४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘पोस्टपार्टम’ बिरामीका लागि नयाँ औषधि

प्रशवपछि हुने अवशादका कारण धेरै महिलाहरूले आत्महत्या गरेको पाइएपछि अमेरिकाको सेज थेराप्युटिक कम्पनीले बायोजेन नामक औषधि कम्पनीसँगको सहकार्यमा औषधि निर्माण गरेको छ। सो औषधिलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले शुक्रबार स्वीकृति दिएको छ।

अबका केही वर्षमा प्रशवोत्तर अवशादको उपचारका लागि दिइने औषधि जुरजुभीको प्रयोग व्यापक मात्रामा बढ्ने बताइएको छ। औषधि कम्पनीले सन् २०३० सम्म अमेरिकामा २४ हजारभन्दा बढी महिलाको उपचार गरिने र पछि संसारभर सहज उपलब्ध गराइने लक्ष्य राखेको छ।

प्रशव सुख संसारकै सबैभन्दा खुसीको क्षणका रूपमा मानिन्छ तर अमेरिकामा प्रत्येक ८ जनामध्ये एकले भने यो सुख अनुभूत गर्दैनन्। संसारमा यो संख्या निकै ठूलो छ। सन्तान प्राप्तिपछि प्रायः सुत्केरीहरू अवशादको अवस्थामा पुग्छन्। यस्तो बेलामा उनीहरूले गलत निर्णयसमेत लिने गरेको देखिएको छ।

प्रशवोत्तर अवशादका लागि निर्माण गरिएको जुरजुभीलाई दुई साता मात्र नियमित रूपमा लिए पुग्ने बताइएको छ। यसअघि औषधिसँगै थेरापीसमेत दिने गरिएको थियो। सो उपचार पद्धति निकै लामो र झन्झटिलो भएका कारण लोकप्रियता हासिल गर्न सकिरहेको थिएन। यसको साटो जुरजुभीले छोटो अवधिमै प्रभावकारी काम गर्ने भएकाले यो औषधि निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

प्रशवोत्तर अवशाद भएका महिलाहरूले सन्तान जन्मिए पनि खुसी महसुस गर्न सक्दैनन्। उनीहरूले आफ्ना सन्तानसँग अन्तरक्रिया गर्न रूचि राख्दैनन्। कहिलेकाहीँ त तिनलाई दुध पिलाउन पनि झन्झट मान्छन्।

जुरजुभी औषधिको प्रभावकारिता अध्ययनमा संलग्न न्युयोर्क सिटीस्थित जकर हिलसाइड हस्पिटलकी चिकित्सक डा. क्रिस्टिना डेलिगिनिडिज भन्छिन्, ’यसले अध्ययनमा संलग्न सो रोग लागेका महिलाका लागि निकै प्रभावकारी र फाइदा गरेको पाएकी छु। उनीहरू चाँडै नै अवशादबाट निस्केर सन्तानसँग अन्तरक्रिया गरेको पाएकी छु। त्यसैले यसले निकै फाइदा गर्नेमा आशावादी छु।’

अमेरिकामा प्रत्येक ८ जनामध्ये एक जनामा यस किसिमको समस्या देखिन्छ। केहीले भने यो संख्या बढी पनि हुने  आशंका गर्छन्।

उनीहरूको भनाइमा महिलाहरूले प्रायः आफ्ना समस्या खुलेर नराख्ने हुनाले र यस्ता समस्यालाई सामान्य मान्ने हुनाले पनि वास्तविक तथ्याङ्क बाहिर नआएको हुनसक्ने चिकित्सकहरू बताउँछन्।

अमेरिकामा चार गर्भसम्बन्धी मृत्युहरूमध्ये एउटा यही प्रशवोत्तर अवशादले भूमिका खेल्ने गरेको सेन्टर्स डिडिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले जनाएको छ। सिडिसीका अनुसार यो औषधिले व्यक्तिमा उत्पन्न हुने अनिद्राको समस्यालाई समाधान गर्ने, अवशाद र तनावजस्ता कुराका लागि मस्तिष्कमा तीव्र उतारचढावको क्रिया गराउने गाबालाई सुस्त पार्ने भूमिका निर्वाह गर्ने बताइन्छ।

औषधिलाई बजारमा ल्याउन स्वीकृति दिनुअघि पोस्टपार्टमका तीव्रदेखि सामान्य समस्या भोगिरहेका महिलाहरूलाई दैनिक रूपमा औषधिको प्रयोग गरी तिनको प्रगति हेरिएको थियो।

पोस्टपार्टम समस्यामा अति दुःखी हुने, सन्तानसँगको सामिप्य अभाव महसुस गर्ने, केहीले त नुहाउन छाड्ने, दाँत नमाझ्ने, बच्चा रोए पनि लामो समयसम्म तिनलाई नहेर्ने, तिनको डाइपर नै खोल्न पनि अल्छी मान्नेसम्मका समस्याहरू सुत्केरीले झेलिरहेका हुन्छन्।

यसअघि यस्तै समस्याका लागि सेज कम्पनीले सन् २०१९ मा जुलरेस्सो नामको औषधि बनाएको थियो र त्यसलाई प्रयोगमा समेत ल्याइएको थियो।

नयाँ औषधि जुरजुभीले दुई साता उपचार गर्दा ५५ प्रतिशतले अवशाद घटाएको अनुसन्धानले देखाएको थियो। जबकि जुलरेस्सोले सोही अवधिमा ४० प्रतिशतले मात्र घटाएको थियो। त्यसो त जुरजुभी औषधिको कुप्रभाव पनि देखिएको छ। यो औषधि प्रयोगकर्तामा बढ्ता निद्रा लाग्ने, रिँगटा चल्ने र बेहोससमेत बनाउने देखिएको छ।

पोस्टपार्टम समस्याका लागि यसअघि सस्तो दरका केही औषधिलाई लामो समयदेखि प्रयोग गरिँदै नआएको होइन। जोलोफ्ट र लेक्जाप्रोले काम गर्न महिनौं लगाउने र कतिपय अवस्थामा कामै नगर्ने पनि देखिएको थियो। जुरजुभीले भने केही दिनमै प्रभाव देखाएको अनुसन्धानमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रकाशित: २८ श्रावण २०८० ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App