९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

सवा अर्बको अदुवा निर्यात

नेपाल गुणस्तरीय अदुवा उत्पादनमा विश्वकै चौथो

नेपाल अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमै उपभोग गर्न धेरै कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ। तर एउटा कृषिजन्य वस्तु अदुवामा भने नेपाल आत्मनिर्भर मात्र भएको छैन, वार्षिक करिब सवा अर्ब रूपैयाँको निर्यातसमेत हुने गरेको छ।

त्यति मात्र होइन, नेपाल अदुवा उत्पादनका लागि विश्वकै पाँच मुलुकको सूचीमा परेको छ। अधिकांश क्षेत्रमा निराशाजनक स्थिति रहेका बेला मुलुकको कृषि क्षेत्रका लागि लागि यो सुखद खबर हो। नेपालमा उत्पादित अदुवा गुणस्तरीय भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको पहुँच विस्तार भएको कृषि क्षेत्रका जानकार बताउँछन्।

नेपाली अदुवा स्वाद र गुणस्तरका हिसाबले उत्कृष्ट रहेको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताइन्। ‘यहाँको अदुवाको प्रोसेसिङ र ग्रेडिङलाई अझै व्यवस्थित गर्ने हो भने अझै बजार विस्तार हुन्छ,’ पण्डितले भनिन्, ‘किसानले उत्पादन बढाएर बजार विस्तार गर्न ठुलो अवसर छ।’ अदुवा पाखोबारी, भिरालो जमिनमा समेत लगाउन सकिन्छ।

अदुवालाई धेरै मेहनत गर्नुनपर्ने, किसानहरूले स्वतःस्फूर्त तरिकाले लगाउँदा पनि उत्पादन राम्रो भएको विभागले जनाएको छ। सन् २०२१/२२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ।

नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ। गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ।

गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो। भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ।

अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो। यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ।

अदुवाको स्वादले तरकारी, मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ। अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने जानकारहरू बताउँछन्।

पछिल्ला वर्षहरूमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीको प्रमुख पाँचभित्र परेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। एफएओका अनुसार भारत, नाइजेरिया, चीनपछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने मुलुकमा नेपाल पर्छ। सन् २०२० मा नेपालमा २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा उत्पादन भएको थियो। अदुवाको मूल्य बजारमा प्रतिकिलो सरदर १४५ रूपैयाँ छ।

अदुवा खेती नगदे बाली भएकाले किसानले राम्रो लाभ लिएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख मेघनाथ तिमल्सिनाले बताए। ‘अदुवाबाट किसानले फाइदा लिएका छन्,’ उनले भने, ‘उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेका छौं।’

कृषि अनुसन्धान केन्द्र (नार्क) ले सल्यान कपुरबोटमा अदुवाको जात, रोग, प्रविधिबारे अध्ययन–अनुसन्धान गरिरहेको छ। नार्कले विभिन्न जात, रोगव्याधिको उपचार, प्रविधिको विकासमा सहयोग पनि गरेको छ। अदुवा खेतीलाई प्रोत्साहन गर्न उत्पादन, प्रशोधनमा सहयोग गर्ने कार्यक्रम प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गरेका छन्। पालिकालाई ससर्त अनुदानका कार्यक्रम दिएको उनले बताए। किसान, कृषक समूह, किसान सहकारीलाई सरकारी निकायले सहयोग गर्दै आएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुनसरी, सुर्खेतलगायत जिल्लामा अदुवा जोन विकास कार्यक्रम रहेको छ।

पूर्वी नेपालका इलाम, झापा, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, नवलपरासी, डोटी, कैलाली, सुर्खेतलगायत जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती हुन्छ।

अन्न फलाउँदै आएको जमिनमा समेत किसानले अदुवा लगाउने गरेका छन्। धान, मकै लगाएर वर्षभरि खान नपुग्ने जमिनमा अदुवा लगाएपछि राम्रो आम्दानी भएको इलामका अदुवा किसान प्रमोद गौतमले बताए।

‘अन्नबाली लगाउँदा खान पुग्दैनथ्यो,’ उनले भने, ‘अदुवा खेतीले ढुक्कसँग खान, घरखर्च धान्न र बालबच्चा पढाउन सकेको छु।’

अदुवाको गानो कुहिने, ढुसीको कारण किसान चिन्तित हुने गरेका छन्। लगाउँदा स्वस्थ्य बिउ लगाउन विज्ञहरूले सुझाव दिएका छन्। वैज्ञानिक वर्गीकरणअनुसार अदुवा ‘जिन्जी विरेसी’ परिवारमा पर्छ। कम रेसा भएको अदुवा राम्रो मानिन्छ। अदुवा नगदे बाली हो। नेपालमा ‘कपुरकोट अदुवा १’ लगायतका जात लगाइन्छ। अदुवा खेती न्यानो तथा ओसिलोपना भएको स्थानमा राम्रो हुन्छ। प्रायः खुला वातावरणमा खेती गरिने भए पनि गर्मी र घाम लाग्ने ठाउँमा छाया पनि आवश्यक पर्छ।

प्रकाशित: २९ आश्विन २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App