९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

साउनमा लक्ष्य अनुसारको राजश्व उठ्न सकेन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा लक्ष्य अनुसारको राजश्व उठाउन नसकेको बताएको छ।

चालु आवको पहिलो साउन महिनामा ८१ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५६ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको हो।  

साउन महिनामा विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै सङ्कलन गरेको छ।  

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण नेपालमा हुने आयात र नेपालबाट अन्य देशमा हुने निर्यात दुवै खस्किँदा विराटनगर भन्सार कार्यालयको राजश्व सङ्कलन पनि प्रभावित भएको हो।  

विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष ०७९र८० को साउन महिनामा भन्दा पनि कम राजश्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सारले २ अर्ब ९५ करोड १४ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो। गत वर्षको भन्दा चालु आर्थिक वर्षको साउन महिनामा १० करोड रुपैयाँ कम राजश्व सङ्कलन गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।  

लक्ष्य र राजश्व सङ्कलनबीचको फरक धेरै भएपछि विराटनगर भन्सार कर्यालयलाई यो वर्ष राजश्व सङ्कलनको लक्ष्य घटाइएको थियो। गत आर्थिक वर्ष ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य तोकिएकोमा यो वर्ष घटाएर ३ अर्ब ४९ करोड ७६ लाखमा झारिएको थियो।  

आयात निर्यात दुवै घट्यो  

चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ बराबरका बस्तुहरू विराटनगर नाकाबाट आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको साउन महिनामा विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड ४४ लाख रुपैयाँका वस्तुहरू आयात भएका थिए। गत वर्षको तुलनामा यो वर्ष आयातमा करिब १ अर्ब रुपैयाँ घटेको छ।  

यता निर्यात तर्फ भने धेरै नै सङकुचन आएको छ। चालु आर्थिक वर्षको साउनमा विराटनगर भन्सारबाट २ अर्ब ६९ करोड १० लाख रुपैयाँका वस्तुहरू निर्यात भएका छन्। गत आर्थिक वर्षको साउन महिनामा ४ अर्ब ८० करोड १२ लाख रुपैयाँका वस्तुहरू निर्यात भएका थिए।  

विराटनगर नाकाबाट हुने निर्यातमा २ अर्ब रुपैयाँभन्दा बढीको गिरावट आउँदा समग्र व्यापार पनि घटेको छ। गतवर्ष साउन महिनामा विराटनगर नाकाबाट कुल २१ अर्ब १५ करोड ५६ लाख रुपैयाँको कुल व्यापार हुँदा यो वर्षको साउनमा १८ अर्ब ५ करोड ६६ लाख रुपैयाँको मात्रै कुल व्यापार भएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।  

विराटनगर नाकाबाट साउन महिनामा एचआर सिट, पोलेथिनदाना, डिएपी मल, सुर्यमुखिको कच्चा तेल, भटमासको कच्चा तेल, धान, चामल मकै, पाम तेल, गहुँ, स्याउ, नास्पाति लगायतका वतुहरू आयात भएका छन्। यस्तै सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, प्रशोधित पाम तेल, जुटका झोला, बोरा, प्लाइउड, तामाका सिटलगायतका वस्तुहरू निर्यात भएका छन्। 

प्रकाशित: १८ भाद्र २०८० ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App