१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बागलुङ विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

गैरआवासीय नेपालीहरू (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । बागलुङमा जन्मिएर विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका एनआरएनएले जन्मभूमिप्रतिको दायित्वबोध गर्दै लगानीसहित सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा सोमबार राजधानीमा आयोजना गरिएको ‘बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । बागलुङबाट विश्वका विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका छन् । १२ देशका गैरआवासीय नेपाली संघका अध्यक्ष बागलुङे रहेका छन् । एनआरएनएको आसन्न निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवार महेशकुमार श्रेष्ठ र आरके शर्मा बागलुङका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा कमाएको सीप र पुँजी जिल्लाको विकासमा लगाउन आफूले पनि सहकार्य गर्ने बताए । ढकालको गृह जिल्ला पनि बागलुङ हो । एनआरएनएसँग सहकार्य गर्न आफू तयार रहेको बताए । ‘जन्मभूमिको विकासमा काम गर्नु सबैको दायित्व हो,’ ढकालले भने, ‘निजीक्षेत्रका तर्फबाट सहकार्य गर्न तयार छु ।’

कार्यक्रममा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले जिल्लाको विकासमा साझेदारी गर्नु आफ्नो दायित्व भएको बताए । अर्का प्रत्यासी शर्माले जिल्लामा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए ।

कार्यक्रममा बागलुङका सांसद डिल्लिराम सुवेदीले कृषिक्षेत्रलाई व्यावसायीकरण गर्न एनआरएनएले लगानी गर्न सक्ने धारणा राखे । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर रहेको बताए ।

विदेशमा रहेका नेपालीलाई बागलुङको विकासमा साझेदारी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय बागलुङ समाजका कार्यक्रम संयोजक दीपक गौतमले बताए । अन्तर्राष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिनानाथ शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल लगायतले धारणा राखेका थिए । 

प्रकाशित: ३० आश्विन २०८० ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App