१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

तरकारी खेतीमा रमाएका बुवाछोरा।

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।

‘छोराहरूले विदेशी भूमिमा कति बस्नु, आफ्नै गाउँ-ठाउँमा केही गरौं भनेपछि सुरुमा म फर्केर तरकारी खेती सुरु गरें,’ उनले भने, ‘पछि छोराहरू पनि फर्किए र अहिले व्यावसायिक तरकारी खेतीसँगै पशुपालनमा पनि लागेका छौं।’

जेठो छोरा वीरबहादुरलाई बारी बनाउन, बिरुवा लगाउन, तरकारी संकलन गर्न भ्याइनभ्याइ हुन्छ। उनलाई बुबा दलबहादुरले सघाउँछन्। अर्का छोरा गोविन्दले बारीमा फलेको तरकारी बजारसम्म पुर्‍याउँछन्।

तीनै जना बाबुछोरा मिलेर व्यावसायिक तरकारी खेती गर्छन्। तीनै जनाले आआफूले गर्नुपर्ने काम बाँडेका छन्। बुबा दलबहादुरले पशुपालनको जिम्मेवारी लिएका छन्। बचेको समय जेठो छोरालाई तरकारी खेतीमा सघाउँछन्। उनीहरूले ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भयो।

दलबहादुर र उनका दुबै छोरा वैदेशिक रोजगारीमा गएर फर्किएका हुन्। वैदेशिक रोजगारीबाट फर्किएपछि उनीहरू फेरि विदेश गएनन्। विदेशमा कमाएको पैसाले जग्गा जमिन जोडेर गाउँमै मिलेर तरकारी खेती सुरु गरे।

२०६९ सालमा दलबहादुर विदेश गएका थिए। उनी त्यसअघि गाउँमै गाडा चलाउँथे। भेरी नदीमा पुल नहुँदा भेरीपारिको गाउँमा गाडी थिएनन्। झन्डै १० वर्ष गाडा चलाएका उनले राम्रै आम्दानी गरिरहेका थिए। गाउँमा गाडी चल्न थालेपछि उनको व्यवसाय ओरालो लाग्यो।  त्यही बेला उनले गाउँमा १० कट्ठा जमिन जोडेका थिए।

जग्गा किन्न लिएको ऋण गाडा चलाएर तिर्न नसकिने अवस्था भएपछि उनले विदेश जाने निर्णय गरे। वैदेशिक रोजगारीमा कमाएको पैसाले जग्गाको ऋण तिर्नुका साथै दुई छोरालाई मलेसिया पठाए। ‘महिनामा ५० हजार बढी कमाइ हुन्थ्यो, त्यसले ऋण तिरेर पनि दुईटा छोरालाई विदेश पठाएँ,’ उनले भने, ‘छोराहरूले धेरै अर्काको भूमिमा पसिना नबगाऔं भनेपछि पालैपालो स्वदेश फर्किने निर्णय गर्‍यौं।’

दलबहादुर फर्केर पुनः तरकारी खेती सुरु गरे। सुुरुमा तरकारी खेतीका लागि दुःख धेरै थियो। सिँचाइको अभाव थियो। बजार पनि पाइन्नथ्यो। विदेशबाट छोराहरूले कमाएर पठाएको रकमबाट उनले पानी ट्यांकी बनाए । सिँचाइका लागि मोटर किने।

‘विदेशबाट छोराहरूले कमाएको पैसा पनि यही तरकारी खेतीमै लगानी गर्‍यौं, सिँचाइ प्रविधि, जग्गा खरिद गर्ने जस्ता काममा लगानी भयो,’ उनले भने, ‘विदेशबाट छोराहरूले कमाएको र यहाँ तरकारीबाट कमाएको पैसाले फेरि १० कट्ठा जमीन तरकारी खेती गर्नकै लागि जोड्यौं।’

 पछिल्लो पटक किनेको जग्गा भने उनीहरूले प्रतिकट्ठा तीन लाख रूपैयाँमा किनेका हुन्। अहिले उनीहरूको आफ्नै दुई बिघाभन्दा बढी जमिन छ। उनीहरूले मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्। ‘हामीले सबै प्रकारका तरकारी फलाउँछौं,’ उनले भने, ‘सिजनमा दैनिक सात क्विन्टल तरकारी बजारमा पठाउने गरेका छौं।’

उनीहरूले उत्पादन गरेको तरकारी पूर्वी सुर्खेतका जहरे, छिन्चु, मेहलकुना, बोटेचौर लगायतमा बिक्री हुन्छ।

दलबहादुर विदेशबाट फर्किएर तरकारी खेती थालेको दुई वर्षपछि २०७४ मा कान्छा छोरा गोविन्द वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हाम्रो योजना नै विदेशबाट फर्किएपछि परिवारकै सिप र लगानीले व्यावसायिक तरकारी खेती गर्ने थियो, बुवाले सुरु गर्नुभएको खेतीबाट भएको आम्दानी देखेर फेरि फर्किन मन लागेन,’ गोविन्दले भने, ‘विदेशमा १८ घण्टासम्म अरूको काम गर्दा भएको आम्दानीको तुलनामा यहाँ खेतीबाट भएको आम्दानीले आनन्दको महसुस भएको छ।’

तीन बाबुछोराले गरेको तरकारी खेतीबाट मासिक एक लाख रूपैयाँ चोखो आम्दानी हुने गरेको दलबहादुरले बताए।

‘महिनामा कम्तिमा पनि एक लाख रूपैयाँ खर्च कटाएर आम्दानी हुन्छ, यही आम्दानी देखेर छोराहरू पनि विदेश जान खोज्दैनन्,’ उनले भने, ‘आफ्नै बारीमा व्यावसायिक खेती गरेदेखि मलाई पनि आनन्द लागेको छ।’

खेती सुरु गर्दा उनीहरूसँग जमिन र प्रविधि दुवैको अभाव थियो। तरकारीबाटै भएको आम्दानीले तरकारी ढुवानीका लागि दुईटा मोटरसाइकल, एउटा तीन पाङ्ग्रे गाडी किनेको उनले बताए।

जमिन किनेको आधा पैसा पनि तरकारीबाटै आएको कमाइ भएको दलबहादुरले बताए। कान्छो छोरा वीरबहादुर तीन बाबुछोरामध्ये सबैभन्दा पछाडि वैदेशिक रोजगारीबाट फर्किएका हुन्। वैदेशिक रोजगारबाट तीनै बाबुछोरा फर्किएपछि भने उनीहरूको तरकारी खेती अझ व्यावसायिक बन्यो।

प्रकाशित: २४ भाद्र २०८० ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App