६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशी मुद्रा आर्जन गर्ने संस्था तथा व्यक्ति सम्मानित

विश्व पर्यटन दिवस-२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। यो ४४ औं पर्यटन दिवस हो। नेपालले भने ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा तय गरेको थियो। नेपाल विश्व पर्यटन संगठनको सदस्य राष्ट्र हो।

दिवसका अवसरमा पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सबैभन्दा बढी विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही र पर्यटनक्षेत्रमा विविध ढंगले योगदान गर्ने संस्थालाई आठ विधा छुट्याई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा पर्वतारोहीहरूतर्फ तेन्जेन शेर्पा र क्रिस्टिन हरिला रहेका छन्। उनीहरूलाई विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू ९२ दिनमा आरोहण गरी कीर्तिमान कायम गरेकोमा सरकारले सम्मान गरेको हो।

सरकारले एयरलाइन्स कम्पनीमा वायुसेवा निगमलाई सम्मान गरेको छ। निगमले २०२२ अगष्टदेखि २०२३ अगष्टसम्म  आठ करोड ४५ लाख नौ हजार अमेरिकी डलर विदेशी मुद्रा आर्जन गरेको थियो।

यस्तै होटल तथा रिसोर्टअन्तर्गत एभरेष्ट हस्पिटालिटी एण्ड रिसोर्टलाई सम्मान गरिएको छ। एभरेष्ट हस्पिटालिटी एण्ड रिसोर्टले २०२२ अगस्ट १ देखि २०२३ मसान्तसम्म ५० लाख ४१ हजार अमेरिकी डलर विदेशी मुद्रा आर्जन गर्न सफल भएको थियो।

पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट ट्रेकिङ कम्पनीलाई सम्मान गरिएको छ। कम्पनीले २०२२ अगस्टदेखि २०२३ अगष्टसम्म ४३ लाख २२ हजार अमेरिकी डलर आर्जन गरेको थियो।

ट्राभल तथा टुर्सतर्फ सीता वल्र्ड ट्राभल नेपाल सम्मानित भएको छ। सीता ट्राभलले २०२२ अगस्टदेखि २३ अगस्टसम्ममा ३३ लाख  ६१ हजार अमेरिकी डलर आर्जन गरेको हुँदा सम्मान गरिएको हो।

यसै क्रममा मन्त्रालयले साहसिक खेलतर्फ पोखरा अल्ट्रा लाइटलाई सम्मान गरेको छ। २०२२ अगस्टदेखि २३ अगस्टसम्ममा पोखरा अल्ट्रा लाइटले ४४ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएको थियो।

यस्तै मन्त्रालयद्वारा होटल तथा रिसोर्टमा कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टलाई सम्मान गरेको छ। रिसोर्टले २२ बिगाहमा कृषि फार्म र तीन बिगाहमा रिसोर्ट सञ्चालन गर्दै स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरापालन गरी एग्रो टुरिजमलाई समेत विकास गर्न प्रोत्साहित गरेको हुँदा सम्मान गरेको हो।

होमस्टे अन्तर्गत सरकारले नवलपरासीको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेलाई सम्मान गरेको छ। संस्कृति संरक्षण, पर्यापर्यटन ग्रामीण पर्यटन प्रवद्र्धन गर्न योगदान गरेको भनेर सो होमस्टेलाई सम्मान गरिएको हो।

अघिल्ला वर्षहरूमा ठमेलबाट प्रभातफेरि गरी पर्यटन बोर्डमा औपचारिक कार्यक्रम गर्ने गरिएको थियो तर यस वर्ष मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा पाटनमा विश्व पर्यटन दिवस मनाएको छ।

पर्यटन प्रवद्र्धन, विकास तथा विस्तारका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन प्रहरीलगायत नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, होटल एसोसियसन नेपाल, ट्रेकिङ एसोसियसन अफ नेपाल,  नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले काम गर्दै आएका छन्।

विश्व बैंकका अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६.७ प्रतिशत टेवा पुर्‍याएको छ। यस्तै मुलुकको कुल रोजगारीको ६.७ प्रतिशत हिस्सा ओगटेको छ। जसमा ८० प्रतिशत रोजगारी भने दुर्गम तथा स्रोतसाधन सीमित क्षेत्रमा रहेका छन्।

पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गरी गरिबी निवारणमासमेत सहयोग पुर्‍याउँदै आएको छ। पर्यटन क्षेत्रको लागि सरकारले आव २०८०/८१ मा ११ अर्ब ९६ करोड रूपैयाँ विनियोजन गरेको छ। सरकारले गत आव २०७९/८० मा नौ अर्ब ३८ करोड रूपैयाँ छुट्याएको थियो।

प्रकाशित: ११ आश्विन २०८० ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App