१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘फेवाताल क्षेत्रमा मात्र पर्यटन केन्द्रीत नगरौं’

पोखराको पृथ्वी चोक क्षेत्रका होटल व्यवसायीले फेवाताल आसपास (लेकसाइड)लाई मात्र पर्यटकीय क्षेत्रको रुपमा राज्यले बुझेको गुनासो गरेका छन्। पोखराको बजार क्षेत्र पर्यटनको हब होइन भनेर गलत प्रचार गर्ने गरिएको उनीहरुको भनाई छ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरेले पोखराको बजार क्षेत्रलाई पर्यटनको हब होइन भनेर दुष्प्रचार गरिएको गुनासो गरे। पृथ्वी होटल व्यवसायी समितिको एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘पर्यटनको ठेकेदार भनौदाहरुले पोखरा बजार क्षेत्रलाई पर्यटनको हब होइन भनेर दुष्प्रचार गरेका छन्।’ पर्यटनको राजधानी भएर पनि पोखराको बजार क्षेत्र उपेक्षित हुनु र त्यसमाथि पनि पर्यटनको हब होइन भन्दै पर्यटन क्षेत्रकै अगुवाहरूले दुष्प्रचार गर्नु विडम्बना भएको उनले टिप्पणी गरे।

अध्यक्ष निउरेले फेवाताल क्षेत्रको लेकसाईडलाई मात्रै पर्यटन क्षेत्र मान्नेहरुले अन्य ठाउँमा पर्यटनको विकास हुन नदिने प्रयास गरिरहेको आरोप लगाए। ‘फेवा–लेकसाईड मात्रै पर्यटन क्षेत्र होइन,’ उनले भने, ‘फेवा–लेकसाईड पोखरा र देशकै गहना हो। तर पर्यटनलाई फेवा लेकसाईडमा मात्रै केन्द्रित गर्नुहुँदैन। पोखराको बजार क्षेत्रसँगै समग्र गण्डकीमै पर्यटनको विकास र बिस्तार गर्नुपर्छ।’ यसो गरेमा मात्रै पर्यटनको विकाससँगै सबैको हित हुने उनको भनाई थियो।

उनले पर्यटन ऐन परिमार्जन गरेर घरबाट कोही खर्च गर्नेगरी बाहिर यात्रामा निस्कन्छ, खान्छ र बस्छ भने त्यो पर्यटक हुने गरी परिभाषित गरिनुपर्नेमा जोड दिए। उनले अहिले पछिल्लो क्रममा वातावरणीय अध्ययन प्रतिवेदनको नाममा वातावरणीय मूल्यांकन अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएर पर्यटन क्षेत्रलाई दुःख दिने र झन्झटिलो बनाउने प्रयास भइरहेको भन्दै सो प्रावधान हटाउनुपर्ने बताए।

कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले पर्यटकीय सेवा प्रदान गर्ने निकायहरुको सेवा र पर्यटकको आतिथ्यतामा मौलिकता झल्कनुपर्ने बताए। उनले मौलिक पहिचान कायम गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे। उनले भने ‘पर्यटकलाई सेवा प्रदान गर्दा व्यवसायीहरुले आफ्नो मौलिकतालाई प्रस्तुत गर्न सक्नुपर्दछ। पर्यटकको सेवा र सुरक्षाको सुनिश्चितता भएमा यस क्षेत्रको विकासले फड्को मार्न सक्दछ।’

प्रमुख पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि पृथ्वी होटल व्यवसायी समिति लगायतका सबै संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न बोर्ड तयार रहेको स्पष्ट पारे।  होटल व्यवसायी महासंघ नेपालको वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले समयानुकूल पर्यटन ऐन ल्याउन सक्दा मात्र होटल व्यवसाय सहित पर्यटन क्षेत्रको विकास हुने बताए। गण्डकी प्रदेश होटल एसोसिएसनका अध्यक्ष अर्जुन चोखालले व्यवसायीको हित हुने गरी सरकारी निकायहरुले नीति तथा योजना बनाउन माग गरे।

समितिको अध्यक्षमा घिमिरे

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा अम्बिका घिमिरे (अमृत) चयन भएका छन्। समितिको एघारौँ साधारण सभा तथा छैटौँ अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजु सुनार, महासचिवमा ईन्दुदेवी श्रेष्ठ, सचिवमा ऋषिराम पौडेल र कोषाध्यक्षमा रमेश लामिछाने तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भए। यसैगरी सदस्यहरुमा डोलराज डुम्रे, विदुर ढुंगाना, प्रदीप पौडेल, रेशम खत्री, मित्रलाल ढकाल, गोविन्द मजरकट्टेल, अनुप पाण्डे, नारायण अधिकारी, शोभाकान्त शर्मा र कञ्चन बराल शर्मा चयन भएका छन्।

प्रकाशित: ६ आश्विन २०८० १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App