२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे

फाइल तस्बीर

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा ८ सय २० किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरेको छ। सडक विभागले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा २ सय २ किलोमिटर बढी सडक कालोपत्रेमा स्तरोन्नति गरेको हो। सडक विभागले पछिल्लो तीन वर्षमध्ये गत आवमा धेरै सडक कालोपत्रे गरेको हो। विभागले आव २०७७-७८ मा ६४० किलोमिटर सडक कालोपत्रे गरेको थियो। आव २०७८-७९मा ६ सय १८ किलोमिटर सडक कालोपत्रे  

गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत आर्थिक वर्षमा सडक विभागले विनियोजित बजेटको ६८.७० प्रतिशत भौतिक प्रगति हासिल गरेको बताए। ‘गत आवमा सडक विभागको लागि एक अर्ब २२ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो आवमा ८४ करोड ३२ लाख रूपैयाँ बजेट खर्च भएको छ,’ उनले भने, ‘गत आवमा सडक विभागको प्रगति न उत्साहजनक देखियो न निराशाजनक नै ।’  

मन्त्री ज्वालाले गत आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव, निर्वाचन, क्रसर व्यवसायीको आन्दोलन र बाढीपहिरोका बाबजुद समग्रमा भएको भौतिक प्रगतिलाई उत्साहजनक नै मान्नुपर्ने बताए। ‘गत आवमा हामीले अझै धेरै प्रगति हासिल गर्न सक्ने थियौं तर समयमै काम सम्पन्न गरेका आयोजनाको भुक्तानी गर्न सकेनौं। अर्काेतर्फ प्राकृतिक र प्राविधिक कारणले पनि उपलब्धि हासिल गर्नबाट चुक्यौं।’ मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा कम्तिमा पनि ९० प्रतिशत भौतिक प्रगति हासिल गर्ने गरी योजनाबद्ध ढंगले अघि बढ्ने बताए। ‘गत आवमा भएका गल्ती र कमजोरीलाई सच्याउँदै चालु आवमा अपेक्षित गतिमा पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘गत आर्थिक वर्षमा पुल निर्माणमा पनि उल्लेखनीय प्रगति हासिल गरेका छौं।’  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गत आर्थिक वर्षमा राष्ट्रिय पुँजीगत खर्चभन्दा सडक विभागको पुँजीगत खर्च धेरै भएको बताए। ‘गत आर्थिक वर्षमा समग्र मुलुकभरको पूर्वाधार क्षेत्रको पुँजीगत खर्चभन्दा सडक विभागको पुँजीगत खर्चको अवस्था धेरै राम्रो छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा पनि भदौदेखि नै काम सुरुआत गरेर पुँजीगत खर्च बढाउनेतर्फ ध्यान केन्द्रित गर्नेछौं।’  

सडक विभागले आर्थिक वर्ष २०७८-७९ मा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो तर सो आवमा लक्ष्यको ३४.३३ प्रतिशत अर्थात् ६ सय १८ किलोमिटर सडक मात्रै कालोपत्रे गरेको थियो। विभागले आव २०७७-७८ मा १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा ११ सय ९० किलोमिटर अर्थात् ८५ प्रतिशत सडक कालोपत्रे भएको थियो। आघिल्लो आर्थिक वर्षमा सडक विभागले पुँजीगततर्फ १ खर्ब २७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। मध्यावधि समीक्षाको क्रममा विभागको पुँजीगत बजेट एक खर्ब २९ अर्ब ८० करोड पु‍¥याइएको थियो।  

विभागले गत आवमा कुल विनियोजित पुँजीगत बजेटको ५५.१८ प्रतिशत अर्थात् ७१ अर्ब ६३ करोड रूपैयाँ खर्च गरेको थियो। सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले विभागले गत आवमा छोटो समयमै ७० प्रतिशतको हाराहारीमा भौतिक प्रगति गरेको बताए।  

विभागले आव २०७६-७७ मा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सात सय २९ किलोमिटर मात्रै गरेको छ। त्यसैगरी तीन सय ५७ किलोमिटर स्तरोन्नति (कालोपत्रे) सात सय ५७ किलोमिटर ग्राभेल र तीन सय ६५ किलोमिटर नयाँ ट्र्याक खोलेको जनाएको छ। विभागले आर्थिक वर्ष ०७५-७६ मा नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको थियो। त्योभन्दा अघिल्लो वर्ष ०७४-७५ मा नौ सय चार किलोमिटर कालोपत्रे भएको थियो।

प्रकाशित: ३२ श्रावण २०८० ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App