झन्डै शतप्रतिशत ‘रिकभर’ हुनेगरि यो सेप्टेम्बरमा नेपालमा विदेशी पर्यटकको आगमन भएको छ। सेप्टेम्बरमा मात्र नेपालमा सबैगरि ९१ हजार १२ जना विदेशी पर्यटक भित्रिएका छन्। ती सबै हवाईजहाज मार्फत भित्रिएका यात्रु हुन्।
पर्यटन बोर्डका अनुसार यसअघि सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ को सेप्टेम्बरको तुलनामा यो सेप्टेम्बरमा पर्यटक आगमनमा ९८ प्रतिशत रिकभर भएको छ। सन् २०१९ को सेप्टेम्बरमा नेपालमा सबैगरि ९२ हजार ६ सय ४ जना विदेशी पर्यटक भित्रिएका थिए।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपालमा यो वर्षको नौ महिना (जनवरी–सेप्टेम्बर) अवधिमा नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ६ लाख ९२ हजार ३ सय ७२ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ‘२०१९ को सेप्टेम्बरको तुलनामा यो सेप्टेम्बरमा विदेशी पर्यटक आगमनमा झन्डै ९८ प्रतिशत सुधार भएको छ, यो सन्तोषजनक आगमन हो,’ लामिछानेले भने।
सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, नौ महिना अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या करिब ७ लाख पुगेको छ। अबका तीनमहिनामा तीन लाख पर्यटक भित्रिए मात्र सरकारी लक्ष्य पुरा हुन्छ।
‘कोरोना भाइरस संक्रमणका निकै नै तल ओर्लेको पर्यटक आगमनमा झन्डै शतप्रतिशत सुधार भएको छ। यो वृद्धिदर राम्रो हो,’ लामिछानेले भने, ‘पर्यटक आगमन बढ्ने सिजन पनि हो। अबका तीन महिना पनि आगमन पक्कै बढ्नेछ। पदयात्राको समय भएकोले आगमनमा पनि सुधार हुनेछ।’ सरकारी लक्ष्य पुरा गर्न खासै गाह्रो नहुने लामिछानेले बताए।
बोर्डका अनुसार कोरोना भाइरस संक्रमणले थलिएको बेला नेपालमा विदेशी पाहुनाको आगमन निकै नै खस्केको थियो। सन् २०२० को सेप्टेम्बरको आगमन संख्या जम्मा ५ सय ८४ थियो । त्यो आगमन बढेर २०२१ को सेम्टेम्बरमा ९ हजार ९ सय ७ मा उक्लेको थियो। सन् २०२२ को सेप्टेम्बरमा झनै सुधार भएर ५८ हजार ३ सय १४ जना विदेशी नेपाल आएका थिए। यो वर्षको आगमन त झन्डै २०१९ कै हाराहारीमा पुगेको लामिछानेले बताए
अहिले हवाई कनेक्टिभिटी बढिरहेको पनि आगामी महिनाको आगमन पनि राम्रो हुने उनले बताए। ‘पदयात्राको सिजन भएकोले पदयात्रा पर्यटकको आगमन बढ्नेछ। त्यसबाहेक हवाई कनेक्टिभिटी पनि बढिरहेकोले पाहुना भित्रिने अनुमान हो। त्यसो भएमा सरकारी लक्ष्य पुरा हुनेछ,’ उनले भने।
हवाई माध्यममार्फत नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या तथ्यांकमा बढेको देखिए पनि पर्यटन व्यवसायी भने उत्तिसारो खुसी छैनन्। अझ पोखराका पर्यटन व्यवसायी त झनै चिन्तित छन्। सिजनको आगमन पनि निकै नै कमजोर रहेको उनीहरुको भनाई छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘नेपालमा पर्यटक भित्रिएका छन्। कोभिडको समयमा भन्दा व्यापक सुधार भएको पक्का हो । तर, पोखराको पहुँचमा समस्या भएकोले पोखराले पाहुना मिस गरिरहेको हो। पोखरासम्मको यात्रा सकसपूर्ण हुँदा अहिले पाहुना आउन चाहेनन्।’
अहिले पोखरासम्म आउने मुख्य स्थल मार्ग पृथ्वी राजमार्ग मर्मत सम्भारको क्रममा छ। जसले गर्दा यात्रा झन्झटपूर्ण हुने गरेको छ। गत माघमा भएको हवाई दुर्घटनाले पनि हवाई यात्राप्रति सकारात्मक सन्देश प्रवाह नहुँदा पोखराको पर्यटनमा मार परेको उनले बताए। बोर्डका निर्देशक लामिछानेले पनि स्थल मार्गको समस्याले पोखरालाई यो वर्ष केही असर परेको बताउँछन्। तर, हवाई यात्रा पहिलेको तुलनामा अहिले सहज हुँदा पाहुना पोखरामा नबसेको हुनसक्ने उनले बताए।
‘अहिले पोखराका लागि एकाबिहानै काठमाडौंबाट उडान हुन्छ। त्यसपछि रात्रि उडान पनि हुने भएपछि पर्यटकहरु बिहानै पोखरा ओर्लेर गन्तव्यतिर जान्छन्। अनि पदयात्राबाट फर्केर राती नै काठमाडौं आउने भएकोले पोखराले अभाव खेपेको हुनसक्छ,’ उनले भने, ‘नत्र पाहुनाको आगमन बढिरहेको छ। तथ्यांकले पनि आगमन बढेको देखाउँछ।’
नेपाल भित्रिएका मध्ये सबैभन्दा बढी पाहुना भारतीय छन्। बोर्डका अनुसार सेप्टेम्बरमा सबैगरि २८ हजार ६ सय ९४ जना भारतीय भित्रिएका छन्। त्यसपछि चिनियाँको आकार ठुलो छ । सेप्टेम्बरमा ८ हजार १ सय ७४ पुगेको छ। कोभिड संक्रमणपछि भित्रिएका चिनियाँको आकार यो नै सबैभन्दा बढी हो। नेपाल भित्रिएका अमेरिकीको संख्या ७ हजार ३ सय ६४ पुगेको छ। चौथो नम्बरमा रहेको बंगलादेशको आकार ३ हजार ७ सय १६ रहेको छ। ‘परम्परागत भन्दा फरक बजारको पाहुनाको आगमनले गति लिँदै गएको छ, पर्यटनका लागि खुसीको कुरा हो,’ बोर्डका निर्देशक लामिछानेले भने।
चिनियाँ पाहुनको अपेक्षा व्यवसायीले धेरै गरेको र त्यो आगमन पनि बिस्तारै उकालो लागेको उनले बताए। ‘भारतको परम्परागत बजार हो। तर, अहिले बंगलादेश, अस्ट्रेलिया लगायतबाट आगमन बढेको छ, नयाँ भन्दा परम्परागत भन्दा नयाँ बजारको उपस्थिति देखियो,’ उनले भने।
प्रकाशित: १४ आश्विन २०८० ०९:४१ आइतबार





