३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोसीमा २० करोड लगानी प्रतिबद्धता

कोसी प्रदेशका कृषिजन्य उद्योगहरूमा २० करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, आध्यान्त फण्ड म्यानेजमेन्ट प्रालिले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विराटनगरमा आयोजना गरेको लगानीकर्ता सम्मेलनमा सहभागी लगानीकर्ताहरूले २० करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता  जनाएका हुन्।

बिहीबार विराटनगरमा आयोजित सम्मेलनमा कोसी प्रदेशका विभिन्न आठ वटा कृषिजन्य उद्योगका प्रतिनिधिहरूले आफ्ना, उत्पादनहरू, बजार बिस्तारका संभावनाहरूका विषयमा प्रस्तुति गरेका थिए।

कार्यक्रममा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक मनोज पौडेलले लगानीकर्ता सम्मेलनमा कोसी प्रदेशका कृषिजन्य उद्योगहरूमा २० करोड रूपैयाँ बढी लगानीको प्रतिबद्धता आएको जानकारी दिए। उनले आध्यान्त फण्डले आध्यान्त एक्सिलेटर कार्यक्रम मार्फत कोसी प्रदेशमा कृषिजन्य वस्तुको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा सहयोग गरिरहेको बताए।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेशमा लगानी प्रबद्र्धनका लागि नीति नियम, कानुन निर्माण गर्न कोसी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले कोसी प्रदेशमा कृषि र पर्यटन क्षेत्र लगानी र रोजगारीको पर्याप्त संभावना भएको क्षेत्र रहेको बताए।

कृषि र पर्यटनको विकासबाट मात्रै कोसी प्रदेशमा समृद्धिको बाटो खोल्न सकिने धरणा राखे। मृख्यमन्त्री कार्कीले बाटो र पुल, पुलेसा निर्माणलाई मात्रै विकास मान्ने धारणा परिवर्तन गरी उत्पादनमूलक र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानीलाई केन्द्रित गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले क्षमता अनुसारको काम गर्ने वातावरण नहुँदा नेपाली युवाहरू विदेसिइरहेको बताए। उनले विदेश पलायन रोक्न नेपालमै युवाहरूलाई अवसर प्रदान गर्नु आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, सहजका टिम लिडर रिमा श्रेष्ठ, कोसी प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइराला लगायतले कोसी प्रदेशका संभावना र लगानीका क्षेत्रहरूका विषयमा धारणा राखेका थिए। 

प्रकाशित: ७ आश्विन २०८० ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App