीकै कारण जुनसुकै फूलको खेती गर्न सकिने भएपनि त्यो अवसर लिन नेपाल चुकिरहेको फ्यानका अध्यक्ष मिन बहादुर तामाङको भनाइ छ। नेपालमा फूल उत्पादनको अवस्था, आयात लगायतका विषयमा नागरिक न्यूजका लागि गोविन्द लुइँटेलले फ्यानका अध्यक्ष तामाङसँग गरेको कुराकानीको सम्पादित अंशः 

फलोरिकल्चर एसोसियन नेपालले भर्खरै तिहारलाई लक्षित गरी फूलको प्रदर्शनी गर्‍यो यसबाट खास के उपलब्धी भयो ?

हामीले ६ दिनका लागि १६ औं गोदावरी पुष्प प्रदर्शनी आयोजना गरेका थियौँ। प्रर्दशनीको लक्ष्य १ करोड रुपैयाँको फूलको कारोवार गर्ने र ४० हजार दर्शकलाई मेला अवलोकन गराउने थियो। तर, १ करोड १७ लाख रुपैयाँको कारोबार भयो। ४५ हजार दर्शकले पुष्प अवलोकन गरे। पुष्प मेलामा व्यवसायीबीच प्रतियोगिता समेत हुँदै आएको छ। यसले  व्यावसायीको हौसला बढाउन र गुणस्तीय उत्पादन बढाउन सघाइरहेको छ। समग्रमा प्रर्दशनीले व्यवसायी र पुष्प उपयोगकर्तालाई धेरै कुरा जान्ने मौका पनि दियो।  

नेपालमा फूलको उत्पादन र व्यवसायी समेत थपिरहेपनि आयात भने बढेको छ, किन?

नेपालमा आन्तरिक उत्पादनले नथेग्ने अवस्थामा फूलको आयात भइरहेको छ। १० प्रतिशत मात्रै बाहिर मुलुकबाट फूलको आयात भइरहेको छ। चाडपर्व र विशेष उत्सवमा देशको आन्तरिक उत्पादनले नधान्ने कारण फूलको आयात भएको हो। तिहारमा सयपत्री  फूल र ‘भ्यालेनटाइन डे’मा गुलावको फूलको आयात भइरहेको छ । जाडो सिजनमा ५० प्रतिशत जति फूलहरू नै नफूल्ने र खपत पनि बढी हुने हुँदा आयात गर्न व्यवसायी बाध्य छौँ। हामीसँग यो सिजनमा खेती गर्न मिल्ने प्रविधि छैन। गुलाब भने ८० प्रतिशत आयात भइरहेको छ।

तिहारका लागि मात्रै कति परिणाममा फूल आयात हुन्छ ?  

सयपत्री ८० उत्पादनले थेग्छ। १५ देखि २० प्रतिशत मात्रै भारतबाट आयात भैरहेको छ। यो पर्वमा उपभोपक्ताहरूले सयपत्री फूलको माग गर्दछन्। तर ५ दिनका लागि मात्रै सयपत्री फूलको माग उच्च हुन्छ यसलाई फोकस गरेर उत्पादन गर्न व्यवसायीलाई घाटा हुने कारण पनि आयात गर्नु परेको हो। गुलाब र सयपत्री चाहिँ पर्व विशेषमा आयात हुने गरेको छ।  

मखमली फूल नेपालबाट निर्यात पनि भइरहेको छ। तिहारमै साढे १ लाख मखमली फूलको माला विदेश निर्यात हुन्छ। गोदावरी फूल स्वदेशी उत्पादनले धानिरहेको छ ।  साढे १ लाख माला विदेश निर्यात भइहेको छ।  

अहिले पुष्प व्यवसायीले के समस्या भोग्नु परेको छ?  

सरकारको पुष्प प्रवर्द्धन नीति, २०७९ लाई संशोधन गर्न आवश्यक छ। फूल आयातमा भ्याट लगाइएको छ त्यो ठीक छ। तर निकै थोरै कारोबार गर्ने व्यवसायीले पनि थे्रस होल्ड राखेर भ्याट लिइरहेको छ। ५० लाखको कारोबार गर्ने कम्पनी भ्याटमा जानु पर्दछ तर यहाँ ५ हजारको फूलको कारोबार होलसेल गरेपनि भ्याट तिर्नु परेको छ। भ्याटले स्वदेशी उत्पादन खपत गर्दा उपभोगकताले बढी मूल्य तिर्नु परेको छ। जसले गर्दा स्वदेशी उत्पादनले आयात गरिएको भारतीयसँग प्रतिस्पर्धा नै गर्न सक्ने अवस्था छैन। कृषि उत्पादनमा भ्याट लगाउनु हुँदैन। स्वदेशी उत्पादनको बजार र उपभोग बढाउन पनि भ्याट हटाउनु पर्छ। फूल निर्यात गर्ने वस्तु हो। फूलको माग बढेपनि व्यवसायीले ढुक्कले लगानी गर्र्ने वातावरण छैन।  

नेपालमा बार्षिक कति परिणाममा फूलको कारोबार हुन्छ?  

बार्षिक ३ अर्ब ७ करोड रुपैयाँको फूलको कारोबार हुन्छ। ३३ करोड आयात भएको छ। ३८ लाखको फूलका गानो युरोप लगायतका देशमा निर्यात भएको छ।

बार्षिक ३ करोडको निर्यात भएपनि कोभिड पछि यो परिणाम घटेको छ। नेपालमा अवैध रूपमा फूल आइरहेको छ त्यो वार्षिक हुने कारोवार रकम भन्दा बढी हुन जान्छ। यसलाई सरकारले नियन्त्रण गर्नु पर्दछ।  

नेपालमा फूल खेतीका लागि अनुकूल हावापानी छ। जुनसुकै फूलको खेती गर्न सकिन्छ तर विदेशी लगानी भित्रयाउन सके व्यवसायी, उपभोगकताले पनि लाभ लिन सक्थे र राज्यमा रोजगारी समेत सृजना हुन्थ्यो।  

नेपालमा के कति उद्यमी र व्यवसायी थपिरहेका छन्?  

देशभरी १ हजार १ सय १६ पुष्प व्यवसायी छन्। अहिले स्थानीय तहमा पनि सामुदायिक हिसावले फूलको खेती भैरहेको छ। महिला समूह तथा सहकारी मार्फत् पनि फूलको खेती भैरहेपनि हामीसँग त्यसको वास्तविक तथ्यांक छैन। पछिल्लो समय औद्योगिक घरानाहरू पनि फूलमा लगानी सुरक्षित हुने देखेर आकर्षित भइरहेको पाइन्छ।

अहिले नेपालमा किन फूलको संस्कृति बढ्दै गइरहेको छ?

नेपाली संस्कारमा फूल जन्मेदेखि मृत्यु पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्म कर्म, पूजापाठ, प्रेमालाप कुनै वरिष्ठ पाहुनाको स्वागत घर वा वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति हुन्छ। सहर सबै क्रंकिट भइरहेको छ। मानिसहरूलाई प्रकृतिको रंगिचंगी साथै घर अफिस र सडक समेतको हरियाली वातावरण मन पराउँदै गइरहेका छन्। फूलको विरूवा र बगैचासँग नजिक भएर समय विताउन चाहिरहेको छन्। मन र दिमागलाई शान्त बनाउन साथै प्रशस्त अक्सिजनका लागि पनि यो लाभकारी छ। सौखको कारण पनि धेरै फूल लगाउने गरिरहेको पाइन्छ। यसले वातावरणका साथै व्यक्तिलाई पनि फाइदा भइरहेको छ।  

प्रकाशित: २४ कार्तिक २०८० ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App