२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चीनियाँ लगानी कर्ताले भनेः नेपालको पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार छौं

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई सरकार र निजी क्षेत्रले आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल चीन बिजनेस समिट’मा प्रधानमन्त्री दाहालसहित निजीक्षेत्रका अगुवाले यस्तो आग्रह गरेका हुन्।

प्रधानमन्त्री दाहालले नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फकोे निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजीक्षेत्रले सहकार्य हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले नेपालमा अझै पनि धेरैक्षेत्र लगानीका लागि आकर्षक रहेकाले लगानी गर्न आग्रह गरे। ‘नेपालमा लगानीको वातावरण सुधार हुँदै गैरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र चीनको परम्परागत सम्बन्ध रहेकाले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव हुन्छ।’

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजीक्षेत्रको सहकार्य सहकार्य विना समृद्ध नहुने बताए। ‘निजीक्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैं तत्पर रहेको छ,’ प्रधानमन्त्री दाहालले भने। प्रधानमन्त्री दाहालले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना गरे। चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए। नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने धारणा राखे।

सिसिपिआइटीको मुख्यालय बेइजिङमा आइतबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए। ‘चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाउने मुलुक हो,’ उनले भने, ‘नेपालमा पर्यटन र कृषिक्षेत्रमा सहकार्य गर्न तयार छौं।’ उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा बिस्तार गर्न प्रोत्साहित गर्ने बताए।  

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले चिनियाँ लगानीकर्तालाई लगानी गर्न आग्रह गरे। ‘नेपाल सुरक्षित लगानी गन्तव्य हो,’ अध्यक्ष ढकालले भने, ‘जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त लगानी सम्भावना छ।’

नेपालमा लगानीका लागि पर्यटन प्रवर्द्धन र निर्यात बिस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए। नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।  

पछिल्लो समय पर्यटन पूर्वाधारहरू केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना रहेको बताए। विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले जानकारी दिए। अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताए।  

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा टेवा पुग्ने धारणा राखे। सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास रहेको बताए।  

महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलकक्षेत्र तथा सेवाक्षेत्रमा रहेका सम्भावनाबारे जानकारी गराएका थिए।

समिटमा एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रहेको थियो। 

समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता थियो। उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ। छलफलमा अध्यक्ष ढकालसहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठको सहभागिता थियो। 

यसैगरी महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, महासंघ कार्यसमिति सदस्यहरू मनोज पौडेल, हरि कार्की र शोभा ज्ञवालीको पनि कार्यक्रममा सहभागिता थियो। समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी बिस्तारको समझदारी गरेको छ। यसैगरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ।  

महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो। यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो।

प्रकाशित: ८ आश्विन २०८० ००:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App