४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनादेखि चिज र घिउ विक्री ठप्प

सुकाउन राखिएको चिज। तस्बिर: भीम/नागरिक

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।

गत वैशाखतिर गाईमा देखिएको लम्पी स्किन रोगको डर र भारतबाट सस्तो मूल्यमा आयात भइरहेको चिज–घिउले स्थानीय उत्पादन विस्थापित गर्ने अवस्था आएको भन्दै व्यवसायी चिन्तित छन्।

व्यवसायीका अनुसार यो वर्ष दूध उत्पादनसमेत गत वर्षभन्दा बढेको छ। सरकारले दूधको भाउ बढाउने तर बजार व्यवस्थापन र भारतबाट भइरहेको आयात रोक्ने प्रयास नगर्दा दुग्ध व्यवसायमा विषम अवस्था सिर्जना भएको व्यवसायीले बताएका छन्।

जिल्लाका दुग्ध उद्योगमा उत्पादित घिउ र चिज १० प्रतिशत पनि विक्री नभएको व्यवसायी बताउँछन्। अरूबेला नबिके पनि तीज, सोह्र श्राद्ध र दसैं–तिहारजस्ता चाडपर्वका बेला दूधका उत्पादनको बजार ह्वात्तै बढ्ने गरेको थियो। तर, यो पटकको दसैंमा पनि यस्ता उत्पादन नबिक्दा किसानलाई तिहारमा बिक्ने आशा पनि लगभग मरेको छ।

सूर्योदय नगरपालिकाका सयभन्दा बढी डेरी उद्योगले उत्पादन गरेको घिउ वैशाखयता बिकेको छैन। प्रत्येक उद्योगमा अहिले पाँच हजारदेखि १८ हजार किलोसम्म चीज र त्यति नै मात्रामा घिउ थुप्रिएको छ। सूर्याेदयको लक्की डेरी उद्योगमा अहिले १६ हजार किलो चिज नबिकेर थुप्रिएको छ। बर्सेनि छ हजारदेखि आठ हजार किलो चिज उत्पादन गरिरहेको डेरीले यो वर्षको छोटो अवधिमै बढी उत्पादन गरेको थियो। तर, लामो समयदेखि डेरीमै चिज भण्डारण गर्नुपरेको सञ्चालक तुलु तामाङले बताए। 

‘किसानबाट दूध किनेपछि उनीहरूलाई भुक्तानी दिनुपर्छ तर आफूले उत्पादन गरेको चिज नबिक्दा डुब्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘अझै केही समय यस्तै अवस्था रहने हो भने हामीजस्ता व्यवसायी विस्थापित हुन्छौं।’

सरकारले दूधको मूल्य बढाएपछि आफूहरूले चिजको मूल्य केही बढाउनुपरेको उनले बताए।

‘गत वर्ष प्रतिकिलो साढे नौ सय रुपैयाँले बिकिरहेको चिज यो वर्ष एक हजार ५० मा बिक्री भइरहेको थियो,’ उनले भने, ‘तर, भारतबाट चिज र घिउ आयात हुन थालेपछि हाम्रो उत्पादन विस्थापित हुने अवस्था छ।’

उनले सरकारले दूधको मूल्य बढाए पनि यसका परिकारको बजार व्यवस्थापनमा ध्यान नदिँदा आफूजस्ता व्यवसाय समस्यामा परेको बताए। गत वर्षसम्म जिल्लाका उद्योगमा उत्पादित चिज देशभित्रै खपत भइसक्ने गरेको थियो।

दिनहुँ तीन हजार पाँच सय लिटर दूध खरिद गरिरहेको सूर्योदयकै अनुराधा डेरी उद्योगमा अहिले आठ हजार किलो घिउ थुप्रिएको छ। उत्पादित घिउ नबिक्दा व्यवसाय गर्ने कि नगर्ने भन्नेमा अन्योल भएको सञ्चालक जगत महतले बताए।

‘गत वर्ष प्रतिकिलो साढे आठ सय रुपैयाँमा बिकेको घिउ अहिले सात सयमा पनि बिकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थाले व्यवसायी कति दिन टिक्न सकिएला ?

सूर्योदय दुग्ध व्यवसायी संघ अध्यक्षसमेत रहेका महतले नगरपालिकाका उद्योगमा छ महिनायता ठूलो मात्रा घिउ र चिज भण्डारमै रहेको बताए।

‘दुग्ध व्यवसाय निकै विषम मोडमा पुगिसकेको छ,’ उनले भने, ‘देशमा तीन तहका सरकार छन्, हाम्रो समस्यामा कसैले ध्यान नदिने हो भने नेपाली दूग्ध परिकारको बजार विस्थापित हुन अब लामो समय लाग्दैन।’

महतले अहिले सीमावर्ती क्षेत्रबाट सस्तो दाममा घिउ र चिज आयात भइरहँदा सरकारले नेपाली उत्पादनबारे ध्यान दिन नसकेको बताए।

‘अब व्यवसायी लयमा फर्किन ठूलो चुनौती छ, सरकारले बजार व्यवस्थापनमा सहयोग नगर्ने हो भने व्यवसायी मात्र होइन, किसानसमेतको आम्दानीको बाटो हराउँदैछ।’

महतले गत वर्ष प्रतिकिलो एक हजार एक सय रुपैयाँसम्ममा बिकेको चिजको मूल्य अहिले आठदेखि नौ सयमा झर्दा पनि विक्री नभएको बताए।

‘किसानलाई दूधको मूल्य भने सरकारले तोकेकै दरका दिइरहेका छौं, कतिपय उद्योगले अझ बढी पनि दिएका छन्,’ उनले भने, ‘तर, हामीले गरेको उत्पादनको बजार कस्तो छ भन्नेमा कुनैपनि तहका सरकार चिन्तित भएनन्, व्यवसायी विस्थापित हुने बाटोमा छन्।’

सूर्योदयकै हलेसी डेरीमा १० हजार, साम्पाङ डेरीमा १० हजार र अन्य डेरीमा पनि पाँच हजारदेखि १५ हजार किलोसम्म घिउ भण्डारणमै रहेको संघले जनाएको छ।

संघका अनुसार नगरका डेरी उद्योगले दिनहुँ कम्तीमा एक लाख लिटर दूध प्रशोधन गरिरहेका छन्। गत वर्ष जिल्लाका किसानले पालेका गाईमा लम्पी स्किन रोग देखिए पनि हट्नेक्रममा छ। तर, विज्ञहरूले गाईमा देखिएको रोगले दूधमा कुनै असर नगर्ने बताएका थिए।

‘लम्पी स्किनभन्दा पनि भारतबाट आइरहेका दुग्ध उत्पादनले हाम्रो उत्पादनमा सीधा असर पुगेको हो,’ महत भन्छन्, ‘बजारमा देखिएको आर्थिक मन्दीले पनि दूधका उत्पादनको बजारमा प्रत्यक्ष असर गरेको छ।’

सन्दकपुर गाउँपालिकास्थित शेर्पा डेरी उद्योगले उत्पादन गरी काठमाडौंसम्म पुर्‍याएको तीन हजार पाँच सय किलो चिज नबिकेपछि व्यवसायी रिञ्जीफुर्वा शेर्पा चिन्तामा छन्।

‘दुई हजार पाँच सय किलोजति घिउसमेत भण्डारणमै छ,’ उनले भने, ‘सयौं किसानलाई दूधको पैसा तिर्नुपर्छ तर आफ्नो उत्पादन नबिक्दा उद्योग चलाउन धौधौ हुँदैछ।’

शेर्पा डेरीले गत वर्ष तीन करोड ६९ लाख रुपैयाँको चिज र घिउ बेच्दा किसानलाई मात्रै तीन करोड ५३ लाख रुपैयाँ भुक्तानी दिएको थियो। यो वर्ष भने उत्पादन नबिक्दा समस्या परेको उनले बताए।

‘अब उद्योगको उत्पादन बिकेन भने उद्योगमा दिनहुँ जम्मा हुने एक हजार छ सय लिटर हाराहारी दूधको अवस्था के होला ?’ उनले भने, ‘झिनो रूपमा चिज विक्री त हुँदैछ तर यसपालि स्टक धेरै छ।’

जिल्लाका घिउ–छुर्पी व्यापारी मिलन खत्रीले आफूसँग अहिले पनि चार हजार किलोभन्दा बढी घिउ भण्डारणमै रहेको बताए। उनले अन्य केही व्यापारीसँग पनि प्रतिव्यक्ति ५० हजारदेखि ८० हजार किलोसम्म घिउ नबिकेर स्टकमै रहेको बताए।

‘डग च्यु (विदेशमा कुकुरका लागि निर्यात गरिने छुर्पी) उत्पादन गर्न दूध उत्पादन बढी भएकाले पनि घिउ नै धेरै मात्रा हुँदा विक्री नभएको हुनसक्छ,’ उनले भने, ‘उपभोक्तालाई पशुमा देखिएको लम्पी स्किन रोगको डर पनि भयो, चिकित्सकले दूधमा रोगको कुनै असर नहुने बताए पनि उपभोक्ता भने दूधका परिकारमा आकर्षित हुन नसकेका हुन सक्छन्।’

पोहोरसम्म बर्खाभर नबिकेको घिउ दसैंदेखि तिहारसम्ममा सकिएर अभाव नै हुने गरेकामा यो साल बिक्दै नबिकेको खत्रीले बताए। इलाम नगरपालिका–५, बरबोटेको नवरत्न गाईफार्म सञ्चालक गौतम गुरुङ पनि घिउ नबिक्दा समस्यामा परेको सुनाउँछन्।

‘अहिले पनि करिब दुई हजार चार सय किलो घिउ बिक्न सकेको छैन,’ उनले भने, ‘छुर्पी विक्रीमा चाहिँ खासै समस्या छैन।’

जिल्लाको पश्चिमी क्षेत्रका डेरी उद्योगलाई पनि उत्पादनले बजार नपाउँदा समस्या छ। फाकफोकथुम गाउँपालिका–४, फुएतप्पाको थामडाँडा पशुपालन सहकारीको चार सय किलो हाराहारी घिउ नबिक्दा भुक्तानी रोकिएको छ।

सहकारी अध्यक्ष हरिप्रसाद दंगालीले केही महिनायता घिउ नबिक्दा समस्या परेको बताए। सहकारीले दिनहुँ आठ सय लिटर दूध प्रशोधन गरिरहेको छ भने मासिक एक हजार छ सय किलो घिउ र छुर्पी उत्पादन गर्दैछ।

‘घिउ नबिक्नुको कारण चाहिँ बिचौलियाको खेल हो जस्तो शंका लाग्न थालिसकेको छ,’ निवर्तमान वडाध्यक्षसमेत रहेका दंगालीले भने, ‘सरकारले किसानको समस्या बुझेर दुग्ध उत्पादनको बजार व्यवस्थित गर्नुपर्छ।’

दुई दशकयता फाकफोकथुम, माङ्सेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिकामा उत्पादित अधिकांश चिज र घिउ व्यापार गरिरहेका सुजन श्रेष्ठ छ महिनायताको बजार अवस्था अहिलेसम्मकै अनौठो भएको बताउँछन्।

‘म १८ वर्षयता घिउ–छुर्पी र चिज व्यापार गरिरहेको छु तर अहिलेजस्तो मन्दी कहिल्यै आएको थाहा थिएन,’ उनले भने, ‘अहिले घिउ र चिजको बजार शून्य नै छ भने पनि हुन्छ, यो अहिलेसम्मकै जटिल अवस्था हो।’

अरूबेला एकदेखि तीन महिनासम्म दुग्ध परिकारको व्यापारमा मन्दी देखिए पनि पुनः बजार सहज हुने गरेकोमा विगत छ महिना चाहिँ कारोबार नै रोकिएको बताए।

व्यवसायीका अनुसार अहिले कोसी प्रदेशका पहाडी जिल्लामा पाँच लाख किलो घिउ र एक लाख किलोभन्दा बढी चिज नबिकेर भण्डारमै रहेको अनुमान छ। यो वर्ष गत वर्षभन्दा चिज र घिउको उत्पादन नै दोब्बरभन्दा बढी भएको उनीहरूले बताएका छन्। पटक–पटक सरकारको ध्यानाकर्षण गरे पनि समस्या समाधान नभएपछि व्यवसायी आफैं बजारको प्रयास गरिरहेका छन्।

नेपाल डेरी एसोसिएसनका जिल्ला अध्यक्ष लक्ष्मी थापा पोहोरसम्म नेपाली बजारमै खपत भइरहेको चिजसमेत यो वर्ष बिक्न नसकेको बताउँछन्।

‘अब नेपाली बजारमा नेपाली उत्पादनको चिज र घिउ विक्रीको चुनौती ठूलो छ,’ उनले भने, ‘हामी व्यवसायीले भारत र बंगलादेशम पुगेर पनि यसको बजारका लागि पहल गरेका छौं।’

उनले सरकारले बजार प्रवर्द्धनमा सहयोग नगरे चिज र घिउ उत्पादन जटिल अवस्थामा पुग्ने बताए। 

‘अबको विकल्प भनेकै चिज र घिउ विदेश निर्यातको हो,’ थापाले भने, ‘यसमा व्यवसायीको प्रयासले मात्रै सम्भव छैन, सरकारले नसघाए दूध विक्री हुँदैन, किसानसमेतलाई सोझो असर पुग्छ।’ 

प्रकाशित: १३ कार्तिक २०८० ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App