२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन राजमार्गकाे यात्रा सकसपूर्ण, हवाई यात्रा अनिश्चित

बिस्तारको काम सारै सुस्तः व्यावसायी

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको हिलाम्य सडकमा आइतबार गुडिरहेका सवारी । तस्बिरः नागरिक

निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, पृथ्वी राजमार्ग हुँदै हुने यो बेलाको यात्रा पनि अनिश्चित र सकसपूर्ण छ।  

वर्षाले कटान गर्दा केहीदिन अघि पृथ्वी राजमार्ग पनि अवरुद्ध भयो। त्यसले घन्टौसम्म यात्रु सडकमै  रोकिए। बिस्तारका क्रममा रहेकोले स्थलमार्गको यो बेलाको यात्रा पनि सहज छैन, पहिरोले कहाँ कतिबेला रोकिने भन्ने यकिन हुँदैन। हवाईयात्रा वर्षाले अनिश्चित र स्थलमार्गको यात्रा पनि सकसपूर्ण हुँदा यो बेला पोखरासम्मको आउजाउ निकै नै अप्ठेरो बनेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्डमा पर्ने जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। 

पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। अहिलेसम्म पूर्विखण्डको झन्डै ३२ र पश्चिम खण्डको १० प्रतिशत मात्र काम सकिएको छ।

राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सन् २०२४ मध्यसम्म राजमार्ग बिस्तारको काम लगभग सकिनुपर्ने हुन्छ। तर, तोकिएको समयभित्र सडक निर्माण सकिने अवस्था नभएको भन्दै पोखराका पर्यटन व्यावसायीले दवाव दिँदै ध्यानाकर्षण गराएका छन्। पोखरा–मुग्लिन स्थलयात्रा गर्दै पोखरेली व्यावसायीले सरोकारवालासँग अन्तरक्रिया र छलफल पनि गरेका छन्।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले दुई ठुला सहर काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चारलेनको बनाउने काम निकै महत्वपूर्ण र सराहनीय भएपनि जुन गति र स्तरमा यो सडक बिस्तार हुनुपर्ने हो त्यो हुन नसकेको बताए। यसले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासा उब्जाएको उनको भनाई छ। ‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक हो। तरपनि निर्माणको काममा आएको सुस्तताले थुप्रै सेवाग्राहीलाई सकस पारेको छ। नागरिकहरु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन,’ उनले भने।

राजमार्ग बिस्तारले गति नलिँदा छोटो दुरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्कलाग्दो र कष्टपूर्ण यात्रा गर्नुपर्ने, बिरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको उनले बताए। ‘ढिलो गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका बासिन्दाले धुलो, धुँवा र ध्वनी प्रदूषणको समस्या भोग्नुपरेको छ। यसले स्थानीयको स्वास्थ्य जोखिमको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको छ।’  

काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले आँबुखैरेनी–पोखराको दूरी छिचोल्न सिंगो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको उनले बताए। ‘काठमाडौं–पोखरा ६ घण्टा लामो बसयात्रा अहिले सडककै कारण लम्बिएर १२ घण्टासम्म लाग्ने गरेको छ। यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने।  अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले बिक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु पर्दा खर्च बढेको पनि बताए। 

‘भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँच मार्गको यो अप्ठ्यारो साहै्र सकसपूर्ण बनेको छ,’ उनले भने, ‘खर्बौ रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि राजमार्ग बिस्तार सुखद् हुन सकेन। राजमार्गकै सकसका कारण पर्यटक पोखरा आउन चाहेनन्। बेलैमा राजमार्ग बिस्तार भएको भए पर्यटनका लागि सुखद हुने थियो।’ 

सडक विस्तार कार्य सुरु भएको लामोसमय गुज्रँदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निराशाजनक र दुखद पक्ष रहेको उनले बताए। अध्यक्ष श्रेष्ठले विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरुलाई समेत राजमार्ग बिस्तारमा गति दिनका लागि ध्यानाकर्षण गराइसकेको बताए।  

मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नतीको कामलाई तिव्रता दिँदै सडक बिस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके नागरिकलाई सहज हुने उनले बताए। ‘सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके नागकिरलाई सहज हुने थियो,’ उनले भने, ‘यो बेला हवाई सेवा पनि अवरुद्ध र स्थलमार्ग पनि झन्झटपूर्ण बनेको छ। यात्रा सहज होस भन्ने हाम्रो चाहना हो।’  

एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले राजमार्गको बिस्तारको काम धमाधम भइरहेको बताए। ‘अहिले राजमार्ग बिस्तारको काम भईरहेको छ। तनहुँ खण्डमा त झनै तिब्र रुपमा काम भएको छ,’ उनले भने, ‘पूर्वि खण्डको झन्डै ३२ प्रतिशत काम सकिएको छ,’ उनले भने। अहिलेकै अवस्थमा तोकिएको समयमा काम गर्न सकिने अवस्था नरहेको उनले बताए।

प्रकाशित: २८ श्रावण २०८० १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App