४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुलाकी राजमार्ग निर्माण सुस्त

१४ वर्षमा १०३९ किलोमिटर सडक कालोपत्रे

राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।

सरकारले आर्थिक वर्ष २०६६/६७ सालदेखि हुलाकी राजमार्ग निर्माण सुरु गरेको थियो तर डेढ दशकमा आयोजनाको लागत झण्डै ३७ प्रतिशत बढेको छ। सुरुवाती चरणमा यो आयोजनाको लागत ४७ अर्ब २४ करोड रूपैयाँ थियो। अहिले लागत बढेर ६५ अर्ब २० करोड रूपैयाँ पुगेको छ।

सडक विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा १०३९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। आयोजनाको कुल लम्बाइ १८५७ किलोमिटरमध्ये आयोजना निर्देशनालयबाट १४५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

बाँकी सडक प्रदेश र स्थानीय तहबाट निर्माण गर्ने लक्ष्य राखिएको छ। सडक विभागका अनुसार गत आवको असार मसान्तसम्मको अवधिमा समष्टिगत भौतिक र वित्तीय प्रगति दुवै ९१ प्रतिशत भएको छ।

आव २०६६/६७ देखि सुरु गरेर आव २०७९/८० सम्ममा अर्थात् १३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखेको थियो। यो आयोजना निर्माणको काम लक्ष्य अनुसार हुन सकेको छैन। तराईक्षेत्रमा रहेको हुलाकी मार्गलाई स्तरोन्नति गरी पूर्व-पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रूपमा विकास गर्ने उद्देश्यले १८ सय ५७ किलोमिटर सडक र २ सय १९ वटा पुल निर्माण गर्ने योजना अघि सारिएको थियो। अहिले केही पुलको संख्या थप भएर २५० वटा पुगेको छ। तीमध्ये हालसम्म १ सय ३२ वटा पुल निर्माण सम्पन्न भएको छ।

सडक विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा १०३९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। आयोजनाको कुल लम्बाइ १८५७ किलोमिटरमध्ये आयोजना निर्देशनालयबाट १४५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले गत आवमा हुलाकी राजमार्गले सन्तोषजनक ढंगले काम गरेको दाबी गरे। ‘हुलाकी राजमार्ग निर्देशनालयले गत आर्थिक वर्षमा २५० किलोमिटर सडक कालोपत्रे र १६ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो,’ उनले भने, ‘तर गत आवको सो अवधिमा भने १ सय ४८ किलोमिटर सडक कालोपत्रे र १६ वटै पुल निर्माण सम्पन्न भयो।’

निर्देशनालयका अनुसार हाल निर्माणाधीन अवस्थामा दुई सय किलोमिटर सडक रहेको छ। ३० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसैगरी १७६.५ किलोमिटर सडक र ७५ वटा पुलको ठेक्का व्यवस्थापन गरी निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।

सरकारले चालु आव २०८०/८१ मा तीन अर्ब ४८ करोड ९० लाख बजेट विनियोजन गरेको छ। चालु आवमा एक सय किलोमिटर सडक कालोपत्रे राख्ने लक्ष्य राखेको छ। त्यसैगरी २० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सडक विभागको वार्षिक प्रतिवेदनमा आव २०८०/८१ मा तीन अर्ब ४८ करोड रूपैयाँको बजेट अपुग हुने देखिएको छ। चालु ठेक्काहरूको स्वीकृत दायित्व नै करिब २८ अर्ब रहेको छ। ‘हुलाकी सडकको सडक सीमामा जग्गा अधिग्रहण र मुआब्जाको समस्याले पनि पर्याप्त मात्रामा काम हुन सकिरहेको छैन,’ सडक विभागको प्रतिवेदनमा भनिएको छ, ‘पर्सा र चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज पर्नेक्षेत्रमा रेखांकन गरेर सडक निर्माणको ठेक्का व्यवस्थापन हुन सकेको छैन।’

विभागका अनुसार कपिलवस्तु, दाङ तथा बाँके जिल्लामा ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको छ। ठूला पुलहरूमा निर्माण कार्य ज्यादै सुस्त भएकाले पनि ठेक्का व्यवस्थापनमा चुनौती देखिएको छ।

सरकारले चालु आव २०८०/८१ मा तीन अर्ब ४८ करोड ९० लाख बजेट विनियोजन गरेको छ। चालु आवमा एक सय किलोमिटर सडक कालोपत्रे राख्ने लक्ष्य राखेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनको लागि बारम्बार अर्थमन्त्रालयसँग समन्वय गर्दै आइरहेको छ। ‘चितवन राष्ट्रिय निकुञ्जमा रेखांकन स्वीकृतिका लागि विभागमा पेश भएको छ। मन्त्रीपरिषद्बाट स्वीकृत भएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण कार्य सुस्त रहेका ठेक्कामा निरन्तर समन्वय तथा सहजीकरण गरिएको साथै केही ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।’

यो आयोजनाले तराई-मधेशका २१ जिल्लालाई जोड्ने गर्दछ। सरकारले १३ वर्षअघि तराईका ग्रामीणभेगसम्म सडक सञ्जाल विस्तार गर्ने गरी तराई मधेशको लाइफलाइन सडकको रूपमा हुलाकी राजमार्गको अवधारणा ल्याएको थियो।

आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न नहुँदा त्यसले जनताको जनजीविकामा परिवर्तन ल्याउन सकेको छैन्। सरकारले तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापरीकरण, गरिबी निवारण, सडक सञ्जालको विकासबाट रोजगारीको अवसर सिर्जना भई जनताको जीवनस्तर वृद्धिमा सघाउ पु‍र्‍याउने लक्ष्यसहित निर्माण सुरु गरिएको आयोजना डेढ दशकदेखि अलपत्र पर्दै आइरहेको छ।

सुरुको चरणमा छिमेकी मुलुक भारतसँग सहकार्य गरेर तराई मधेशको बस्ती हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी हिँड्ने भनेर निर्माण गर्न खोजिएको थियो।

प्रकाशित: १४ भाद्र २०८० ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App