२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२१ अर्बले घट्यो प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) लाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्दै आइरहेको दाबी गरे तापनि गत आर्थिक वर्षमा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब रूपैयाँभन्दा धेरैले घटेको छ। उद्योग विभागको तथ्यांकले पनि आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब एक करोड रूपैयाँले घटेको देखाएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ अर्ब १४ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता गरेका छन्। जबकि अघिल्लो आव २०७८/७९ मा भने ५४ अर्ब १५ करोड रूपैयाँको वैदेशिक लगानीको लागि प्रतिवद्धता आएको थियो।

गत आर्थिक वर्षमा मात्रै तीन सय २७ वटा वैदेशिक लगानी स्वीकृतिको लागि प्रतिवद्धता आएको छ। प्रस्तावित वैदेशिक लगानीबाट १७ हजार १२ रोजगारी सिर्जना हुने बताइएको छ।

उद्योग विभागका अनुसार आव २०७७/७८ मा ३२ अर्ब सात करोड रूपैयाँ लगानी प्रतिवद्धता आएको थियो। विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्।

विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन्।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानीको लागि एक सय ५१ वटा उद्योगले १६ अर्ब ६० करोड रूपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका छन्। असोज महिनामा मात्रै ४० उद्योगले एक अर्ब ९८ करोड रूपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

दुई खर्ब १४ अर्ब लगानीको प्रतिबद्धता

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२२ वटा उद्योग दर्ता भएका छन्। त्यसैगरी गत आवमा स्वदेशी तथा विदेशी लगानीकर्ताद्वारा प्रस्तावित दुई खर्ब १४ अर्ब लगानीको प्रतिवद्धता आएको छ।

त्यसैगरी गत आवमा मात्रै २३ हजार तीन सय २४ रोजगारी सिर्जना गर्ने बताइएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ११४ उद्योग दर्ता भएका छन्। ती उद्योगमा ४१ अर्ब ९५ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ।

त्यसैगरी ती उद्योगले १० हजार एक सय दुई जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ। गत आवमा पर्यटन क्षेत्रमा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगमा २५ अर्ब २७ करोड रूपैयाँको लगानी प्रतिवद्धता आएको छ। ती उद्योगले पाँच हजार ३७ रोजगारी सिर्जना गर्ने बताइएको छ।

गत आवमै सेवा क्षेत्रमा ६६ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगले ३० अर्ब ८२ करोड रूपैयाँ बराबरको लगानी गर्ने बताइएको छ। सो उद्योगले चार हजार एक सय ९९ रोजगारी सिर्जना गर्ने बताइएको छ।

गत आवमा ऊर्जा क्षेत्रमा ४५ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगले एक खर्ब १२ अर्ब रूपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ऊर्जा क्षेत्रका उद्योगले दुई हजार दुई सय २१ रोजगारी सिर्जना गर्ने बताइएको छ। उद्योग विभागका अनुसार गत आवमासूचना प्रविधि क्षेत्रका १६ वटा उद्योग दर्ता भएका छन्। ती उद्योगले १० अर्ब ७२ करोड रूपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् भने ती उद्योगले आठ सय ९६ रोजगारी सिर्जना गर्ने बताइएको छ।

उद्योग विभागका अनुसार गत आवमा कृषि तथा वनपैदावार क्षेत्रमा १० वटा उद्योग दर्ता भएका छन्। ती उद्योगले एक अर्ब ६७ करोड रूपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यसैगरी कन्स्ट्रक्सन क्षेत्रका एक उद्योग मात्रै दर्ता भएको छ। त्यो उद्योगले १३ करोड ३० लाख रूपैयाँ लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

विभागका अनुसार गत आवमा ठूला उद्योग दर्ता संख्या ६६ रहेको छ । मझौला उद्योग दर्ता संख्या भने ७० रहेको छ। त्यसैगरी साना उद्योग दर्ता संख्या १८६ रहेको छ। उद्योग विभागका अनुसार गत आवमा पाँच वटा कम्पनीले ‘प्याटेन्ट’ दर्ता गरेका छन्।

‘डिजाइन’ दर्ता गर्नेको संख्या भने १८ छ। त्यसैगरी ‘ट्रेड मार्क’ दर्ता गर्नेको संख्या भने तीन हजार दुई सय ५४ रहेको छ। त्यसैगरी प्रारम्भिक वातावरणीय परीक्षण गर्नेको संख्या ८२ रहेको छ। विभागले टे«डमार्क सम्बन्धी मुद्दा कारबाही संख्या एक ५० रहेको छ।

प्रकाशित: १५ कार्तिक २०८० ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App