२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री महत

कार्यक्रममा सहभागी भएका अर्थमन्त्री महत, काँग्रेसका सह–महामन्त्री फरमुल्लाह मन्सुर र प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ लगायत।

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको बताएका छन्।

जितपुरसिमरा उपमहानगरपालिकाको जितपुरमा आइतबार आयोजना गरिएको संजिवनी वाटिका वृद्धाश्रम भवनको उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले शिथिल रहेको अर्थतन्त्र लयमा फर्किँदै गरेको दाबी गरेका हुन्।

अर्थमन्त्री महतले अर्थतन्त्र शिथिल देखिनुको कारण कोभिड, कर्जा प्रवाह नहुनु, लगानीका प्रतिफल प्राप्त नहुनु, पछिल्लो समयमा व्याजमा वृद्धि हुनु र जग्गाको कारोबारमा मन्दी छाउनु रहेको जिकिर गरे।

पहिला देखि नै अर्थतन्त्रमा थुप्रिएका समस्याहरुलाई बिस्तारै हटाउँदै  गएको कारणले अर्थमा बिस्तारै सुधार देखिन थालेको र अबका दिनमा यो भन्दा पनि बढी सुधार हुने अर्थमन्त्री महतको दाबी थियो।

‘अहिले विदेशबाट आउने पुजी राम्रो अवस्थामा जम्मा भएको छ। जम्मा भएको पुँजीलाई परिचालन गरेर रोजगारी सृजना गर्न सकियो भने त्यसले उत्पादनलाई बढाउनुका साथै कारोबारमा पनि टेवा पुर्‍याउँछ।’ उनले भने।

कारोबार बढे मात्र राजश्व बढ्ने भएकोले देशको अर्थतन्त्र सुधार हुने उनको भनाइ थियो। उनले पर्यटन, हाइड्रो, कृषि, अईटीमा लगानी गरेर अर्थतन्त्रलाई बलियो बनाउन सकिने जिकिर गरे।

‘भिन्न भिन्न बिचार बोकेका पार्टीहरुसँग मिलेर सरकार चलाउनु पर्ने भएकोले काँग्रेसले सोचे जस्तो काम गर्न सकेको छैन। धेरै दातृ राष्ट्रहरुसँग अनुदान रकम बढाउन छलफल गरिएको छ र उनीहरु लगानी बढाउन सहमत भएकोले पहिला भन्दा बढी दातृ राष्ट्रबाट लगानी आउने अपेक्षा गरिएको छ।’ अर्थमन्त्री महतले भने।

पहिला सबै बजेट रकमलाई केन्द्रले नै चलाउने गरेको र अहिले आएर प्रदेश, स्थानीय तहहरुलाई समेत बजेट दिनु पर्ने भएकोले संघिय सरकारले पहिला जस्तो योजना र कार्यक्रम सञ्चालन गर्न नसकेको महतले बताए।

वीरगन्ज –पथलैया औद्योगिक करिडोरलाई व्यवस्थित गर्न सरकार लागेको बताउँदै औद्योगिक क्षेत्रमा लगानी गर्न उद्योग व्यवसायीहरुलाई महतले आग्रह गरेका छन्। बन्द रहेको चिनी मिल र कृषि औजार कारखाना र कपडा उद्योग सन्चालन गर्न सरकार तयारी गरेको उनले बताए।

उनले कृषि औजार कारखाना सञ्चालन गर्नको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको र केन्द्रमा काम चलिरहेको उल्लेख गरे।

अर्थमन्त्री महतले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता रहेको औँल्याए। पहिला विमानस्थलसँगै बस्तीको विकास गर्ने भनिएकोले विमानस्थल निर्माणमा ढिलाइ भएको र अब यसलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्न उनको भनाइ थियो। 

उखु किसानहरुलाई सरकारले दिने अनुदानमा कुनै कटौती नगरिएकोले उखु किसानहरुले छिटै सरकारबाट पाउने अनुदान रकम पाउने आश्वासन समेत महतले दिए।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले बाराका उखु किसानहरुले राज्यबाट पाउने करोडौँ अनुदान रकम नपाएको र यस क्षेत्रबाट उठ्ने राजश्वको तुलनामा राज्यबाट लगानी नगरिएको गुनासो गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री तथा संजिवनी वाटिका वृद्धाश्रमका संस्थापक अध्यक्ष फरमुल्लाह मन्सुरले संविधान सभा सदस्यहरुको सहयोगमा संजिवनी वाटिका वृद्धाश्रमलाई स्थापना गरिएको बताए।

प्रकाशित: १४ आश्विन २०८० १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App