१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विश्व बैंकको सहयोगमा लेखनाथ–गगनगौंडा र विरौटा–पुँडीटार सडक बन्ने

विश्व बैंकका प्रतिनिधिलाई स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य। तस्बिरः नागरिक

विश्व बैंकको सहयोगमा पोखरामा थप दुईवटा सडक बन्ने भएको छ। संघ सरकारको सहरी विकास तथा पूर्वाधार विकास मन्त्रालयको समन्वय तथा विश्व बैंकको सहयोगमा लेखनाथको तालचोक–बेगनास सडक निर्माण कार्य भइरहँदा थप दुईवटा सडक निर्माणको प्रक्रिया शुरु भएको हो।

विश्व बैंकले लेखनाथ चोकदेखि डाँडाकोनाक, सिसुवा, खुदीखोला हुँदै गगनगौंडासम्म र विरौटाको तीनकुने चोकदेखि दोबिल्ला, भरतपोखरी हुँदै पुँडीटारसम्मको बाटो निर्माण गर्न लागेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

तालचोक–बेगनास सडक अनुमान गरिएभन्दा निकै कम मूल्यमा ठेक्का लागेपछि विश्व बैंकले थप दुई सडकमा लगानी गर्न ईच्छा देखाएको थियो। यसअघि नै पोखरामा सडक पूर्वाधार निर्माणका लागि विश्व बैंकले ३ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। उक्त रकमबाट तालचोक–बेगनास सडक ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँमा ठेक्का लागेर निर्माण कार्य भईरहेको छ। बाँकी रकमबाट थप सडक बनाउन विश्व बैंकले प्रस्ताव गरेपछि पोखरा महानगरले लेखनाथचोक–गगनगौंडा र विरौटा–पुँडीटारको बाटो छनौट गरेको पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए। महानगरले छनौट गरेको सडकलाई विश्व बैंकले स्वीकृत गरिसकेको उनको दावि छ।

महानगरले छनौट गरेको थप दुई वटा बाटोपनि तालचोक–बेगनासकै मापदण्डमा बन्नेछ। हाल बनिरहेको तालचोक–बेगनासको बाटो हरियालीसहित फुटपाथ, नाली, साईकल ट्रयाक र डिभाईडरसमेत ४ लेनको बनाईने छ। सम्झौतामा यस सडकको बीच भागमा डेढ मिटरको डिभाइडर, दुबै छेउमा साढे÷साढे दुई मिटर चौडाईको पार्किङ, दुबैतर्फ एक मिटर चौडाईको हरियाली क्षेत्र, दुबैतिर नालीमाथि दुई मिटरको फुटपाथ र सडकमा चार सेन्टिमिटर बाक्लो अस्फाल्ट पीच हुने उल्लेख छ।

‘अब बन्ने दुबै सडकपनि यहि मापदण्ड अनुसार बन्नेछ,’ मेयर आचार्यले भने। उनका अनुसार लेखनाथचोक–गगनगौंडाको बाटो करिब १ अर्बको लागतमा बन्नेछ भने विरौटा–पुँडीटारको बाटो डेढ अर्बको लागतमा बन्नेछ।बाटो निर्माणका लागि लेखनाथको तालचोक–बेगनासको बाटो निर्माण गरिरहेको स्वच्छन्द–सपना–वल्र्डवाईड जेबीलाई नै कन्सल्टेन्टका रुपमा नियुक्त गरिएको जनाइएको छ। यी दुबै बाटो साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरि समयअवधी तोकिएको मेयर आचार्यले जानकारी दिए।

पोखरा महानगरपालिकाका सिनियर ईञ्जिनियर रामचन्द्र घिमिरेले सडक निर्माणको प्रक्रिया शुरु भएको बताए। उनका अनुसार विरौटा–पुँडीटार सडक खण्डको सर्भे गर्ने काम सकिएको छ भने लेखनाथचोक–गगनगौंडाको बाटोको सर्भे दुई–तीन दिनमा शुरु हुनेछ। ‘विरौटा–पुँडीटार सडक खण्डको सर्भे सकियो अब डिजाईन मात्र बाँकी छ। लेखनाथचोक–गगनगौंडा सडक खण्डकोचाहिं दुई÷तीन दिनमै सर्भे शुरु हुन्छ,’ उनले भने।

दुबै सडकको प्रक्रिया बिना अवरोध अगाडि बढे अबको २÷३ महिनामा टेण्डर आह्वान हुनेछ। टेण्डर आह्वानको अवधि करीब ४ महिनाको हुने र कम्पनी छनौट गरेपछि ठेक्का सम्झौता गरेर काम शुरु गर्दा ७÷८ महिना लाग्नसक्ने घिमिरेले बताए। ‘सडक निर्माणको प्रक्रिया त शुरु भईसक्यो तर निर्माण कार्यको थालनी नै हुनचाहिँ केहि समय लाग्ला,’ उनले भने। उनले सडक निर्माणका सरोकारवाला पोखरा महानगरपालिका, सहरी विकास मन्त्रालय र विश्व बैंक अर्थात तीनवटै पक्ष सकारात्मक रहेकाले काममा अवरोध नआउने दाबी गरे।

प्रकाशित: १८ श्रावण २०८० ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App