४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

विदेशी विनिमय सञ्चिति १६ खर्ब

चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति ५९ अर्ब रूपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्मको अवधिमा १५ खर्ब ३९ अर्ब रहेको सञ्चिति दुई महिनामा बढेर झण्डै १६ खर्बको हाराहारी पुगेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०÷८१) को दोस्रो महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै मुलुकमा विदेशी विनिमयको सञ्चिति उल्लेख्य मात्रामा बढेको देखाएको छ।

चालु आवको दुई महिनामा विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर १५ खर्ब ९८ अर्ब ९० करोड रूपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार नेपाली रूपैयाँमा मात्रै नभएर अमेरिकी डलरमा पनि विदेशी सञ्चिति बढेको देखाएको छ।

गत आवको असार मसान्तसम्ममा अमेरिकी डलरमा विदेशी सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो।

भदौ मसान्तसम्ममा भने २.६ प्रतिशतले बढेर १२ अर्ब एक करोड अमेरिकी डलर पुगेको छ। चालु आर्थिक वर्षको दुई महिनामा आयात घटेसँगै मुलुकमा विदेशी विनिमयको सञ्चितिमा सुधार आएको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात धान्न सक्ने देखाएको छ। राष्ट्र बैंकको प्रतिवेदनले विदेशी विनिमयको सञ्चितिले १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखाएको छ।

भदौमा घट्यो रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले दुई खर्ब २८ अर्ब ३७ करोड रूपैयाँ रेमिट्यान्स पठाएका छन्। चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स २२.१ प्रतिशतले वृद्धि भएर दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको हो।

राष्ट्र बैंकका अनुसार आव २०७९/८० को दुई महिनामा भने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको थियो। चालु आवको दुई महिनामा अमेरिकी डलरमा पनि रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ।

अमेरिकी डलरमा १७.७ प्रतिशतले वृद्धि भएर एक अर्ब ७३ करोड डलर पुगेको छ। साउन महिनाको तुलनामा भदौ महिनामा भने समग्रमा दुई अर्ब रूपैयाँले रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले एक खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स पठाएका थिए।

शोधनान्तर स्थिति आधा खर्बमाथि

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ। चालु आवको दुई महिनाको अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई .८५ करोड आठ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले घनात्मक रहेको छ।

 अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रूपैयाँले ऋणात्मक रहेको थियो। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ।

मूल्यवृद्धि ८.१९ प्रतिशत

चालु आवको दुई महिनाको अवधिमा मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको छ। यो उपभोक्ता विन्दुको आधारमा भएको मूल्यवृद्धि हो। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७९ भदौमसान्तमा प्रतिब्यारल अमेरिकी डलर ८९.४३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० भदौ मसान्तमा ६.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ९५.५५ कायम भएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ भदौ मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १६६४.६५ रहेकोमा २०८० भदौ मसान्तमा १५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९२७.७० पुगेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App