५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्। विभागको तथ्याङ्क अनुसार मनास्लु र रक्सा उराई हिमाल आरोहणका लागि गत शुक्रबारसम्म २० मुलुकका ६५ जनाले विभागबाट अनुमति लिएका छन्। जसमा ५७ पुरुष र ८ जना महिला छन्। कुल सात मध्ये ६ समूहले मनास्लु हिमाल र एक समूहले रक्सा उराई हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

मनास्लु हिमालमा डोरी टाङ्ने समूहले गत भदौ १३ गते विभागबाट अनुमति पाएपछि शरद ऋतुमा हिमाल आरोहीहरूका लागि अनुमति लिने बाटो खुलेको हो। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) आइतबार मनास्लुको बेस क्याम्प पुगिसकेका छन्।

मौसमले साथ दिए उनीहरूले एक महिनामै मनास्लुको चुचुरोसम्म डोरी टाङ्ने (रोप फिक्सिङ) काम गरिसक्ने इम्याजिन नेपालका प्रबन्धक दावा फुटी शेर्पाले बताइन्।

उनले भनिन्, ‘हाम्रा सात जना दक्ष शेर्पा कामदारहरू दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आज बेसक्याम्प पुगिसक्यो। थप ८ जना सहयोगीहरू पनि उनीहरूसँग छन्। बाटो खोल्ने काम सुरु भइसक्यो।’

विभागको तथ्याङ्क हालसम्म रसियाका नागरिकले सबैभन्दा बढी आरोहण अनुमति लिएका छन्। रसियाका १२ पुरुषले विभागबाट अनुमति लिएका छन्। यस्तै चीनबाट ६ पुरुष र २ महिला गरी ८ जनाले आरोहण अनुमति लिएका छन्। क्यानडा र जापानबाट ६/६ जनाले अरोहण अनुमति लिएका छन्।

यस्तै स्वीट्जरल्याण्डबाट ५ जना, अमेरिकाबाट ४ जना, भारत र जर्मनीबाट ३/३ जनालगायत २० देशका आरोहीले विभागबाट आरोहण अनुमति लिएका छन्।

कुल ६५ जनामा मनास्लु हिमाल आरोहणका लागि ५४ जना पुरूष र ६ महिला अरोहीले अनुमति लिएका छन्। यस्तै रक्सा हिमालको लागि तीन जना पुरूष र १ महिलाले आरोहण अनुमति लिएको विभागको तथ्याङ्कले देखाएको छ।

हिमाल आरोहण गर्ने पर्यटकको आगामनले गर्दा हिमाली पर्यटनका क्षेत्रमा रोजगारी सिर्जना गर्ने निर्देशक राकेश गुरूङले बताए। उनले भने, ‘हिमाल आरोहण गर्नु भनेको हिमालको चुचुरोमा पुग्नु मात्र होइन। यसले स्थानीय पूर्वाधारको विकासमा टेवा पुर्‍याउँछ भने प्रकृति र प्राकृतिक वातावरण संरक्षण एवं प्रवद्र्धन गर्न पनि सहयोग गर्छ। हिमाली पर्यटनले पर्यावरणीय पारिस्थितिकी प्रणालीलाई समेत संरक्षण गर्छ।’

उनले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताए। उनी भन्छन्, ‘बल्ल सिजन सुरु भयो अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन्।’

प्रकाशित: १८ भाद्र २०८० ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App