१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चाँडबाँड सुरु भएपछि पोखरामा बजार अनुगमन

म्याद गुज्रिएको सामान बेच्ने स्टोर्सलाई जरिवाना

पोखरा बजार

चाँडबाँड नजिकिँदै गर्दा पोखराको बजार अनुगमन सुरु गरिएको छ। अनुगमन गर्ने क्रममा केही व्यवसायीले  म्याद गुज्रिएको सामान विक्री वितरण गरेको भन्दै जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा बनेको बजार अनुगमन समितिले केही दिन यता अनुगमन गर्दै आएको छ।

बजारका केही पसललाई म्याद गुज्रिएको अखाद्य बस्तु विक्री वितरण गरेको भन्दै जरिवानासहित कारबाही गरिएको हो। अनुगमन समितिले अनुगमन गर्ने क्रममा मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। स्टोर्सले म्याद गुज्रिएका सामानको विक्री वितरण गरी उपभोक्ता ठगी गरेको भन्दै समितिले जरिवाना तोकेको हो। स्टोर्सबाटै तेलमा लेबलिङ नभएको सामान समेत अनुगमन समितिले फेला पारेको थियो। त्यस्ता बस्तुलाई समितिले नष्ट गरेको थियो।

‘चाँडवाँड नजिकिँदै गर्दा बढी खाद्य बस्तु खपत हुने गर्छ। बढी खपत हुने हुँदा व्यापारीले पुराना स्टक सामान पनि बिक्रीमा राख्छन्। उपभोक्ताले पनि म्याद नहेरी खरिद गर्ने गरेका छन्’ अनुगमन समितिका सदस्य एवं पोखरा महानगरपालिकाका सहकारी शाखा अधिकृत ऋषिराम सापकोटाले भने, ‘केही पसल दर्ताविहीन चलाएको पाइयो। दर्ताविहीन पसलले सामान बेचिरहेका छन्।’ पसलले म्याद गुज्रिएका सामानको ‘एक्सपायर जोन’ बनाएर राख्नुपर्ने भएपनि त्यसमा गम्भीरता नदेखाएको भनाई उनको थियो।

‘म्याद गुज्रिएका सामानको छुट्टै ठाउँ बनाएर राख्नुपर्ने थियो, पसलहरुमा त्यो देखिएन,’ उनले भने, ‘उपभोक्ताले पनि खरिद गर्दा सामानको म्याद नहेरी किन्ने गरेका छन्।’ उनका अनुसार पसल र उपभोक्ता दुवैमा चेतनाको कमी देखिएको छ।  पोखरा उद्योग वाणिज्य संघले चाडवाडकै बेलामा उपभोक्तासँग बढी मूल्य लिई सामान विक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ। संघले कानुनले तोकेभन्दा बढी मुनाफा लिन नहुने समेत व्यवसायीसँग आग्रह गरेको छ।

‘चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरुको बिक्री–वितरणको व्यवस्था मिलाउनको लागि उद्योगी–व्यवसायीहरुलाई संघले अनुरोध गर्दै आएको छ,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘तर चाडवाडकै बेला बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित गर्ने काम गर्नुहदैन्।’ एक सय रुपैयाँ पर्ने सामानलाई एक सय रुपैयाँ नै नाफा लिएर विक्री नगर्न व्यवसायीसँग उनको आग्रह थियो।

संघका महासचिव बलराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुनले तोके भन्दा बढी मुनाफा नलिन, उपभोक्ता अधिकारप्रति सचेत रहन आग्रह गर्दै  म्याद गुज्रेका सामानखरिद–बिक्री नगर्न पनि आग्रह गरिएको छ। यद्यपि बजार अनुगमनको क्रममा केही पसलबाट म्याद गुज्रिएको अखाद्य बस्तु विक्री वितरण गरिएको जनाउँदै बजार अनुगमन समितिले जरिवाना सहित कारबाही समेत गरेको छ।  अनुगमनको क्रममा कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन समितिले निर्देशन दिएको छ।

प्रकाशित: ९ आश्विन २०८० १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App