२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

धरान १३ स्थित कृषि उपज बजार स्थलको खसी बजार। तस्बिर : रोहित राई

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ। 

बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्ष २४ करोड हाराहारीमा दसैँमा खसी बोका बिक्री भएको थियो। यसपाली भने २० करोड हाराहारीमा मात्र कारोबार हुने अवस्था देखिएको उनले बताए। ‘मानिसहरूको साथमा पैसा नभएको जस्तो देखियो । क्रय शक्ति नभएपछि किनबेच पनि अपेक्षा गरेजस्तो भएन,’व्यवस्थापक भट्टराईले भने,‘गत वर्ष दसैँको बेला १२ हजार हाराहारी खसी बोका बिक्री भएको थियो । यसपाली १० हजार जति मात्र बिक्री भएको देखिन्छ।’

दसैँको सप्तमीको अघिल्लो २ वा ३ साता बिहीबार र शुक्रवार खसी बजारमा किनमेल हुने गरेको छ।धरानमा पूर्वी पहाडी जिल्ला, तराईबाट पनि खसी बोका बिक्रीको लागि किसान र व्यापारीहरूले लिएर आउने गर्छन्।यसपाली दमक, उर्लाबारी, इटहरा, बोधे, बुदुक तिरका किसान र व्यापारीहरूले पनि खसी बोका बिक्रीको लागि लिएर आएका थिए । ‘अघिल्लो साता नै दाम सस्तो थियो, र त्यही बेला किसानहरू चिन्तित थिए। आज पनि थुप्रै किसान, व्यापारीहरूले गाडी नै फर्काएर लगे,’ शुक्रवारको खसी बजारबारे व्यवस्थापक भट्टराईले भने,‘गतबर्ष ज्युँदो खसी किलोको कम्तीमा ६ सयमा बिक्री भएको थियो, यसपाली साढे ५ सयमा सीमित भयो।’

धनकुटाबाट खसी बोका लिएर आएका कृषक टिकाराम राईले राम्रो मूल्य नपाएको गुनासो गरे।ग्राहक, उपभोक्ताहरूले लागत भन्दा कम मूल्यमा माग्ने गरेको उनको भनाई छ । ‘पोहोर साल भन्दा यसपाली २५÷३० प्रतिशत घाटा खाएर खसी बोका बेच्नुपर्‍यो,’ उनले भने।

गत वर्ष दसैँमा २० वटा खसी बेचेका व्यापारी गोविन्द भण्डारीले यसपाली ४ वटा मात्र बिक्री भएको पीडा सुनाए । ‘बल्ल बल्ल ४ वटा बेचे, बजार त डामाडोल अवस्था छ,’उनले भने। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ आर्थिक मन्दीको असर हरेक क्षेत्रमा देखिएको बताउँछन् । दसैँको कारण बजारमा चहलपहल देखिए पनि किनमेलमा कमी भएकोले व्यापारीहरू मारमा रहेको श्रेष्ठले बताए । ‘आर्थिक मन्दीको असर सबैतिर परेको छ,’उनले भने,‘दसैँको बजारमा चहल पहल भए पनि २०/२५ प्रतिशत पनि विक्री छैन । व्यवसायीहरू पलायन हुने अवस्था छ ।’

प्रकाशित: ३ कार्तिक २०८० १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App